एक वर्षमै साढे ३४ अर्बको सुन आयात

काठमाडौं,

मुलुकको व्यापारघाटा धान्नै नसक्ने गरी बढेका बेला सुन मात्रै साढे ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्रीहरु पनि व्यापारघाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् ।

भन्सार विभागका अनुसार आव ०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ । विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर परिरहेकाले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापारघाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । ‘सुनको भन्सार महसुल बढाउँदा आयात नियन्त्रण हुन्छ,’ खनालले भने, ‘विलासी वस्तु भएकाले कर बढाएर राजस्व वृद्धि र आयात घटाउन सकिन्छ ।’ सुन आयात गर्दा डलर तिर्नुपर्ने भएकाले यसको असर मुलुकको भुक्तानी सन्तुलनमा पनि परेको छ ।

विभागको तथ्यांक अनुसार गतवर्ष व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यो मुलुकको कुल बजेट भन्दा पनि धेरै हो । गत आर्थिक वर्ष मुलुकको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो। आव ०७४/७५ मा ३१ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ र आव ०७३/७४मा २३ अर्ब २३ करोड १६ लाख रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ । नेपालमा सुनको आयात बर्सेनि बढ्दै गएको छ ।

गत वर्ष सुन आयात बढेको भए पनि केही महिनादेखि सुनको भाउ निरन्तर बढेपछि कारोबार भने ठप्पजस्तै भएको छ।  बजारमा सुन बिक्री नभएपछि वाणिज्य बैंकमा करिब साढे चार अर्ब रुपैयाँको सुन थन्किएको छ।  दैनिक २० किलो सुन बिक्री गर्दै आएका बैंकबाट असार यता दैनिक एक किलो सुन पनि बिक्री भएको छैन।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार अहिले बैंकमा ६ सय ४३ किलो सुन स्टक छ।  जेठ १५ गते बजेट भाषणमा भन्सार दर बढाएपछि घटेको सुन कारोबार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर भाउ बढेपछि ठप्प भएको हो।

नागरिकबाट