जीवित कुमारीको मासिक भत्ता ५० हजार पुग्यो

काठमाडौं,

काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ । त्यसैगरी जीवित कुमारी र जीवित कुमारीको स्याहार सुसार गर्ने चिताइदाराको पनि मासिक भत्ता वृद्धि भएको छ ।

आइतबार राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेश श्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गरेका हुन् ।

मेयर शाक्यको घोषणा अनुसार अब हरेक महिना पूर्वकुमारीले १५ र पूर्वगणेश र पूर्वभैरवले १२/१२ हजार प्राप्त गर्नेछन् । यस अघिसम्म पूर्वभैरव र गणेशले ८/८ हजार र पूर्वकुमारी र चिताइदारले १०/१० हजार प्राप्त गर्दै आएका थिए । त्यसैगरी जीवित कुमारीले ४०/४० हजार प्राप्त गर्दै आएका थिए । अब उनीहरुले ५०/५० हजार प्राप्त गर्नेछन् । पूर्वकुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो । यो वर्षदेखि करिब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ । ०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो । अब सबै रकम महानगपालिकाले नै सहयोग गर्नेछ ।

त्यसैगरी इन्द्रजात्रा सञ्चालनका लागि आगामी वर्षदेखि कोष स्थापना गर्ने र त्यसैबाट जात्रा सम्पन्न गर्ने समेत तयारी गरेको महानगरपालिकाले जानकारी दिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट दुई करोड, महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट एक करोड जम्मा गरी पाँच करोडको अक्षयकोष स्थापना गर्ने विषयमा समेत छलफल अघि बढेको भन्दै मेयर शाक्यले यसका लागि कार्यविधि बनाएर छिट्टै कोषको स्थापना गर्ने बताए ।
अन्नपूर्णबाट