हिन्दू धर्ममाथि लगाइने आक्षेप र त्यसको यथार्थ

विश्वकै प्राचीन धर्म हो हिन्दू । केवल ५ हजार वर्षअघिसम्म पनि अन्य कुनै धर्मको अस्तित्व थिएन, त्यतिखेर स्वभाविक रूपमै हिन्दूरूको मनमा कुनै नयाँ धर्मको विकास हुन्छ र हामीलाई नास गर्न उद्यत हुन्छ भन्ने कुरा थिएन । अरू त अरू २ हजार वर्षअघि ईसाई धर्मको उत्पत्ति नहुँदासम्म पनि धर्मका नाममा हुने युद्ध तथा धर्म परिवर्तनजस्ता कुनै कुरा थिएनन् ।

हिजोआज धर्मको स्वरूप एवं बुझाइमा व्यापक परिवर्तन देखा परेको छ । कतिपय विदेशी लेखकले हिन्दू नामको कुनै धर्म नभएको समेत बताएका छन् । अनि नेपाली तथा भारतीयहरू पनि पश्चिमा लेखकहरूकै कुरामाथि विश्वास गरेर आफ्नो मूल पहिचान के हो भन्ने सवालमा अलमलिएका पाइन्छन् । फेरि देश तथा विदेशका अधिकांश लेखक थोरै पढ्छन् अनि धेरै लेख्छन् तसर्थ उनीहरूको लेखाइमा तथ्यभन्दा बढी कल्पना पाइन्छ ।

अर्को कुरा उनीहरूको लेखन पनि कुनै उद्देश्यप्रेरित हुने गर्छ । आफ्नो अन्नदाता तथा समुदायको स्वार्थप्रेरित त्यस्ता लेखहरूमा तथ्यहरूलाई कुतर्कका आधारमा बंग्याइनु पनि नौलो कुरा होइन ।

हिन्दूहरूलाई नै आर्य, वैदिक एवं सनातन धर्मावलम्बी भनिएको छ जसरी अन्य धर्मका मानिसहरूलाई पनि विभिन्न नाम दिइन्छ । दुष्प्रचारकै परिणामस्वरूप कतिपयले आफूलाई हिन्दू नभनेर आर्य समाजी, सनातनी, सन्त मतावलम्बी आदिका रूपमा चिनाउने गरेका छन् ।

कसरी बनेको हो हिन्दू ?

भनिन्छ सिन्धुबाट हिन्दू बनेकाे हाे । याे कसरी बन्यो ? पहिले भारतमा र अहिले पाकिस्तानमा पर्ने प्रसिद्ध नदी हो सिन्धु । यो नदीलाई हिन्दू धर्मका सात पवित्र नदीमध्ये एक मानिन्छ । ऋग्वेदमा सप्तसिन्धुको उल्लेख पाइन्छ । सप्तसिन्धुलाई आर्यहरूको भूमि भनिएको छ ।

भाषाविद्हरूका अनुसार संस्कृतको स् ध्वनि इरानी भाषाहरूमा ह् ध्वनिमा बदलिन्छ, यसकारण सप्त सिन्धु अवेस्तन भाषा -फारसीहरूको धर्मभाषा) मा पुग्दा हप्त हिन्दू बन्नपुग्यो । यसपछि वर्तमान इरानी तत्कालीन फारसीहरूले सिन्धु नदीभन्दा पूर्वको भूभागमा बस्नेहरूलाई हिन्दू भन्न थाले । इरानको पतनपछि जब अरबबाट मुसलमान आक्रमणकारीहरू भारत आए, उनीहरूले पनि यहाँका मूल निवासी स्थानीय धर्मावलम्बीहरूलाई हिन्दू भने । यसरी हिन्दूहरूले हिन्दू शब्द पाएका हुन् ।

के यो कुरा ठीक हो ? हिन्दू नाम दिने इरानी र अरबीहरू हुन् ?

फारसी धर्मको स्थापना आर्यहरूकै एक शाखाले ईसापूर्व ७०० मा गरेका थिए । पछि यसलाई धर्मको संगठित रूप दिन काम गरे जरथुस्त्रले । यो धर्मका संस्थापक अत्रि कुलका आर्यहरू नै थिए । फारसीहरूले स् को उच्चारण गर्न नजानेर ह् भन्थे भने त सिन्धु नदीलाई पनि हिन्दू भन्ने थिए, वर्तमान पाकिस्तानको सिन्ध प्रान्तलाई हिन्द र सिन्ध प्रान्तवासीहरूलाई पनि हिन्दू भन्ने थिए ।

अर्को कुरा, यो तर्कअनुसार त संस्कृतलाई पनि उनीहरू हंकृत भन्ने थिए । तर कुरा के हो भने हिन्दू शब्द फारसीहरूको पुस्तकभन्दा पहिलेका पुस्तकहरूमा पनि भेटिएको छ । जसका उदाहरण मान्न सकिन्छ ‘बृहस्पति आगम’ लाई । यो ग्रन्थमा हिन्दू शब्दको उल्लेख छ ।

