काँग्रेसले ३ वटा प्रदेशका नेताहरुलाई प्रशिक्षण दिने
file Photo

काठमाडौं,

नेपाली कांग्रेसले साउनको अन्तिम साताबाट पार्टीका नेताहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कांग्रेसले पहिलो चरणमा तीनवटा प्रदेशमा प्रशिक्षण दिन लागेको हो ।

कांग्रेसले पहिलो चरणमा गण्डकी, कर्णाली र प्रदेश ५ मा प्रशिक्षण दिने जनाएको छ । साउन ३१ र ३२ गते गण्डकी प्रदेशको प्रशिक्षण कास्कीको पोखरामा, भदौ २ र ३ गते प्रदेश ५ को भैरहवामा र भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण दिने जनाएको छ ।

पार्टीको सांगठनिक संरचना, विधान र त्यसका विशेषता, राजनीतिक, आर्थिक दृष्टिकोणका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको कामका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी हुनेछन् ।