समीक्षा: ‘पप्पी र पट्टु’ भित्रका कथा
  • कौशिला रिसाल-

राधा दुलाल कार्की (झापा) हाल काठमाडौँमा कर्मथलो भई साहित्य लेखनमा क्रियाशील छन् । उनी खास गरी कविता, कथा (बाल, लघु) मा कलम चलाउँदै आएकी सर्जक हुन् । उनको ‘संवाहक’ नामक लघुकथा संग्रह प्रथम प्रकाशित कृति हो । हाल मेरो हातमा उनको दोस्रो कृति बालकथासंग्रह ‘ पप्पी र पट्टु) मेरो हातमा परेको छ ।

सुन्दर आवरणमा सजिएको यस बालकथासंग्रहभित्र १३ वटा कथाहरू समेटिएका छन् । मकालु प्रकाशन गृहबाट प्रकाशनमा आएको यस पुस्तकभित्र क्रमशः विवेकको माया, रानी मौरीको जुक्ति, कमलको सपना, पछुतो, साहसी गायत्री, पप्पी र पट्टु, बुद्धिमति करुणा, रामेको सपना, सुरजको सावधानी, समझदारी, जीवा र बुनू, असल मान्छे र कोपिलाको प्रयास कथा रहेका छन् । संग्रहभित्रकै पप्पी र पट्टु शीर्षकको कथालाई नै पुस्तकको नाम दिइएको छ ।

आजकलका बालबालिकामा सामाजिक भावनाको खडेरी लागेको छ । नैतिकतामा चुक्दै गएका छन् । यसमा कथाकारले विविध विषयलाई आधार बनाएर कथाको रूप दिएकी छन् । मनोरञ्जन र सन्देश प्रवाह गर्ने हिसाबले संग्रहभित्रका सबै कथा समान छन् ।

‘विवेकको माया’ शीर्षकको पहिलो कथामा विवेक बिरामी भएर अस्पतालमा बसेको छ । आफ्नो वेडसँगै अर्की सानी नानु पनि बिरामी भएर भर्ना भएकी छ । उसको जीउभरि खटिरा आएको छ । नानुको आमाले पैसा नभएकाले मलम किन्न सकेकी छैनन् । उनीहरूले खाना पनि खाएका हुँदैनन् । यसको असर विवेकको वालमनोविज्ञानमा परेको छ । अस्पतालबाट निस्कने बेलामा ऊ रोएको छ ।

उसकी आमाले नानुलाई पैसा दिएपछि मात्र उनीहरू अस्पतालबाट फर्किएका छन् । यस कथाले बालबालिकामा पनि सहृदयी भावना हुन्छ, उनीहरू सहयोगी हुन्छन् भन्ने कुरा बुझाउन खोजिएको छ । दोस्रो कथा ‘रानी मौरीको जुक्ति’ मा सबै मिलेर काम गरियो भने समास्याको समाधान सजिलै गर्न सकिन्छ । नेतृत्व एउटाले लिए पनि सबैमा एकता हुनुपर्छ भन्ने सन्देश दिइएको छ ।

रानी मौरीलाई प्रमुख पात्र बनाई मानिसलेजस्तै संवाद गरेको देखाइएको छ । जसमा मानिसले मौरीको मह निकाल्दा उनीहरूलाई खानका लागि नछोड्ने तथा मह निकाल्दा मौरीलाई मारिदिने गरेका समस्याका बारेमा छलफल गरिएको छ । यस कथाले मह काढ्दा मौरीलाई हानी नहुने गरी काढ्नुपर्छ भन्ने कुरा सिकाउन खोजिएको छ । त्यस्तै ‘कमलको सपना’ कथामा दीपकले आफ्नो साथी कमललाई पढ्नका लागि पैसा तिरेर नाम लेखाइदिएको छ ।

उसले खुत्रुकेका जम्मा गरेको पैसाले कमलको भर्ना गरिदिएको हो । पैसा नभएकै कारण पढाइ छोड्नुपरेको कमल स्कुलमा सधैँ उत्तीर्ण हुने गर्दथ्यो । कमल पढेकै कारण दीपकको बालाई शहरमा छोराको घर चिनाउन सफल भएको छ । उसको चलाख्याइँबाट दीपकका माइलाबा खुसी भएर आफूसँगै पढाउन राख्दछन् ।

‘पछुतो’ शीर्षकको कथामा अरुलाई दःख दिनु राम्रो होइन भन्ने कुरा सिकाउन खोजिएको छ । केटाकेटीले गरेका नराम्रा कुरालाई अस्वीकार गर्ने गर्नुपर्छ भने राम्रा कामलाई प्रोत्साहन पनि गर्नुपर्छ । नराम्रो कार्यलाई अस्वीकार नगर्दा केटाकेटीहरू झनै नराम्रा कार्य गर्न लालायित हुने गर्दछन् । यसको उदाहरणका लागि मुखियाबाको छोरो शूरवीरलाई देखाइएको छ । ‘साहसी गायत्री’ शीर्षकको कथामा स्कुल पढ्ने गायत्रीले एक बालकलाई बिनाकारण कुटेको देखेर प्रतिवाद गरेकी छ । उसको प्रतिवादका कारण निर्दाेष बालकलाई कुट्ने पसलेले माफी मागेको छ । यस कथाले बालबालिका भनेर बिनाकारण कुट्ने, धम्क्याउने गर्न पाइँदैन भन्ने सन्देश प्रवाह गर्न खोजेको बुझिन्छ ।

