प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

बुधबार मध्याहन्न नेपाल आइपुगेका जयशंकरले दिउसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।  भेटवार्तामा समसामयिक विषयमा कुराकानी हुनुका साथै आपसी सहयोगका बारेमा कुराकानी भएको बुझिएको छ।

विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् । बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकर पहिलो पटक नेपाल आएका हुन् ।