मुख्यमन्त्रीको दौडमा को–को ?

मुख्यमन्त्रीको दौडमा को–को ?


प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयन भएसँगैै ७ वटै प्रदेशमा प्रमुख दलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । 

कोही नयाँ अनुहारहरु छन् त कोही पुनः दोहोरिएका अनुहार छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र मधेस प्रदेशका  मुख्यमन्त्री लालबाबु राउत फेरि मुख्यमन्त्री बन्ने आशाका साथ प्रदेशसभामै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न चाहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्ता गठबन्धनबाट टिकट नपाउने देखेपछि पुनः भोजपुर (क) बाट प्रदेशसभाको उम्मेदवार बने । 

प्रदेश १ मा एमाले स्थायी कमिटी सदस्यद्वय हिक्मत कार्की र देवराज घिमिरेले प्रदेशसभामा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, भीम पराजुली र राजीव कोइराला, युवा नेता गुरुराज घिमिरे र प्रदेशमन्त्री केदार कार्की पनि प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । कांग्रेसका प्रदेश सभापति उद्धव थापाको नाम समानुपातिकतर्फ १ नम्बरमा छ । उनीहरूलाई मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । प्रदेश १ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । 

पूरा कार्यकाल मुख्यमन्त्री भएका लालबाबु पनि फेरि मुख्यमन्त्री बन्न चाहन्छन् । त्यसैले उनले संघीय सांसद्को बाटो छाडेर पुनः प्रदेशसभामा लड्ने निर्णय गरे । र मधेस प्रदेशका मुख्यमन्त्री राउतले जसपाका तर्फबाट पर्सा १ (ख) बाट चुनावी मैदानमा छन् । एमालेसँग चुनावी तालमेल गरेको जसपामा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव पनि मुख्यमन्त्रीको आकांक्षी छन् । 

मधेस प्रदेशमा लोसपाले पूर्वमन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेसबाट पार्टीका प्रदेश सभापति कृष्ण यादव र हालका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव मुख्यमन्त्रीको आकांक्षा छन् । वाग्मती प्रदेशमा कांग्रेसबाट प्रदेश सभापति एवं पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा उत्रिएका छन् । माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्री बनेका शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा उम्मेदवारी दर्ता गरेका छन् । एमालेका सानु श्रेष्ठ र रामेश्वर फुयाँल पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । 

गण्डकी प्रदेशमा एमालेले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई इच्छा विपरित प्रतिनिधिसभाको टिकट दिँदै एमालेले अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो । गुरुङ भने लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङसँग चुनाव लड्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ नाम सिफारिस भएका अधिकारीले कास्की १ (क) बाट उम्मेदवारी दिएका छन् । 

मुख्यमन्त्रीको आकांक्षासहित गण्डकीमा कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ १ नम्बरमा छन् । उनले प्रदेशसभामा सुरक्षित हुन खोजेका हुन् । हालका सूचना तथा सञ्चारमन्त्री बिन्दुकुमार थापा पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यत्रय जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका सम्भावित दावेदार हुन् । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षीको रुपमा रहेका छन् । 

एमालेका पोलिटब्युरो सदस्यद्वय वैद्धनाथ चौधरी र लीला गिरी पनि मुख्यमन्त्रीका सम्भावित उम्मेद्वार हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख) मा उम्मेदवारी दिए । शाहीलाई सत्ता गठबन्धनले हुम्लाको संघ वा प्रदेशमध्ये एक क्षेत्र रोज्ने अवसर दिएको थियो । तर शाहीले प्रदेशसभा रोजे । केन्द्रमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका शाही २०७४ को निर्वाचनमा कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फ निर्वाचित एक मात्र प्रदेश सांसद हुन् ।

कर्णालीमा एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेल र माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् । सुदूरपश्चिममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । कांग्रेसबाट केन्द्रीय सदस्य रणबहादुर रावल र एमालेबाट पोलिटब्युरो सदस्य राजेन्द्र रावल मुख्यमन्त्रीका आकांक्षी हुन् । एमालेका रावलको नाम समानुपातिकतर्फ १ नम्बरमा छ  ।

