गुगलमा नभेटिने ऋषितुल्य इतिहासकार : महेशराज पन्त
  • रमेश शुभेच्छु

गएको साता एकान्तवासमा रहेका इतिहासकार महेशराज पन्तले पद्मश्री साधना सम्मान प्राप्त गरेपछि सबैको आँखा केही फराकिला भए । खासमा महेशराज पन्त पुरस्कार लिन, सम्मान गराउन र सार्वजनिक ठाउँमा देखिन अरुचि देखाउने अध्येता हुन् । सरकारी सम्मानलाई बिर्सने हो भने पद्मश्री सम्मान नेपाली साहित्य क्षेत्रमा जगदम्बा सम्मानपछिको महत्वपूर्ण सम्मान मानिन्छ । उनले सम्मान स्वीकार गर्नुका पछाडि यसको गरिमाले काम गरेको हुन सक्छ ।

जे होस्, योगदान ठूलो गरे पनि बाहिर नाम नसुनिने महेशराज पन्तले पद्मश्री सम्मान ग्रहण गर्ने पक्का भएपछि धेरैले उनको खोजी गरेका छन् । तर उनका विषयमा पुस्तक, पत्रपत्रिका र गुगल पनि प्रायः मौन नै देखिन्छन् ।

महेशराज पन्त नेपाली इतिहास र वाङमयकै पनि आधुनिक ऋषि हुन् । उनका विषयमा लेख्न र बुझ्न पनि त्यति सजिलो छैन । उनी आफैँमा अन्तरमुखी र आफूलाई भन्दा इतिहास र वाङ्मयलाई महत्त्व दिने विशिष्ट विद्वान् व्यक्तित्व हुन् । उनका विषयमा अहिलेसम्म निस्किएका लेखककोशहरू पनि मौन छन् । लेखक कलाकार कोश पनि मौन छन् । विकिपिडियाहरू पनि मौन छन् । उनको आवश्यकता हुनुपर्ने संस्थाका प्रकाशन पनि मौन छन् । ती कोश र संस्था मौन भएर केही फरक फरेको छैन, उनले जति नेपालका विषयमा कसैले लेखेका छैनन् । उनले जति इतिहास कसैले केलाएका छैनन् । उनका जति आधिकारिक पुस्तक कसैले लेखन, सम्पादन र प्रकाशन गरेका छैनन् । नेपाली बौद्धिक जगतमा उनका बारे केही लेख्न भने उनैलाई सन्दर्भ बनाउनु पर्ने बाध्यता छ ।

महेशराज पन्त अहिले ७६ वर्षको उमेरमा हिँड्दै छन् । उनको जन्म काठमाडौँको ओटु समलवहालमा २००१ सालभद्र ४ मा भएको हो । उनी विद्वान् पिता प्राज्ञ नयराज पन्त र माता बुधकुमारी पन्तका सुपुत्रका रूपमा जन्मिएका थिए । उनको बाल्यकाल संयुक्त पारिवारिक परिवेशमा बित्यो । उनी जन्मेहुर्केको परिवार बुबाको मामा, ठूलाबासहितको ठूलो परिवार थियो । उनको बाल्यकाल त्यही ठूलोपरिवारमा बित्यो । पिताकै गुरुकुलमा पढ्दै, दुई दिदी, एक भाइ र एक बहिनीसँग खेल्दै बित्यो । उनी आफ्ना पिताको बौद्धिकता र विद्वत् जीवनवृत्तिबाटै प्रवाहित भएर आफूलाई पनि सम्बन्धित क्षेत्रमा मोड्न सफल भए । पन्तका हजुरबा रानीपोखरी पाठशालाका व्याकरणका अध्यापक पं कृष्णदत्त पन्त थिए ।

