के पर्यटनमन्त्री लक्ष्यमा पुग्लान् त ?
  • रमेश भट्टराई ‘सहृदयी’

के यसपटक लक्ष्यमा पुगिएला ?

भर्खरै वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको एकवर्षे कार्ययोजनामार्फत् पर्यटन विकास तथा भ्रमण वर्ष २०२० लाई सफलीभूत बनाउने खाका सार्वजनिक गरेका छन् । योजना सुन्दर छ तर सबैलाई कार्यसम्पादन र सफलतामा पुग्न सकिने या नसकिनेमा भने आशङ्कासमेत उब्जिएका छन् । विषय राज्यसत्तामा हुने नहुनेको भन्दा पनि राष्ट्रको सुन्दर इतिहासको थिति बसाउने–नबसाउनेसँग हुन्छ । अतः मन्त्री एक्लैको पहल पक्कै पूर्ण बन्न सक्दैन । साथ सबैको हुनुपर्छ । आपसमा अन्तर्विरोध र घम्साघम्सी गर्न थाल्ने हो भने यो हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो मात्र बन्छ । संघ, प्रदेश र स्थानीय तहले आ–आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गर्ने गरी जागरुकता देखाउनुपर्छ । चाहे बजेट व्यवस्थापन होस् या त अन्य प्राविधिक पक्षमा सक्रिय सहभागिता जनाउनुपर्छ । नत्र समय बितेपछि निधार हात राखेर झोक्राउनुपर्ने विवशता आउनसक्छ । यतिखेर हातेमालो गरेर सबै तह र तप्काले एउटै स्वर बोलौँ नत्र जब भयो राति अनि बूढी ताती हुनेछ । उखानकै भाषामा मर्ने बेलाको हरियो काँक्रोको के काम ?

नेपालले पहिलो पटक ‘नेपाल भ्रमण वर्ष १९९८’ भनेर पाँच लाख पर्यटक विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा ४ लाख, ६३ हजार, ६ सय ८४ जनालाई नेपालमा स्वागत गरेको थियो । त्यस्तै गरेर सन् १९९९ मा ४ लाख, ९१ हजार ५ सय ४ जना, ‘नेपाल पर्यटन वर्ष २०११’ मा ७ लाख ३६ हजार २ सय १५ जना, ‘नेपाल पर्यटन वर्ष, लुम्बिनी भ्रमण वर्ष २०१२’ मा ८ लाख ३० हजार ९२ जना, नेपाल पर्यटन वर्ष २०१५ मा ५ लाख ३८ हजार ९ यस ७० जना विदेशी पर्यटकलाई भित्र्याएको थियो । यो वर्षलाई नाकाबन्दी, भूकम्प, बाढी आदि प्रकोपको समस्याले झापड हान्यो । २०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसँग गाँसेर हेर्दा २०१८ सम्ममा ११ लाख ७७ हजार विदेशी पर्यटक नेपालमा भित्रिए । जुन लक्ष्यभन्दा धेरै कम हो ।

करिब चार महिनाको समयभित्र भ्रमण वर्ष २०२० लाई सफलीभूत गरेर देखाउने जिम्मेवारी मन्त्री भट्टराईको काँधमा छ । जस अनुसार अर्बौको राजश्व विकास तथा १० लाखलाई रोजगारी दिलाउने परिकल्पना छ । त्यसो त सन् २०१७ तिरै २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको देखिन्छ । फलतः आर्थिक समृद्धिका क्षेत्रमा यो भ्रमण वर्ष एउटा उदाहरणीय हुनका लागि नेपालले वातावरण र पर्यटन विकासका दुई पक्षमा सोच्नैपर्छ । कार्य अवधिमा भ्रष्टाचारको सिकार बन्ने या बनाउने दुवै नेपालका समस्यासँग सचेतनाले मूल भूमिका खेल्छ । यो भ्रमण वर्षको अभियानको सफलतासँगै नेपालका हजारौँ जनताले रोजगार पाउने आशा गर्न सकिन्छ । यही भ्रमण वर्षमा नै भारतबाट ५ करोड र चीनबाट २० करोड नागरिक नेपालमा पर्यटकीय लक्ष्यका साथ आउने प्रक्षेपण गरेको छ ।

