वैजयन्ती : फहराउन बाँकी विजयध्वज

–ध्रुवसत्य परियार

एक ‘राजकुमारी’ भव्य र ऐयासपूर्ण जीवन बाँचेकी छे । उसका इच्छा–चाहना, रुचि–सोख र आवश्यकताको पूर्ति गर्न परिवारका सदस्य उसको अगलबगलमा बसेका छन् । उसको कुनै पनि इच्छा र सोबमोजिमको आदेश भुइँमा खस्न पाउँदैन, सबै पूरा हुन्छन् । उसलाई माया र सम्मानको कुनै कमी हुँदैन ।

यो दृश्य हो– काठमाडौं, बत्तीसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ‘वैजयन्ती’को । नाटकको कथावस्तु अनुसार, फरक क्षमता भएकी एक युवतीको तत्कालीन जीवन कष्टदायी छ । ऊ राम्रोसँग बोल्न र हिँडडुल गर्न सक्दिन । अपांगता भएका कारण बाबुले नै उसलाई आफ्नी छोरी भन्न लाज मान्छन् । तर, ऊसँग सबैका जस्तै चाहना छन्– सबैको माया र सम्मान पाइरहूँ, सबैका जस्तै सपना छन्– यो जीवन आत्मनिर्भर भएर व्यतीत गरूँ । त्यसैले उसले सपना देख्छे, आफू निको भएको र एउटा सानदार जीवन बाँचेको ।

सौभाग्य सिंहको कथा र आशान्त शर्माको परिकल्पना÷निर्देशन रहेको ‘वैजयन्ती’ले फरक क्षमता भएका व्यक्तिको मुद्दालाई गम्भीरताका साथ उठाएको छ । कथा, संवाद, प्रस्तुति, अभिनय धेरै कोणबाट बुलन्द बनेको यस नाटकको सबैभन्दा सफल पक्ष हो– चरित्र निर्माण । यस नाटकमा प्रत्येक पात्र स्थापित छन् र प्रधान पात्र मैना (फरक क्षमता भएकी युवती)को मनोवैज्ञानिक संघर्षलाई सफलतापूर्वक प्रस्तुत गरिएको छ ।
यो प्रोब्लम–प्ले अर्थात् समस्या–नाटक हो । यसले समाज र व्यक्तिमा भएका समस्याहरूलाई उजागर गर्छ र समाधान खोज्न पनि सक्छ । यद्यपि, समस्या–नाटकको समस्या भनेकै समाधान नहुनु हो भनिन्छ, यो पूर्णतः सही होइन ।

भावुकता, रोमान्स, राष्ट्रियता, ऐतिहासिक, पौराणिक मिथकमाथिको आत्मरतिमा कला–साहित्य रुमल्लिइरहेका बेला अर्थात् १९औँ शताब्दीतिर विश्वमा सामाजिक बहस पनि सुरु हुन्छ र व्यक्ति र समाजमा समस्या उजागर गरिन्छ । यद्यपि, नाटकको कथनोपकथनमा व्यक्तिगत वा सामाजिक समस्या र समाधान धेरै पहिलेदेखि नै पाइन्छ ।

आजको युग विशेषतः बौद्धिक चिन्तन, मनोवैज्ञानिक संघर्ष, यिनीहरूको व्याख्या र विश्लेषणको हो । पछिल्लो समय कला–साहित्यमा समस्या र समाधान, मनोवैज्ञानिक संघर्ष जस्ता विषयवस्तु आउनुपर्छ भन्ने तीव्र मान्यता देखिन्छ ।

हामीकहाँ पनि सुरुवाती चरणदेखि एक किसिमले भावुकता, रोमान्स, शक्तिको भक्तिगाथामा अल्झेको कला–साहित्य अहिले समस्या र समाधानतर्फ पनि उन्मुख छ । नाटक वैजयन्ती यसैको प्रतिफल हो ।

बोल्न र हिँडडुल गर्न नसक्ने मैनामा फिजियोथेरापीपछि आएको क्रमिक सुधारलाई मनोवैज्ञानिक, आंगिक, वाचिक र सात्विक रूपमा प्रस्तुत गर्न साधारण अभिनयले भ्याउँदैन, मैनाको भूमिका निर्वाह गरेकी सौभाग्य सिंहले असाधारण अभिनय गरेर पूर्णता दिएकी छन् ।