पन्तका हजुरबा संस्कृत पाठशालाका व्याकरणका अध्यापक थिए । ती विद्वान् हजुरबाको ज्ञानगंगा प्रत्यक्ष रूपमा भने पन्तलाई प्राप्त भएन । उनका बुबा डेढ वर्षको हुँदाहुँदै हजुरबाको निधन भयो । तर उनको ज्ञानगंगाको सिञ्चन भने पन्तका जराभरि देखिन्छ ।पन्तकी माताको ३९ वर्षकै उमेरमा स्वर्गे भयो । पन्त त्यतिबेला जम्मा दशवर्षका थिए । उनका भइ दिनेशराज पन्त पाँच वर्ष र बहिनी अमिता जम्मा अठ्ठाईस दिनकी थिइन् । दिदी अम्बिका र धन (पाण्डे) केही ठूला मात्र थिए । त्यसपछिको जीवन पिताकै सानिध्य र रेखदेखमा अगाडि बढ्यो । हजुरआमा र अरूका रेखदेखमा चल्यो । पन्तका पिताको विधुरव्रती सन्तान प्रेम र विद्या प्रेमले पन्तको जीवन यात्रालाई विद्यामय बनाइदियो ।

महेशराज पन्तले दुई सय अधिक लेख प्रकाशन गरिसकेका छन् । उनले झन्डै दर्जन कृतिबाट जेजति सामग्री बाहिर ल्याएका छन्,त्योभन्दा बढी सामग्री प्रकाशनको पर्खाइमा रहेका छन् । त्यति नै र अझ बढी सामग्री कार्ययोजनामा रहेको बुझिन्छ । यस्ता विशिष्ट व्यक्तित्वलाई चिनाउनु, जीवनीको पाटो उठाउनु, व्यक्तित्व वा कृतित्वको पक्ष छुनु मात्र पनि कठिन छ । भर्खरै खेमलाल हरिकला प्रतिष्ठानबाट प्रदान गरिने पद्मश्री साधना सम्मानबाट सम्मानित भएपछि उनको समग्र वाड्मयिक योगदानको केही मात्र भए पनि कदर भएको अनुभव नेपाली बौद्धिक एवम् वाङ्मयिक जगत्ले गरेको छ ।

महेशराज पन्तको परिवार नेपाली बौद्धिक घरानाको परिवार हो । पन्तका हजुरबा, बा र पन्त बन्धु (महेशराज र दिनेशराज) पुस्तासम्म त्यो बौद्धिक घराना निरन्तर आरोहणशील बन्दै आएको छ । त्यसपछिको पुस्ता विषयान्तरमा रहे पनि बौद्धिक बाटोमा निरन्तर लम्किइरहेको छ । नेपाली समाजले आफ्ना अभिभावकको आर्थिक जेथो मात्र अंश पाउने सम्पत्ति मानिरहेका बेला पन्तले भने पिताको बौद्धिक जेथोलाई नै अंश मानी त्यसको संरक्षण र विकासमा निरन्तर लागिरहेका छन् । पन्तका भाइ दिनेशराज नै उनका विषयक्षेत्रका उत्तराधिकार हुन सक्छन् र दिनेशराजपछि पारिवारिक विरासत नरहे पनि कुनै मानस सन्ततिले उनको बिँडो थाम्न सक्लान् । यो विश्वकै ऋषितुल्य साधकहरूको साझा समस्या र समाधान पनि हो ।

पन्तजस्ता विद्वान् आजका पत्रपत्रिकामा नपढिनु, विकिपिडियामा नभेटिनु, छ्याप्छ्याप्ती रहेका रेडियो र टेलिभिजनमा नसुनिनु र नदेखिनु, कान्छो सञ्चार माध्यम अनलाइनमा नदेखिनुमा नेपाली समाजको विज्ञापनमुखी चरित्र नै मूल कारक पक्ष हो । यसबाहेक पन्तकै चरित्रसापेक्ष केही कारणहरू छन् । पन्तका आफ्नै केही निजी स्वभाव छन् । ती स्वभाव उनले कतिपय आफ्ना पिताबाट लिएका हुन् भने कतिपय आफै निर्माण गरेका हुन् ।आजको दुनियाँ विज्ञापनको पछाडि दौडिएको छ । यस्तो दुनियाँमा पन्त कुनै पनि सार्वजनिक सभा समारोहमा सहभागी बन्दैनन् । उनका दृष्टिमा सार्वजनिक सभा समारोह र कार्यक्रमहरू हल्ला गर्ने ठाउँ मात्र हुन् । उनीसँग सामान्य व्यवहारभन्दा बौद्धिक सङ्गत गर्न सजिलो छ । त्यस्तो सङ्गत गर्न पनि सङ्गत गर्नेवालाको हैसियत पुग्नुपर्छ । त्यो हैसियत भएका मानिसको अभावले पनि उनी कम चिनिए र कम पढिए सायद । आज कम पढिए पनि पन्तले अगाडि सारेका विचार र चेतनाहरू शताब्दी शताब्दीपछिका लागि उपयोगी हुने देखिन्छ ।

