कथा: उहाँ आउनुभो !
  • कृष्ण कुसुम-

म राधा उहाँकी जहान । अनि उहाँचाहिँ मेरो श्रीमान् । म १२ वर्षकी कलिली थिएँ उहाँसंग विवाह हुँदा । आजसम्म पनि सम्झन्छु विवाह गरेको ३–४ वर्षसम्म म उहाँलाई सान्दाइ भनेर बोलाउथेँ, सबैले सान्दाइ भनेको सुनेर ।

हो हजुर, धेरैपछि छोरो जन्मिएपछि मात्र मैले उहाँलाई अर्जुनका बा भनेर बोलाउन थालेको । अब त अर्जुन पनि १८–१९ वर्षको भइसक्यो । १२ कक्षामा पढ्छ ऊ अहिले ।

सामान्य परिवारका हामीले दुःखजिलो गरेर २ छाक त टारेकै थियौं तर सबैजना विदेसिने क्रम सुरु भएपछि उहाँ पनि बाहिर जान उक्सनुभो । मैले भनेँ, अर्जुनका बा ! २ छाक टरेकै छ । २ भाइ छोरा मात्र हुन्, त्यसमाथि जेठो छोरो ठूलै भइसक्यो । २,४ वर्षपछि त उसले पनि जागिर पाइहाल्छ । अब २,४ वर्ष त हो नि हाम्रो दुखका दिन । त्यसपछि त खुसीको जीवन बाँच्न पाइएला । अब यो उमेरमा आएर भो रहर नगर्नुस् विदेशको ।

उहाँले सम्झाउनुभो तिम्रो कुरा नि ठीकै हो राधा । तर अहिले हामीले आफ्नो आर्थिक स्थिति राम्रो बनाउन सके छोराहरूलाई पछि त्यति गाह्रो पर्दैनथ्यो । गाउँका सबै गइरहेकै छन् । यसो देशविदेश घुम्न पनि हुन्छ । गएको लगानी मात्र उठे पनि कम से कम अलिक बाठो त होइन्थ्यो कि ? पैसा कमाउन नसके पनि । कति कुवाको भ्यागुता भएर बसौँ यही पखेरामा ? उखानै छ नि, ‘बसे लेउ लाग्छ हिंडे छेउ लाग्छ’ भन्ने ।
ठीकै हो जस्तो लाग्यो मलाई पनि उहाँको कुरा । ३ वर्ष उहाँ बाहिर जाँदा छोराहरूले सुख पाउँछन् अनि उहाँको देशविदेश हेर्ने चाहना पूरा हुन्छ भने किन अवरोधक बनूँ भन्ने सोचें र जाने नै सल्लाह दिएँ । उहाँसँगै कतार जानेमा गाउँका २–३ जना अरू पनि गए । त्यसभन्दा पहिलेदेखि नै प्रायः सबै घरका कम्तीमा १ जना साउदी, कतार वा मलेसियातिर जाने आउने क्रम चलि नै रहेको थियो ।

उहाँ गएदेखि नै भोक न तिर्खाको जस्तो भा’थेँ म । कुन दिन हो कुन रात हो ? बरोबर थियो मेरा लागि । साहै्र पीर लाग्याथ्यो । भन्या काम पाइयो कि पाइएन ? कत्तिको दुख गर्नुपर्ने हो ? पराइको देश भाषा नबुझेर भोकै पर्ने पो हो कि ? यो उमेरमा खाडी भासिनु भो । धेरै रात यस्तै तर्कना मनमा खेलेर अनिँदोमै बितेका थिए मेरा रातहरू ।

माया भन्ने कुरा नि त्यस्तै भन्या, टाढा हुँदा झन् गाढा भइदिने । यहाँ सँगै हुँदा त त्यस्तो साह्रो केही लाग्दैनथ्यो तर जानु भाको १ महिना हुन नपाउँदै कति साह्रै न्यास्रिएछु म ? खालि सँगै घाँसपात गर्या, मेलापात गा’को सम्झना आउने । रातभरि निद्रा नपर्ने निदाइहाले पनि सपनाभरि पूरै उहाँलाई मात्र देख्ने । एकदिनको सपनाले त ५–६ दिनसम्मै केही गर्ने जाँगर नै चलेन हातखुट्टै लागेन मेरो ।

सपनामा देख्दा उहाँ एकदम दुब्लो न दुब्लो २,४ दिनदेखिकै भोकोजस्तो शिथिल देखिनुभाथ्यो । र भन्दै हुनुहुन्थ्यो ‘राधा तिमीले त विदेश नजानू भनेकी थियौ । त्यो बेला कुनै कुरा सुनिएन एकपटक भने पनि भुइँ छोडौं भन्ने भो । काम जाबो त गरिहालिन्छ नि, एउटा ज्यान जहाँ गएर जे गरेर नि पालिन्छ जस्तो लाग्थ्यो । तर के गर्नु साहै्र दुख पो पाएँ परदेशमा आएर ।’ यस्तो सपना देखेपछि म झल्याँस्स ब्युझेँ । उठ्दा त थरथर जीउ कामिरहेको रहेछ ।

साँच्चै यस्तै अवस्थामा हुनुहुन्छ कि के होला भनेर साह्रै रुन मन लाग्यो । नलागोस् पनि किन र ? उहाँ गएदेखि केही खबर आ’को हैन ।
अर्जुनका बा कतार गएको १ महिनापछि चिठी आइपुग्यो । त्यहाँ पुगेपछि यता भनेकै काम गर्न पाएको र ओभरटाइम बिदा आदि पनि रामै्र भएको जानाकारी सहित खुसी भएको व्यहोराको पत्र थियो ।

