संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो -बाबुराम भट्टराई

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो -बाबुराम भट्टराई


नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । 

आईतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए । उनले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि  उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए । 

उनले नेपाल जस्तो  विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताए । संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको उनले स्वीकारेका छन् ।  

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर पनि गरे । उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे । 

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए । उनले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे । आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने शुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको उनको भनाई छ । 

Logo