बौद्धिकता हल्लामा होइन काममा,अनुसन्धानमा र साधनामा हुन्छ । यहाँसम्म कि उनी प्रकाशकले आयोजना गरेको आफ्नै किताब विमोचनमा पनि उपस्थित हुँदैनन् । उनको तन, मन र धन सबै नेपाली इतिहास र वाङ्मयको अन्वेषणमा समर्पित छ । उनको निजी प्रयासमा काठमाडौंको डल्लुस्थित आफ्नै घरमा साढे चारतले पुस्तकालय व्यवस्थित ढंगले सञ्चालित छ । त्यो पुस्तकालय व्यवस्थापनका लागि निजी स्रोतबाट केही कर्मचारी पनि व्यवस्था गरिएको छ ।पुस्तकालय सञ्चालनका लागि मासिक ६५ हजार जति खर्च लाग्छ । त्यो खर्च पनि पन्तले आफूले पसिना बगाएका विदेशी विश्वविद्यालयको निवृत्तिभरणबाट चलाएका छन् । त्यस पुस्तकालयमा १५००० अधिक पुस्तकहरू, महत्वपूर्ण चिठीपत्रजन्य अभिलेखहरू, अनेक पाण्डुलिपि, पुराना पुराना महत्वपूर्ण ऐतिहासिक सामग्री आदि सुरक्षित छन् । उनको पुस्तकालयमा भएका सामग्री विश्वविद्यालयको पुस्तकालयमा भन्दा छिटो भेट्टाउन सकिन्छ । उनकै पुस्तकालयको अध्ययनबाट विद्यावारिधि उपाधि लिनेहरू पनि छन् । उनको पुस्तकालय र कम्प्युटरमा नियमित चारजना कर्मचारी सक्रिय देखिन्छन् । उनको पुस्तकालय अवलोकन गर्दा लाग्छ, एउटा व्यक्तिले यति गर्न सक्छ भने सरकारले गर्न खोजे कति सक्थ्यो होला ?

महेशराज पन्तको पुस्तकालयमा पुग्दा हामी जस्ता नयाँ पुस्ताका मनमा लागेको कुरो राज्यमा बस्ने मान्छेले सोच्न भ्याएका छैनन् । पन्तको जीवन दर्शन निस्काम कर्म र वाड्मय सेवा हो । अहिले पनि उनी १७३१ सालको प्रताप मल्लका पालाको हनुमानढोकाका अभिलेख विषयक पुस्तक तयार पारिरहेका छन् । उनका यस्ता पुस्तकका थुप्रै पाण्डुलिपि प्रकाशकको पर्खाइमा छन् । उनले आफ्ना पिताका पाण्डुलिपिलाई सम्पादन गरेर बाहिर ल्याउने क्रमलाई पनि जारी राखेका छन् । फरक प्रसङ्गमा उनका भाइ प्राज्ञ निदेशराज पन्तले भनेका छन्, पिताजीका प्रकाशित सामग्री मैले संरक्षण गरेको छु । अप्रकाशित सामग्री दाइले संरक्षण गर्नुभएको छ ।