नेपालमा राम्रो काम गर्नेको खाँचो छ । जनताले राजनीतिक वितृष्णाका कारण विभिन्न अवस्थामा विकल्पको परिकल्पना गर्नु सुशासन र समृद्धिको आभास हुन नसक्नु हो । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सह्राहनीय छ । यद्यपि प्रशासनिक व्यवस्थापन र कार्यसम्पादनका बीचमा चुनौती र अवसरको विरोधाभास स्पष्ट देखिन्छ । उक्त योजनामा कानुनी सुधार तथा निगमको विकास, भ्रमण वर्ष २०२० लाई विश्वभर सञ्चार गर्नेदेखि त्रिभुवन विमानस्थलको सुधार लगायतका योजनालाई प्रस्तुत गरिएको देखिन्छ ।

वास्तवमा सुविधा सम्पन्न होटेल, रिसोर्टदेखि अन्य प्राविधिक व्यवस्थापनमा मन्त्रीको एकल प्रयासले सफलता हात पर्न भने सम्भव छैन । फलतः राज्यले पाउनुपर्ने लाभ व्यक्ति वा निजी संस्थामा जाने सम्भाव्यता पनि रहन्छ । अतः सबै निकाय, संघ–संस्था लगायत सरोकार नागरिक समुदायमा अपनत्व भावको विकास भएमा यो भ्रमण वर्षले एक नवीन इतिहास कायम गर्न सक्ने आशा रहेको पनि देखिन्छ । यसबाट नेपालको गरिबी निवारणमा टेवा पुग्न सक्ने आशादेखि बेरोजगारी समस्यामा एउटा इट्टा थप्ला कि भन्ने अभिलासा राख्न सकिएला ।
विश्वभरि डिजिटल मार्केटिङदेखि प्रचाप्रसार तथा बुटिक विमानस्थल निर्माणार्थ खटेका भट्टराईले रोजगारीको सिर्जना, गरिबी निवारण तथा समावेशी विकासको जगमा आर्थिक विकासको चाखलाग्दो योजना तथा कार्यान्वयनका पक्षमा पहलकदमी गरिरहेको देखिन्छ । सालाखाला  हेर्दा नेपालमा वर्षेनी करिब ५ लाख पर्यटकहरू भ्रमण गर्नका लागि नेपाल आएको देखिन्छ । फलतः नेपालको अर्थतन्त्र विकासार्थ प्रदान गर्ने रोजगारीमध्ये करिब २० प्रतिशत सहयोग पुग्नुले पनि यो शुभकार्य केवल पर्यटन मन्त्रालयको मात्र जिम्मेवारी र दायित्व होइन । सबै आम जनता, सरकार या त सबैले समान स्तरमा रहेर जुट्नुपर्छ ।

चुनौती र सम्भाव्यताका चाङ

विमानस्थलभित्र चुनौती र समस्याका चाङ छन् यसर्थ जादुको छडीले जसरी सबै समस्यालाई हल गरिनेछ भन्नेमा भन्दा पनि सुधार हुनेछ भन्न सकिएला । लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषद्को नयाँ ऐनको प्रस्तावदेखि पर्वतीय पर्यटनसम्मका योजनालाई कानुनी तथा नीतिगत सुधारका योजनामा राखिएका विषय अवश्य पनि सह्राहनीय छन् । संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारीका विषय, नेपाल पर्यटन अध्ययन प्रतिष्ठान स्थापनाका नवीन योजनाले सोचमा निखार र पृथकता रहेको आँकलन गर्न सकिन्छ ।

अझ समय विभाजनसहितको एक वर्षे कार्यविभाजनलाई हेर्ने हो भने नागरिक उड्डयन विकास र पर्यटनको सुधार तथा समृद्धिका योजनालाई देश र समयानुकूल तय गरेको देखिन्छ । अतः यसलाई कार्यान्वयन र सफल बनाउने मात्र हो भने पनि नेपालमा पर्यटन विकासको क्षेत्रमा एक नवीन कोशेढुङ्गा बन्ने आशा गर्न सकिन्छ । १० ओटा स्रोत बजारको प्रावधानबाट विश्वव्यापी पर्यटन विकासको एउटा सुन्दर प्रयास हुने अपेक्षा गर्न सकिन्छ । नेपाललाई पर्यटन प्रवर्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकसित तुल्याउन मन्त्री भट्टराईले राखेका योजनामा कुनै अभाव छ भनिरहनु पर्ने त देखिँदैन तर व्यावहारिक कार्यान्वयनका तहमा समयको सही पालना र भनिए बमोजिम गुणस्तरीय व्यवस्थापन तथा सम्पादनका पाटामा ध्यान दिइने कुरामा सावधानी अपनाउनै पर्छ ।