‘पप्पी र पट्टु’ जुन यस पुस्तकको नाम पनि हो । यस कथामा मान्छेले आफ्नो रहरका लागि पशुपक्षीलाई पिँजडा र खोरमा थुनेर राख्दा पशुपक्षीको अधिकारको हनन भइरहेको हुन्छ भन्ने कुरा सिकाउन खोजिएको छ । बालबालिकाले सुगा र कुकुर पाल्ने भनेर ढिपी गर्छन् तर तिनका अधिकारका बारेमा जानकार हुँदैनन् भन्ने कुराको पुष्टिका लागि गोपालको उदाहरण प्रस्तुत गरिएको छ । उसले पालेका पप्पी र पट्टुको पनि परिवार छन् भन्ने थाहा भएपछि उसले पप्पी र पट्टु दुबैलाई छाडिदिन्छ ।

‘बुद्धिमती करुणा’ कथामा सिन्धुपाल्चोकको गाउँबाट बेचिएकी अर्पितालाई करुणाले आफ्नो घरमा बस्न र पढ्नका लागि सक्दो सहयोग गरेकी छ । अर्पितालाई दलालहरूले शहरमा बेच्न ल्याएका हुन्छन् तर ऊ भागेर करुणाको घरमा बास माग्न पुगेकी हुन्छे । करुणाले पुलिसलाई फोन गरेर दलालाई तुरुन्तै पक्राउँछे । करुणाले अर्पितालाई अरूको लहै लहैमा कहिल्यै लाग्न नहुने भनेर सम्झाएकी छ यही नै कथाको मुख्य उद्देश्य बुझ्न सकिन्छ । ‘रामेको सपना’ नामक कथामा घरेलु कामदारको रूपमा दश एघार वर्षको रामे समाजसेवी निर्मलाको घरमा काम गर्न बसेको हुन्छ । उसलाई ज्वरो आउँदा पनि निर्मलाले काम लगाउने तथा कुटपिट गरेकी हुन्छिन् । उसलाई कुटिसकेपछि भने अस्पताल लगिएको हुन्छ । यसबाट बालअधिकार नारामा मात्र सीमित भएको संकेत पाइन्छ ।

‘सुरजको सावधानी’ कथामा जथाभावी रूपमा डाक्टरको प्रेस्क्रीप्सनबिना औषधीको सेवन गर्न हुँदैन भन्ने उपदेश गरिएको छ । ‘जीवा र बुनू ’ कथामा बाआमासँगै घुम्न गएका जीवा र बुनूकै कथा समेटिएको छ । बुनूले बराह क्षेत्र घुम्न जाँदा हजुरबासँगै डुङ्गा चढेकी हुन्छे । डुङ्गा तर्दै गर्दा हजुरबाले उसलाई लौराले घोचेका हुन्छन् उसले यसको संकेत बुझेकी हुन्न । बहार मन्दिरमा बसेको रातमा आमाबाले उसलाई त्यति वास्ता नगरेकोमा पनि ऊ दुःखी भएकी छ । तर यसको रहस्य उसले आफू आमा भएपछि मात्र पाएकी छ । यस कथाबाट अभिभावकले बालमनोविज्ञानलाई बुझेर व्यवहार गर्नुपर्ने सन्देश दिइएको छ ।

‘असल मान्छे’ शीर्षकको कथामा सडकमा बसेर माग्ने बालबालिकको विषय आएको छ । सडक बालबालिकाको समस्या उजागर गरिएको छ । सडकमा मागेर बस्ने शान्ति भन्ने बालिकालाई समाजसेवी सुचित्राले छोरी बनाएर पाल्ने निधो गरेकी छन् । समाजमा सचित्राजस्तै असल स्वभावका मानिस हुने भए कुनै पनि बालबालिकाले सडकमा अलपत्र हुनुपर्दैनथ्यो भन्ने सन्देश यस कथाले दिएको छ । संग्रहभित्रको अन्तिम कथा ‘कोपिलाको प्रयास’ हो । शहरमा बाल श्रमिकको बृद्धि भइरहेको विषय यस कथामा आएको छ । बालबालिकालाई पढ्न पाउने अधिकारबाट बञ्चित गर्नुहुँदैन भन्ने कुराको जानकारी यस कथाबाट मिलेको छ ।

विषयवस्तुका दृष्टिले पुस्तकभित्रका कथाहरूमा विविधता छ । धेरै कथाले सहयोगी बन्नुपर्छ, अरुलाई मद्दत गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका छन् । बालअधिकारका सवालमा कुरा उठाएका छन् । कथा अनुसारको एउटा एउटा चित्रको संयोजन गरिएको छ । यस भित्रका कथा प्रायः ७-८ वर्षदेखि ११-१३ वर्ष उमेर समूहका बालबालिकाको लागि उपयुक्त छन् । अक्षरको साइज बालबालिकामैत्री छ ।

धेरै कुरामा कथाकारको ध्यान गएको छ तापनि किताबमा कुन उमेर समूहका बालबालिकाको लागि लेखिएको कथा हो भनेर उमेर समूह उल्लेख गरिएको पाइएन । त्यस्तै कुनै कथामा अक्षरको साइज साना गरिएको छ । त्यस्तै जीवा र बुनू शीर्षक कथामा सरलता र सरसता पाइँदैन । ‘रामेको सपना’ भन्दा रामको सपना शीर्षक राम्रो हुने थियो । कथामा देखिएका यस्ता सानातिना कुरालाई गम्भीर त्रुटी भन्न मिल्दैन ।

सङ्ग्रहभित्रका कथा बालबालिका र अभिभावक दुबैका लागि उत्तिकै उपयोगी र पठनीय छन् । राधा कार्कीका अन्य बाल साहित्यका कृति निरन्तर प्रकाशित हुँदै जाऊन् । शुभकामना ।