पन्त नेपाली इतिहासका साझा ज्ञानकोश हुन् । यो कोशलाई राज्यका जिम्मेवार निकायले नपल्टाईकनै काम चलाइरहेझैँ लाग्छ । राज्यका आधिकारिक संस्थका विज्ञहरूले देख्दै नदेखेझैँ लाग्छ । उनी अहिले पनि इतिहासका गर्भमा रहेका र प्रकाशनको उज्यालो पर्खिरहेका सामग्रीको खोज अन्वेषणमा समय बिताइरहेका छन् । यस्ता विशिष्ट विद्वान् व्यक्तित्वका अभिप्रेरक पक्ष अनेक छन् तर उनको मूल अभिप्रेरणा उनकै पिता हुन् । आजको भाषामा उनका मूल रोलमोडल पात्र उनकै पिता हुन् ।

पन्तको वौद्धिक घराना विशेष उनकै पिता नयराज पन्तका प्रयत्नमा निर्माण भएको हो । प्रा.डा पन्तका पिता नयराज पन्त नेपाली भाषा प्रकाशिनी समितिको सदस्यका रूपमा वाड्मय सेवा गरेका पुराना विद्वान् हुन् । उनले २००९ सालमा इतिहासका क्षेत्रमा र समग्र वाङ्मयकै क्षेत्रमा रहेका त्रुटि निवारण गर्ने उद्देश्यले संशोधन मण्डलको स्थापना गरेका थिए । त्यसपछि उनी अन्य क्षेत्र छोडेर निरन्तर त्यही संस्थामा लागिरहे ।पन्तले स्थापना गरेको संशोधन मण्डलले नेपालको इतिहासका धेरै तथ्यहरू खोजेर बाहिर ल्याएको छ । यस मण्डलले पन्त पाठशाला नै चलाएर इतिहासका नयाँ विद्यार्थी तयार पार्ने गुरुकुल पनि निर्माण गरेको थियो । पन्तले योग्य शिष्य शृङ्खला तयार पार्नका साथै नेपाली पात्रोलाई आकाशमा देखिने वास्तविक ग्रह स्थितिअनुसार शुद्ध पार्ने योजना बनाएर तत्कालीन सरकारसमक्ष प्रस्तुत गरेका थिए ।सरकारमा उनको विद्वतालाई बुझ्नसक्ने शासक नभएकाले त्यो योजना त्यत्तिकै रह्यो ।

नयराज पन्तका इतिहास विषयक झन्डै दुई दर्जन कृति प्रकाशित छन् । उनका ज्योतिष विषयक कृतिहरू पनि दर्जन हाराहारीमै प्रकाशित छन् । उनी इतिहास र ज्योतिष मात्र नभई संस्कृत वाड्मयका पनि विशिष्ट विद्वान् थिए । उनले लिच्छवि संवत्को निर्णय नामक ग्रन्थका लागि मदन पुरस्कार (२०४३)प्राप्त गरेका थिए । उनको सम्मान स्वरूप२०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधि (डीलिट) उपाधि प्रदान गरिएको थियो। उनी असाध्यै सचेत विद्वान् थिए । बनारसमा पढ्दाताका नै गुरुले गरेको गल्ती पनि देख्ने बनिसकेका थिए । उनले वनारस गएर मूल विषय ज्योतिष पढेका थिए । भारतको बनारसमा पढेका बेला त्यहाँका नेताहरूमा विद्या कमजोर भएको ठानेर उनले राजनीतिलाई अन्धनीतिका रूपमा बुझे । उनी पछिसम्मै राजनीतिलाई गोप्य मतदानको विषय मान्थे । १०० मा ३३ ल्याएर पास हुने मान्छे अङ्ग्रेजहरूको दासका लागि तयार पारेको जनशक्तिका रूपमा लिए । त्यसपछि उनले नेपाल फर्किएर महत्वपूर्ण कृतिहरू आफैं पढाउन थाले । उनको पढाउने पद्धति भनेको ग्रन्थ कण्ठस्थ र अनुसन्धान थियो । उनको निधन २०५९ साल कात्तिक १८ गते भएको थियो।उनको अवसानलाई विशिष्ट ज्ञान गंगाकै अवसानका रूपमा लिइन्छ ।