उहाँको चिठी पाएपछि मात्र बल्ल मन अलि ढुक्क भयो । देशको स्थिति सुन्दा र विदेशबाट आउनेहरूको ठाँटबाँट देख्दा त उहाँले जाने इच्छा राखेको पनि ठीकै लाग्न थालिसकेको थियो । उनीहरूले गरेका विदेशका कुराले त स्वर्गै पो हो कि क्या हो त्यो ठाउँ ? एकपटक त विदेश जानै पो पर्ने रहेछ जस्तो लाग्ने हामी पखेरामा बस्नेहरूलाई ।

समय बित्न पनि कतिबेर र……। उहाँ गएको २ वर्ष हुन आँटिसकेको थियो । तल्लाघरे कान्छा आए २ महिनाको छुट्टी लिएर । भन्थे– ‘सान्दाइ त साह्रै भाग्यमानी हुन् है भाउजू ! हामी भन्दा १ वर्ष पछाडि गएर पनि सबैभन्दा राम्रो तलब र सुविधा उहाँले नै पाउनु भा’छ । केहि पीर लिनु पर्दैन दाइको । बरु दाइ आएपछि खेत जोड्ने कि सदरमुकाममा घर बनाउने हो विचार गरिराख्नुस् । तल्लाघरे कान्छाका कुराले केही आश्वस्त भएँ, साँच्चै अब सुखका दिन आउन लागे भनेर ।

यो फोन भन्ने कुरा नि अनौठै रहेछ । कहाँ कहाँका मान्छेसँग तुरुन्तातुरुन्तै आमुन्ने सामुन्ने झैं बोलचाल गर्न सकिने । कस्तो अचम्म उहाँ कतारमा हामी नेपालको मोटर गाडीसम्म नजाने यस्तो अनकन्टार गाँउमा । तैपनि मोबाइल फोनमा बातचित गरिरहन्छौँ हामी अघिल्लो महिनादेखि । दिनहुँ फोनमा नबोली निद्रा पनि लाग्दैन । उहाँसँग सुखदुःखका बात मारेपछि मन हलुका हुन्छ ।

दिन कसलाई कतिखेर लाग्छ भन्ने पत्तै नहुँदो रहेछ । गाउँभरिका हट्टाकट्टा रमेशबाबु दुवै खुट्टाको घुँडाभन्दा तलको भाग काटिएर आए । कतार गएको ५ महिना पनि पुगेको थिएन रे, त्यहाँ काम गर्ने मेसिनमा च्यापिएर ठूलो घाउ भएको रे सुरुमा । साहुले बेलैमा राम्ररी उपचार गराइदिएको भए खुट्टा काट्नैपर्ने चाहिँ थिएन रे । तर उनी बेहोस भएका बेला घुँडाभन्दा तलको भाग काट्ने सल्लाह दिएर यो हाल भएछ ।

यो कुरा हामीलाई सुनाउँदै गर्दा ह्वाँ ह्वाँ नै गरी डाँको नै छोडे उनले । उनले डाँको छोडेपछि त्यहाँ जम्मा भएकाहरूको पनि आँसु थामिएन । त्यो दिन पनि मलाई रातभर निद्रा लागेन । भोलिपल्टै अर्जुनका बालाई फोन गरेर रोएँ, ‘अर्जुनका बा रमेशबाबुजस्तो भए के गर्ने ? भो छाड्दिनुस् त्यो धनको लोभ । चाहिएन त्यस्तो ज्यानै धरापमा राखेर आर्जेको सम्पत्ति ।’ उहाँले पनि थाहा पाउनु भा’थ्यो रमेशबाबुको हालत र घटनाको सम्पूर्ण विवरण । मेरो गुनासोपछि फोनमा धेरैबेर सम्झाउनुभो, ‘राधा, पीर नगर । सबैको एउटै गति त हुँदैन । रमेश भाइको दुर्भाग्य हो त्यो । उनलाई त्यसो भयो भन्दैमा मलाई पनि कहाँ त्यस्तै हुन्छ ? फेरि ५,६ महिना पछि त फर्कने समय भई नै हाल्छ ।’

जसोतसो मन बुझाएँ मैले उहाँले भनेपछि ।

१ महिनाअघि, ३ वर्षको बसाइ सकेर आउँदै छु भनेर खबर गर्नु भो अर्जुनका बाले । घरका लागि उताबाट ल्याउन मिल्ने सबै सरसामान किनिसकेँ भन्नुहुन्थ्यो । खबर पाएपछि भुइँमा खुट्टै थिएन मेरो, खुसीले गर्दा पुतली झैँ फुरफुर गर्ने भएकी थिएँ । उहाँ आउने दिन भन्दा २, ३ अघि नै काठमाडौँ गए दुवै छोराहरू । बुबा उताबाट आउने छोराहरू यताबाट काठमाडौँ जाने सल्लाह भा’थ्यो ।
काठमाडौँ पुगेको भोलिपल्टै खबर गरे छोराहरूले । बुबा भनेको दिन आउनुहुन्न भनेर ।

गाडी बनाउने कारखानामा काम गर्नुहुन्थ्यो, आउने भनेर टिकट काटेको दिन भन्दा २ दिनअघि काम गर्दागदैै अर्को गाडीले ठक्कर दिएछ र निधन भएछ ।

उहाँ भनेको दिनभन्दा १५ दिन ढिलो गरी आउनुभो बाकसमा प्याक भएर, घर नआई सीधै जानुभो पशुपतितर्फ !