नेपालमा अबको परिस्थितिमा अनगिन्ती सम्भाव्यता छन् भन्ने कुरामा लगभग सचेत नागरिक जानकार छन् । अझ विकासमा प्रभावकारी योजना बनाउने अभ्यासलाई कमी राखेको पनि देखिन्न तर कार्यान्वयनकै तहमा अल्झिने, जुध्ने, लड्नेभिड्ने गरेको विगतका इतिहासलाई चिर्नु चुनौतीको विषय हुन्छ । नागरिक उड्डयनका क्षेत्र विकासार्थ बनेका योजनाहरू, संस्कृति तथा पुरातत्व विकासका योजनालाई नियाल्दा विचारको गहिराइ खोतलेको अनुमान गर्न सकिन्छ । साथमा प्राविधिक व्यवस्थापन र प्रविधिकै आड र भरोसा गर्ने आजको युगको मागमा नेपालले उचित प्रयास गर्न सक्ने अवस्था जटिल हुनसक्ने देखिन्छ ।

नेपालको भौगोलिक, सामाजिक, सांस्कृति, प्राकृतिक, धार्मिक, ऐतिहासिक, धार्मिक लगायतका सम्पदाको विकासार्थ पर्यटन मन्त्रालय जुटिरहँदा वातावरणीय सजावट र सफासुग्घरमा लाग्नुपर्ने देखिन्छ । पाहुनाका अघि प्रेमपूर्वक मीठो बोल्नुपर्ने विषय पनि सामान्य होइन । नेपालीपनलाई बिर्सँदा हामीले अतिथि सत्कारका आधारलाई कुल्चिएका छौँ । मानिस त अब यान्त्रिकताबाट वाक्क भइसक्यो फेरि करुवा, लोटाको पानी, माटाको चुल्हो, त्यही परालको पिरा, भेडाको उनको राडी मन पराउँछ । अनि गाउँका बुलाकी, मुन्द्री, ढाकाको चोली अनि आफ्नै हाक्पारेमा लठ्ठिन्छ । देउडा र बालनमा झुम्छ, फुर्किन्छ भने आफ्नोपन पनि बच्ने पर्यटन व्यवसाय पनि चल्ने किन आजको युगको मागसँग सभ्यता नजोड्ने ? अतः अब सरकारी तथा गैरसरकारी निकायसँग हातेमालो गर्नुपर्छ ।

पृथक् तरिका र प्रावधानको खोजी गरेर नीति त बन्यो तर अब कार्यसम्पादनका क्षेत्रमा दक्ष र सच्चा जनशक्तिलाई खटाउनुपर्छ । साजसज्जाका काम गर्न ढिलो भयो । अस्तव्यस्तता र भद्रगोलपनाले सपनामा तुषारापात हुन्छ । तर, हटेर त होइन डटेर अघि बढ्नुपर्छ । तब मात्र यस भ्रमण वर्षले फड्को मार्ने अपेक्षा गर्न सकिएला । प्रशासनिक, प्राविधिक, वैज्ञानिक आधारदेखि आर्थिक विकासमा अनुसन्धानात्मक सोचको खाँचो छ । नत्र काम त होला तर गाँठो खुल्दैन । दुनियाँले गीत गाइरहनेछ । सोच सानो हो तर असर सदाकाल परिरहन्छ । यसर्थ सेवा सुविधाका ठूला र जटिल समस्यामा मात्रै भन्दा पनि सहज हल गर्न सकिने शौचालय, पार्किङ व्यवस्थापन, सहज र सभ्य वातावरण, सडक यातायात व्यवस्था र सुरक्षादेखि सम्भावित आधारलाई ध्यान दिइनु बढी वैज्ञानिक आधार बन्न सक्छ ।