समयसापेक्ष विद्वान्एवम् कर्मवीर महान् पिता नयराज पन्तका सुपुत्र महेशराज पन्तले आफूलाई निरन्तर पिताजीकै वाड्मयिक सामथ्र्यमा डोहोर्याए । पिताका परिकल्पनाको प्राज्ञिक मन्दिर संशोधन मण्डललाई निरन्तरता दिई नेपालको गरिमामय पुरस्कार जगदम्बाश्री पुरस्कार दिलाए । आज त्यही संस्थाका कर्म र निजी कर्मवापत पद्मश्री पुरस्कार पाउन सफल भए । उनले ‘संस्कृत लेक्सिकोग्राफी’विषयमा जातरूपज कमेन्ट्री अन द अमर कोश शीर्षकमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्  । उनी नेपालको इतिहास र सिङ्गो नेपाल विद्याका लागि सबभन्दा आधिकारिक व्यक्ति मानिन्छन् । उनी नेपालको इतिहासमा सबैभन्दा सामर्थ्यवान् स्वतन्त्र प्राज्ञ हुन् । उनले विश्वचर्चित किल युनिभर्सिटी, लाइबजीव युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धान गरे । अहिले उनी फ्रान्स र जर्मनीका आफूले विद्वत् कर्म गरेका दुईवटा विश्वविद्यालयको निवृत्तिभरण लिन्छन् । उनको नेपाल फिर्ती र समर्पणले उनको राष्ट्रभक्ति चेतनालाई पनि बुझ्न सकिन्छ । पन्त जर्मनी र फ्रान्सका विश्वविद्यालयका प्राध्यापक थिए । हामी कल्पना पनि गर्न सक्तैनौँ कोही जर्मनी र फ्रान्सजस्ता मुलुकको विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक नेपाल फर्किन्छ भनेर । पन्त ती मुलुकका सबै सुविधा छोडेर नेपाल फर्किए । उनले आफ्नो जीवन अफ्नै भाषा र इतिहासको सेवामा समर्पित गर्ने निर्णय गरे । ६५ वर्षको उमेरसम्म जागिरे जीवन बिताउन पाउने सानदार जागिरे जीवनलाई उनले ५९ वर्षको उमेरमा छोडेर नेपाल आए ।

पन्तको बौद्धिकताका परिचायक पक्ष उनका लेख र कृतिहरू नै हुन् । उनका कृतिहरू जातरूपज कमेन्ट्री अन द अमर कोश, अन संस्कृत एजुकेसन, नेपाल संवतकाे राष्ट्रिय मान्यताको अनौचित्य, नयराज पन्तलाई चिनाउनको लागि, नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा, को हुन् त नयराज पन्त ? नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह, जनैपूर्णिमादेखि रानीपोखरीसम्म, इनेप्त पिसिमिन? ह्वाट इज अंशुवर्मन राइट ? रिटेरिक अर ग्रामरजस्ता मौलिक ग्रन्थ हुन् । उनका यी कृतिहरू सम्बन्धित क्षेत्रका आधिकारिक कृति मानिन्छन् । उनका पछिल्ला तीनवटा कृति त पिताजी नयराज पन्तकै जीवन र कर्ममा आधारित छन् । पन्तले केही काम संयुक्त रूपमा पनि गरेका छन् । द टु अर्लिएस्ट कपर प्लेट इन्सक्रिप्सन फ्रम नेपाल, एडमिनेस्टेटिभ डकुमेन्ट्स अफ द शाह डाइनेस्टी अनसरमिङ मुस्ताङ एन्ड इट्स पेरिफेरी पन्तको सहलेखनमा तयार भएका कृतिहरू हुन् । यी कृतिहरूका सहलेखक क्रमशः ऐश्वर्यराज शर्मा र फिलिप पियर्स हुन् ।