कथावस्तु अनुसार, मैनाका बुबा जनप्रतिनिधि हुन् । तर, उनी सामाजिक समस्या, मानवीय संवेदना, घर–परिवार, श्रीमती र सहअस्तित्वप्रति संवेदनशील छैनन् । मैनाकी आमाले दुःखसुख गरी घरमै डाक्टर बोलाएर छोरीको उपचार गर्छिन् । यसबीचमा मैनाले प्रेमको भ्रम, घरायसी दुव्र्यवहार, यौनहिंसाजस्ता घटनाहरूको सामना गर्नुपर्छ । नाटकले यी सबै मुद्दालाई मिहिन रूपमा उठाएको छ । यतिसम्म कि नाटकले हिजोआज सतहमा देखिएको सम्बन्ध–विच्छेदको समस्यालाई पनि केलाएको छ र नयाँ समाधानतर्फ संकेत गरेको छ ।

अपांगता हुनु एउटा दुर्घटना हो, यो जोकोहीलाई पर्न सक्छ । नाटकमा मैनाका बाबु अन्ततः सामान्य दुर्घटनाका कारण छोरीले चढ्ने ह्विलचेयरमा पुग्छन् र उनलाई मैनाले नै हेरचाह गर्नुपर्छ ।

यो नाटक हेरेपछि व्यक्तिमा अलिकति मानवीय संवेदना पलाउन सक्छ, सहअस्तित्वलाई स्विकार्नतिर सोच्न सक्छ, आफ्ना व्यक्तिगत समस्यालाई सुधार्ने प्रण गर्न सक्छ, सामाजिक न्याय र सकारात्मक परिवर्तनमाथि विश्वास गर्न सक्छ ।

यति हुँदाहुँदै सामाजिक मुद्दाका हिसाबले नाटक अलिकति चुकेको छ । एउटा जनप्रतिनिधिको घरमा निश्चय नै केही आधार वा सुविधा हुन्छ र मैनाकी आमा छोरीको उपचार गर्न सफल हुन्छिन् । जब यो समस्या साधारण वा गरिबीको रेखामुनिका नागरिकमा आउँछ, तब राज्य–व्यवस्थामै प्रश्न उठ्छ । अल्पसंख्यकहरू र फरक क्षमता भएकाहरूलाई हेर्ने दृष्टिकोण र योजना राज्यसँग हुनुपर्छ । उनीहरूको उपचार, हेरचाह र व्यक्तित्व विकासका राज्यले विशेष योजना ल्याउनुपर्छ, तर नाटकले यसरी बोल्दैन । कथोपकथनमा यी कुरा समेटिएको भए आफैँमा सुन नाटकमाथि सुगन्ध हुने थियो ।

कथावस्तु, मञ्च र अभिनय नाटकका मूल तत्व हुन् । हेर्दै जाँदा नाटक बुझिए पनि कथानकहरू स्पष्टसँग छुट्टिँदैनन्, यसमा निर्देशक आशान्त अलिकति चुकेको महसुस हुन्छ । मञ्च र साजसज्जा साधारण खालको तर कलात्मक छ । नाटकमा चित्रकलादेखि नृत्युको तालसम्म समेटिएको छ । यद्यपि, पात्र जति सशक्त ढंगले प्रस्तुत भएका छन्, त्यही ढंगले साजसज्जा वा परिवेश ल्याउन सकिने अपेक्षा गर्न भने सकिन्छ ।
पात्रमा आउने उतारचढाव, सशक्त संवादका कारण अभिनयतर्फ खोट लगाउने ठाउँ देखिँदैन । मैनाकी आमाको भूमिकामा मञ्जु श्रेष्ठ, बहिनी ताराको भूमिकामा चाँदनी शाही, बाबुको भूमिकामा विजय नेपाल, फिजियोथेरापिस्टको भूमिकामा सुदीपजंग कार्की, मामाको भूमिकामा हेमन तण्डुकार तथा साथीको भूमिकामा सञ्जु कार्कीले पात्रका रूपमा आफूलाई स्थापित गरेका छन् ।

वैजयन्ती फरक क्षमता भएका व्यक्तिहरूको विजयध्वज बोकेको नाटक हो । हाम्रो संविधानको सामाजिक न्यायको हकमा भनिएको छ, ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।’

संविधान बोले पनि राज्यले व्यवहारमा यसलाई उतारिसकेको छैन, अर्थात् अपांगता भएकाहरूको विजयध्वज फहराइसकेको छैन । यो हकलाई व्यवहारमा लागू गर्न ‘वैजयन्ती’ नाटकको महत्व छ । यो नाटक धेरैतिर देखाइनुपर्छ र हेरिनुपर्छ ।