मंसिर ४ को निर्वाचनका सेलिब्रेटी उम्मेदवारहरु

मंसिर ४ को निर्वाचनका सेलिब्रेटी उम्मेदवारहरु


राजनीतिमा सेलिब्रेटी अनुहार देखिनु अब नौलो विषय रहेन । कलाकार हुन् वा अन्य क्षेत्र, चर्चित भएपछि सन्यास लिए झैं गरी राजनीतिमा होमिने चलन विश्वमा धेरै अघिदेखि कायम छ । भारतमा धेरै छ । चलचित्र, संगीतलगायतबाट भारतको संसदमा मात्रै हैन केन्द्रीय मन्त्रीसम्म बनेका उदाहरण भारतमा छन् । युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि हाँस्य कलाकारबाट राजनीतिमा आएका हुन् । नेपालमा पनि सेलिब्रेटीहरु राजनीतिमा आउने क्रम सुरु भएको छ ।

२०७४ सालको निर्वाचनबाट सुरु भएको यो क्रम मंसिर चारको निर्वाचनमा पनि देखिएको छ । यो पटक उम्मेदवारी दिने गत निर्वाचनको भन्दा बढी नै छन् । 

रेखा थापा 

नेपाली सिने क्षेत्रकी सदाबहार नायिका रेखा थापा विगत केही वर्षदेखि राजनीतिमा सक्रिय छन् । माओवादी पार्टीबाट अघिल्लो संघीय निर्वाचन मै चुनाव लड्ने चर्चा चले पनि अन्तिम समयमा रोकिएकी रेखा यो पटक भने उम्मेदवार छन् तर गणतन्त्र पक्षधर पार्टी माओवादीबाट हैन राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट । राप्रपाको केन्द्रीय सदस्य रहेकी रेखा गत मंसिरको महाधिवेशन महामन्त्री पदकी आकांक्षी थिइन् । उनी मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । 

कोमल वली 

नेपाली संगीत क्षेत्रमा बेग्लै छाप बनाएकी चर्चित लोकगायिका कोमल वलीको पहिचान पछिल्लो समय राजनीतिज्ञका रुपमा परिवर्तन भएको छ । यसअघि राष्ट्रिय सभामा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेकी उनलाई एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । राष्ट्रिय सभामा हुँदा आफ्नो र पार्टीको बलियो उपस्थिति देखाएकी वली दाङ क्षेत्र नं. ३ बाट चुनाव लड्दैछन् । 

रवि लामिछाने

'सिधा कुरा' टिभी कार्यक्रमबाट एकाएक टेलिभिजन कार्यक्रममा चर्चाको शिखरमा पुगेका रवि लामिछाने पनि यो निर्वाचनबाट राजनीतिमा होमिएका छन् । सिधा कुराबाट जनताको विषय उठाएका उनी युवाहरुमाझ निकै नै लोकप्रिय मानिन्छन् । सोही लोकप्रियतालाई आधार बनाएर राजनीतिमा आएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठन गरेका छन् । उक्त पार्टीको सभापति रहेका रवि यो निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् । 

युग पाठक 

साहित्यकार तथा लेखक युग पाठकले आसन्न संघीय चुनावमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन् । ओलीविरुद्ध पाठकले स्वतन्त्र उम्मेदवारी दिएका हुन । विगत केही वर्षदेखि विभिन्न लेख र अन्तरवार्तामा ओलीको चर्को आलोचना गर्दै आएका पाठक एक महिनाअघि देखिनै घरदैलोमा ब्यस्त छन् ।   

मनोज पण्डित 

फिल्म निर्देशक मनोज पण्डित पनि राजनीतिमा आएका छन् । लामो समय चलचित्रको पर्दामा कलाकारको नेतृत्व गरेका उनले यो निवाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिँदै राजनीतिक यात्राको सुरुवात गरेका हुन् । उनी काभ्रे २ बाट चुनाव लड्दैछन् । 

मधुसुदन पाठक 

हाँस्य टेलिसिरियल ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठकले काठमाडौं क्षेत्र नम्बर पाँचबाट आफ्नो उम्मेद्वारी दिएका छन । स्वतन्त्रबाट उम्मेद्वारी दिएका उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र कांग्रेसका युवा नेता प्रदीप पौडेलका प्रतिस्पर्धी हुन् । 
 

खुश्वु वली 

सन २००६ की मिस टिन रहेकी खुश्वु वली राप्रपाकी सक्रिय कार्यकर्ता हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनसँग नजिक रहेर राजनीति गर्दै आएकी उनलाई राप्रपाले नै यो पटक उम्मेदवार बनाएन । झापा क्षेत्र नम्बर चारबाट सर्वसम्मत सिफारिस भए पनि केन्द्रले टिकट नदिएपछि उनी मंसिर चारको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लड्दैछन् ।  

सञ्जय श्रेष्ठ 
चर्चित पप गायक तथा कम्पोजर सञ्जय श्रेष्ठले पनि आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराएका छन । काठमाडौं क्षेत्र नं. ६ बाट स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गराएका श्रेष्ठ पटक–पटक मन्त्री बनेका सत्ता गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधान र पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका एमालेका उम्मेदवार सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गर्दै छन् । 

हिमेस पन्त

कमेडि च्यामपेनबाट नेपाली हास्यव्यङग क्षेत्रमा उदाएका कमेडिएन हिमेश पन्तले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन । पन्तले धादिङ क्षेत्र नं. १ बाट रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । 

दलप्रसाद लिङ्देन (दिनेश)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको लागि चलचित्र निर्माता तथा निर्देशक दिनेश नामले परिचित दल प्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन् । उनले पाँचथरबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका हुन् । पाँचथरमा एमालेका योगेश भट्टराई र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खिलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् । 
 

Logo