पन्त बहुभाषिक विद्वान् व्यक्तित्व हुन् । उनी नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने भाषिक सामथ्र्य राख्छन् । उनी यी भाषा मात्र होइन यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बंगाली पनि सहजै पढ्न सक्छन् । अभिलेखीय भाषा अध्ययनका लागि उनी जति आधिकारिक अर्को व्यक्ति छैन । उनले आफ्ना कृति र लेखहरू लेखनको माध्यम भाषा भने नेपाली, अंग्रेजी र संस्कृतलाई बनाउने गरेका छन् ।उनका दुई सयभन्दा बढी गहन लेखहरू प्रकाशित छन् । उनका सबै लेखहरू शोधलेखका रूपमा स्थापित छन् । उनका कृति र सामग्री प्रकाशनका लागि नेपालीभन्दा अन्तराष्ट्रिय पत्रिका र प्रकाशकहरूले चासो लिएको देखिन्छ । उनी इतिहासप्रधान त्रैमासिक पत्रिका ’पूर्णिमा’को उठानदेखिका सम्पादक पनि हुन् । यो पत्रिकालाई पन्त बन्धुहरू महेशराज र दिनेशराज पन्तले निरन्तरता दिइरहेका छन् । यसकाडेढ सय अङ्क प्रकाशनमा आइसकेका छन् । यो पत्रिकालाई नेपालको आधिकारिक विशिष्ट इतिहासप्रधान पत्रिका मानिन्छ ।

महेशराज पन्त भन्ने वित्तिकै संशोधन मण्डलको नाम जोडिएर आउँछ । यस संस्थाले नेपाली वाङ्मय क्षेत्रको सेवाबापत जगदम्बाश्री पुरस्कार पायो । त्यो विशिष्ट पुरस्कार पाउँदा पनि पन्तले आफू मञ्चमा नचढी भाइ दिनेशराज पन्तलाई चढाएका थिए । त्यस पुरस्कार प्राप्तिको जस आफ्नै पितालाई दिएका थिए । त्यसबेला हलमा तालीकोफोहोरा छुटेको थियो । नेपालको इतिहासका प्रायः तथ्य बाहिर ल्याउने प्रवक्ता संस्थाका रूपमा यस संस्थाको साख जीवन्त छ । नेपालको इतिहासमा आजसम्म जति तथ्य र प्रमाण बाहिरिएका छन् तिनमा ७५ प्रतिशत योगदान संशोधन मण्डलको छ भन्ने दाबी पनि पन्तले गरेका छन् । नेपालको इतिहासका प्राचीन–मध्यकालीन र आधुनिक काल खण्डका अन्वेषकहरूप्रायः सबैजसो संशोधन मण्डलकै उत्पादन भएको तथ्य मध्याह्नकाे घामझैँ छर्लङ्ग छ ।

संशाेधन मण्डललाई पन्त परिवारको पाठशालाकै रूपमा पनि चलाउने र नयाँ पुस्तालाई इतिहासमा समेट्तै जाने योजना थियो । त्यो पाटोले भने निरन्तरता पाउन सकेन । पन्तले भने आफूलाई त्यही पाठशालाको स्कलर ठानेका छन् ।

पन्त नेपालको इतिहासका विशिष्ट विद्वान् हुन् तर उनी नेपालको राजनीतिक इतिहास मात्र लेखिएको र त्यसमा पनि पूर्णता नरहेको दाबी गर्छन् । उनका अनुसार, साँच्ची भन्ने हो भने राजनीतिक इतिहासमा पनि काम भएको छैन। काम केवल राजवंशको इतिहास (लिच्छवि, मल्ल, शाह वंश इत्यादि) मा मात्र भएको छ। उनका अनुसार सर्वाङ्गीण इतिहास लेख्न शासकले आफ्नो कुरा प्रचार गर्न राखेका अभिलेख मात्र पर्याप्त हुँदैनन् । उनी भन्छन्– समग्र इतिहास लेखनका लागि प्राचीनकालदेखिका विभिन्न शास्त्रीय वाङ्मयको आलोडन गर्नुपर्छ । आजका इतिहासकारमा त्यो धैर्य ज्यादै कम मात्र छ ।