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा बहालवाला तीन मुख्यमन्त्रीले भने टिकट पाएनन् । सुदूरपश्चिम प्रदेश सरकारको पूर्ण कार्यकाल नेतृत्व गरेका त्रिलोचन भट्ट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ लड्न चाहन्थे । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट उनको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएको थियो । तर सिट बाँडफाँटमा डोटी एकीकृत समाजवादीको भागमा परेपछि भट्टको सम्भावना टर्यो ।

डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले टिकट पाए । माओवादीले भट्टलाई प्रदेशसभातर्फ डोटी (ख) मा उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिम समयमा शिवसिंह वलीलाई टिकट दियो । डोटी (ख) बाट सिफारिसमा परेका मीनबहादुर घर्ती मगर र प्रेम कुँवरले पार्टीले मुख्यमन्त्री भट्टको घोर अपमान गरेको उल्लेख गर्दै वलीको उम्मेदवारी अस्वीकार गरेको घोषणा गरे । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि सके प्रतिनिधिसभामा, नभए मुख्यमन्त्रीको सुनिश्चितासहित प्रदेशसभामै चुनाव लड्न चाहन्थे । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाए । रोल्पा (क) कांग्रेसको भागमा परेपछि केसी रोल्पा (ख) जान चाहान्थे तर माओवादीले उक्त क्षेत्रमा जोखबहादुर महरालाई टिकट दियो ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले समानुपातिकको खसआर्य समूहबाट प्रतिनिधिसभा सदस्य हुन चाहेका थिए । समानुपातिकको बन्दसूचीमा नाम नपरेपछि गत निर्वाचनमा जितेको नवलपुर–१ (क) बाट प्रत्यक्षतर्फ लड्न चाहेका थिए । तर पार्टीले जिल्ला सभापति महेन्द्रध्वज जीसीलाई टिकट दियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले पार्टीले आग्रह गर्दा पनि चुनाव लड्न चाहेनन् ।

प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा १४ जना मुख्यमन्त्री भए । तीमध्ये ६ जनाले मात्र प्रतिनिधिसभामा टिकट पाएका छन् । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीका तर्फबाट धादिङ–१ बाट उम्मेदवार बने । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीका तर्फबाट कालीकोटबाट उम्मेद्वारी दर्ता गराए । लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले एमालेका तर्फबाट दाङ–२ मा, प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुर र भीम आचार्यले सुनसरी–२ मा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

कुन प्रदेशमा को आकाङ्क्षी ?

प्रदेश १ः  राजेन्द्र राई (एकीकृत समाजवादी), हिक्मत कार्की र देवराज घिमिरे (एमाले), अमृत अर्याल, भीम पराजुली, राजीव कोइराला, उद्धव थापा, गुरुराज घिमिरे र केदार कार्की (कांग्रेस), इन्द्रबहादुर आङ्बो (माओवादी)

मधेस प्रदेशः लालबाबु राउत र विजय यादव (जसपा), जितेन्द्र सोनल (लोसपा), कृष्ण यादव र रामसरोज यादव (कांग्रेस)

बागमती प्रदेशः  इन्द्र बानियाँ (कांग्रेस), शालिकराम जमकट्टेल (माओवादी केन्द्र), सानु श्रेष्ठ र रामेश्वर फुयाँल (एमाले)

गण्डकी प्रदेशः खगराज अधिकारी (एमाले), शुक्रराज शर्मा र बिन्दुकुमार थापा (कांग्रेस), हरिबहादुर चुमान (माओवादी)

लुम्बिनी प्रदेशः जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री (माओवादी), अब्दुल रज्जाक, अमरसिंह पुन र डिल्ली चौधरी (कांग्रेस), वैद्धनाथ चौधरी र लीला गिरी (एमाले)

कर्णाली प्रदेशः जीवन बहादुर शाही (कांग्रेस), यामलाल कँडेल (एमाले), राजकुमार शर्मा (माओवादी)

सुदूरपश्चिम प्रदेशः खगराज भट्ट (माओवादी), रणबहादुर रावल (कांग्रेस), राजेन्द्र रावल (एमाले)
 

Logo