बृहस्पति आगमजस्ता धेरै आगम ग्रन्थहरू इरानी एवं अरबी सभ्यताभन्दा पहिल्यै लेखिसकिएका थिए भन्ने मानिन्छ । तसर्थ ती पुस्तकहरूमा हिन्दुस्थानको उल्लेख भेटिनुले के कुरा स्पष्ट हुन्छ भने हिन्दू नाम प्राचीन ऋषिहरूद्वारा नै दिइएको नाम हो न कि इरानी तथा अरबीहरूद्वारा । बरु पछि यो नाम इरानी एवं अरबीहरू प्रयोग गरेका चाहिँ हुन् ।

एक श्लोकमा भनिएको छ-

ॐकार मूलमंत्राढ्यः पुनर्जन्म दृढाशयः
गोभक्तो भारतगुरुः हिन्दुर्हिंसनदूषक : ।
हिंसया दूयते चित्तं तेन हिन्दुरितीरितः ।

अर्थात् जसको मूल मन्त्र ॐकार हो, जसमा पुनर्जन्मप्रति दृढ आस्था छ, जसलाई गाईको भक्त भारतवासीले प्रवर्तन गरेका हुन् र जो हिंसाबाट दूषित भएको छैन अथवा हिंसाको निन्दा गर्छ त्यही हिन्दू हो ।

बृहस्पति आगमको अर्को श्लोक हेरौँ,

हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम् ।

तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।

अर्थात् हिमालयदेखि प्रारम्भ भएर इन्दु सरोवर (हिन्द महासागर) सम्म फैलिएको देवताद्वारा निर्मित देश नै हिन्दुस्थान भनेर चिनिन्छ ।

हिमालयबाट बनेको हो त हिन्दू ?

एक अर्को धारणाअनुसार हिमालयको पहिलो अक्षर हि र इन्दुको पछिल्लो अक्षर न्दु मिलेर हिन्दू बनाइएको हो र हिमालयदेखि महासागरसम्मको भूभाग हिन्दूस्थान हो ।

हिन्दू उतिबेला धर्मको सट्टा राष्ट्रियताका रूपमा प्रयोग हुन्थ्यो । उतिबेला भारतवर्षमा वैदिक तथा अन्य आदिवासी स्थानीय धर्म मान्नेहरू मात्र थिए, वर्तमानमा प्रचलित कुनै पनि धर्मको उदय भइसकेको थिएन । यसकारण हिन्दू शब्दले नै सम्पूर्ण भारतवर्षनिवासीलाई चिनाउँथ्यो । भारतवर्षमा हिन्दूहरू बस्ने भएकै कारण कालान्तरमा विदेशीहरूले यसलाई धर्मको सन्दर्भमा जोडेर प्रयोग गर्न सुरु गरे ।

इन्दुबाट बनेको हो त हिन्दू ?

चिनियाँ यात्री ह्वेन सांगको समयमा पनि हिन्दू शब्द प्रचलित थियो । के मान्न सकिन्छ भने हिन्दू शब्द चन्द्रमाको पर्यायवाची शब्द इन्दूबाट बनेको हो । चीनमा पनि इन्दुलाई इन्तु भनिन्छ । ज्योतिष शास्त्रले चन्द्रमालाई ठूलो महत्व दिएको छ । राशिको निर्धारण चन्द्रमाकै आधारमा हुन्छ । हाम्रा चाडपर्व तथा तिथि गणनाहरू पनि चन्द्रमासकै आधारमा हुन्छ । यसकारण चिनियाँहरू भारतवर्षमा बसोबास गर्नेहरूलाई इन्तु वा हिन्दू भन्न थाले । मुसलमान आक्रमणकारी आउनुभन्दा अघिदेखि नै हिन्दू शब्द प्रचलित भएकाले के कुरा स्पष्ट हुन्छ भने यो नाम फारसी वा अरबहरूले दिएका होइनन् ।

हिन्दू नाम हजारौँ वर्षदेखि चलिआएको छ, जसको प्रमाण वेदका साथै संस्कृत एवं लौकिक साहित्यमा पर्याप्त पाइन्छ । खासमा हिन्दू भन्ने नाम विदेशीले दिएका होइनन्, यो भारतवर्षकै उपलब्धि हो र यसको मूल वेदहरूमा प्रयुक्त सिन्धु शब्द हो ।

वेदपछिका उपनिषदहरूको समयमा प्राकृत, अपभ्रंश, संस्कृत एवं मध्यकालीन साहित्यहरूमा हिन्दू शब्दको व्यापक प्रयोग भएको पाइन्छ । थुप्रै विद्वानहरूका मतमा हिन्दू शब्द प्राचीनकालदेखि नै जनसामान्यको व्यावहारिक भाषामा प्रगोग हुँदै आएको शब्द हो ।

जब प्राकृत एवं अपभ्रंश शब्दहरूको प्रयोग गरेर साहित्य रचना हुन थाले, त्यति बेला सर्वत्र प्रचलित हिन्दू शब्दको प्रयोग संस्कृत ग्रन्थहरूमा पनि हुन थाल्यो । जातिका अर्थमा हिन्दू शब्दको सुस्पष्ट प्रयोग मेरु तन्त्र, शब्द कल्पद्रुम, बार्हस्पत्य, कालिका पुराण, कवि कोश, राम कोश, मेदिनी कोश, भविष्य पुराण, अग्नि पुराण, वायु पुराण आदि थुप्रै ग्रन्थमा भएको भेटिन्छ ।

यसको अर्थ के भने यी संस्कृत ग्रन्थको रचना हुनुभन्दा पहिलेदेखि नै जनस्तरमा हिन्दू शब्द प्रचलित थियो ।