वास्तविक इतिहास लेखनका लागि गरिने इतिहास चिन्तनमा पन्तको उक्त चिन्तन पर्याप्त हुनसक्छ । पन्त नेपालको बौद्धिक जमातका कर्म र प्रचारप्रति सहमत देखिँदैनन् । उनकाअनुसार यहाँ साधनाभन्दा हल्लाका पछि लाग्ने विद्वान् बढी छन् । स्वदेशीभन्दा विदेशी सन्दर्भलाई महत्व दिने बढी छन् । यसरी विदेशी सन्दर्भलाई महत्व दिने विद्वान्लाई उनले कतिपय लेख र अन्तर्वार्ताबाट निकै कटु आलोचना पनि गरेका छन् । ’नेपालका पब्लिक इन्टेलेक्चुअल’ शीर्षकको लेखमा उनले नेपालमा विदेशीको इसारामा नाच्नेलाई बौद्धिक भनिएको भनी कडा टिप्पणी गरेका छन् । उनले एक लेखमा नेपालका बौद्धिक व्यक्तित्वहरूलाई चार प्रकारमा वर्गीकरण गरी तिनका सीमा पनि तोकिदिएका छन् । ती चार प्रकारका विद्वान् हुन् : बन्दी, नागरक, घोषवृद्ध र सत्री ।

  •  बन्दी विद्वान् : राज्यको भाट अथवा चाकर विद्वान्।
  •  नागरक विद्वान् : खानलाउन दुःख नभएको विद्वान् । जो अनेकलाई भेला गराउने, सेवक बटुल्ने, प्रचार गर्ने गर्छ।
  •  घोषवृद्ध विद्वान् : उसलाई विश्वको ज्ञान केही हुँदैन, तर ऊ आफ्नो कुवाको व्याख्या यसरी गर्छ कि संसारमै पहिलो–ठूलो शान्त–सुन्दर भनेर आफ्नै वरिपरिको वर्णन गरेर बसिरहन्छ । यस्तो लेखक मेरो धर्म, मेरो संस्कृति, मेरो देश भनिरहन्छ । ऊ आफ्नो देश र प्रकृतिलाई संसारमा कहीँ नभएको सुन्दर, शान्त, विशाल भन्दै यसमै रमाइरहन्छ ।
  •  सत्रीविद्वान् : आफ्नो विद्यालाई राजनीतिमा, शक्तिमा प्रयोग गर्ने लेखक या विद्वान् यस कोटीमा पर्छ ।

पन्तको यस वर्गीकरणमा नेपालमा वास्तविक विद्वान् र लेखकको अभाव देखिन्छ । जहाँसुकै आधिकारिक बौद्धिक व्यक्तित्वको अभाव देखिन्छ । उनका दृष्टिमा बाद्धिक भनेको त लाभ–हानिको ख्याल नगरी, सत्य र विवेकको धर्म कहिल्यै नछोड्ने निष्काम बुद्धिमान् व्यक्ति हो । उनी विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य जिम्मेवार निकायहरूमा यस्ता विद्वान्को अभाव देख्छन् । नेपालका विश्वविद्यालयका नीतिनिर्माता पनि प्रायः उनीसँग बेखबरजस्तै छन् । उनी इतिहास, संस्कृति एवम् पुरातत्वको नयाँ पाठ्यक्रम निर्माण गरी यसलाई अगाडि बढाउनुपर्ने ठान्छन् ।

महेशराज पन्त नेपाल विद्याका आधिकारिक विद्वान् हुन्। उनले नेपाली बौद्धिक जमातप्रति केही आक्रोश र खिसीट्युरी मात्र गरेका छैनन् त्यसका आधिकारिक प्रमाण पनि दिएका छन् । उनले आफ्ना प्रायः लेखमा इतिहासमा नचाहिँदा कथा हाल्ने प्रवृत्तिको विरोध गरेका छन् । मिथकलाई मिथककै रूपमा रहन दिनुपर्नेमा मिथलाई इतिहास बनाइएकाप्रति विरोध जनाएका छन् । हामीले मान्दै आएका राष्ट्रिय विभूतिप्रति पनि उनको विमती छ । विभूतिका नाममा ऐतिहासिक र प्रामाणिक तथ्यभन्दा धार्मिक र मिथकीय पात्र पुज्नु गलत हो भन्ने उनको बुझाइ छ । उनकाअनुसार लडाइँमा हार्ने अमरसिंह र बलभद्र विभूति भएर पुजिने तर लडाइँमा जित्ने पाल्पाका उजिरसिंह अथवा पूर्वका भक्तवीर इतिहासमै उल्लेख नहुने प्रवृत्ति नेपाली इतिहासमा छ । उनी यस्ता कतिपय पक्षको खुलेरै विरोध गर्दै आएका छन् ।

राष्ट्रिय विभूति र अविभूतिका विषयमा पन्तले आफ्नै पिताले २००७ मै लखेको लेखलाई आधारमानेर जंगबहादुरले गरेको जति अपराध त भीमसेनले पनि गरेको पक्षलाई दोहोर्याउँदै आएका छन् । दुवैले राजालाई थपना बनाएर शासन गरेको पन्तको ठहर छ । कसैको पक्ष नलिई इतिहास पढ्दा भीमसेनको पालामा मुलुक गुमाएको, जङ्गबहादुरको पालामा थपिएको पक्षलाई उनले महत्वसाथ उठाउँदै आएका छन् । आज हामीले भीमसेनलाई विभूति मानिरहेको र जंगबहादुरलाई अन्धकार युगका प्रवर्तकमानिएको पक्षलाई महत्वसाथ चर्चामा ल्याइराखेका छन् । यस विषयमा नयराज पन्तले नै प्रश्न उठाएका थिए । आफ्ना पिताले उठाएको यस ऐतिहासिक विषयमा पन्तले निरन्तर कलम चलाइरहेका छन् । उनी प्रायःअन्तर्वार्ताहरूमा बोलिपनि रहेका छन् ।

पन्त नेपालको पठन संस्कृतिप्रति पनि त्यति सन्तुष्ट छैनन् । उनी पठन संस्कृति छैन भन्दैमा लेखक थाक्न नहुने तर्क गर्छन् । उनकाअनुसार लेखकको काम लेख्नु हो । उनी निरन्तर अन्वेषण गरिरहने र लेखिरहने कुरामा दृढ छन् । उनी पहिलादेखि नै कुनै शासकका प्रभावमा नपरी सत्यतथ्यमा आधारित रहेर कलम चलाउने इतिहासकार हुन् । उनले स्रोत उल्लेख नगरी लेखेको लेखलाई चोरी भन्ने गरेका छन् । उनले आफ्ना अधिकांश लेखलाई शोधपरक ढंगले सन्दर्भसहित प्रस्तुत गर्ने गरेका छन् । यो पन्तको अभियान नेपाली बौद्धिक गुरुकुलकै लागि अभिप्रेरक पक्ष हो ।

महेशराज पन्त भूकम्प विज्ञका रूपमा, भूकम्पको अन्वेषकका रूपमा पनि सक्रिय देखिन्छन् । उनका अनेक लेख भूकम्पको इतिहास, त्यसका क्षति र पुनर्निर्माणसँग सम्बन्धित छन् । उनले १२८० देखिको २०७२ सम्मको भूकम्पको इतिहास प्रस्तुत गरेका छन् र औसत कति समयमा एक अर्को ठूलो भूकम्प जाँदो रहेछ भन्ने निष्कर्ष निकालेका छन् । उनका लेखअनुरूप हामीले हाम्रा मठमन्दिरको पुनर्निर्माण र अभिलेखहरूको संरक्षण गर्न सकिने अनेक सम्भावना देखिन्छ । ती सम्भावनालाई नीतिनिर्माताहरूले पनि बुझ्नु आवश्यक छ ।