यसरी सम्झिए महाकवि देवकोटा

यसरी सम्झिए महाकवि देवकोटा


‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि
उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि।।।’

स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कवितामा शर्मा अघि थप्छन्–

‘पुण्य आत्मा भयो हाम्रा श्वेतगिरि हिमालझैँ
टल्किने चन्द्रको कान्ति मनभित्र सुवास भई।।।’

कवि शर्माले अनुष्टुप छन्दको उक्त कविता विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा सुनाउँदै थिए। महाकवि देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा पुस्तकालयले यहाँका कवि, लेखकलाई जुटाएको थियो । स्रष्टा भीमप्रसाद शर्माले आफ्नो रचनामा महाकवि देवकोटालाई ‘नेपालका रवि’को उपमा दिए।

‘हिमालसरि अटल बन्यौ साहित्यका तारा
समाजलाई सुनै भए तिम्रा कृति सारा

महान कामले भएका छौ तिमी महाकवि
अन्धकारै हटाइदिने नेपालकै रवि।।।’

समाजका खराब प्रवृत्तिप्रति कटाक्ष गर्दै स्रष्टा कोपिला कँडेलले ‘मलाई गरिब बन्नु छैन’ कविता समारोहमा सुनाए।

‘देवकोटा मलाई गरिब बन्नु छैन
बरु हरिप बन्नु छ
मलाई कविता पनि लेख्नु छैन
कविता लेखेर के काम ?
न खान, न लाउन दिन्छ
न बस्ती दिन्छ
न मोजमस्ती दिन्छ
मलाई त नेता बन्नुछ
कर्मचारी बन्नुछ
भ्रष्टचारी बन्नुछ
गरिब, दुःखी, किसान, मजदुरको नारा लगाउँदै
बैवभशाली बन्नुछ।।।’

व्यङ्गमिश्रित रचनाबाट स्रष्टा कँडेलले राजनीतिका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हानेका थिए। प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए ।

कतिपय रचना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहवाही पाए ।

साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा लिए। “विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध पारेका छन्”, उनले भने, “उनका रचनामा पाइने मुख्य विशेषता भनेको संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता हो ।”

वरिष्ठ अधिवक्ता एवं इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले महाकवि देवकोटालाई समयको अगुवाका रुपमा चिनाए। “देवकोटालाई पढिएन र बुझिएन भने नेपाली साहित्यको अध्ययन पनि अपुरो हुन्छ”, उनले भने, “अहिलेको नयाँ पुस्ताले देवकोटाका कृति पढ्नु आवश्यक छ ।”

नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको श्रेष्ठले बताए। पुस्तकालयका सचिव राजनप्रसाद शर्माले काव्य गोष्ठीमा स्रष्टा शर्माको ‘लक्ष्मी’ कविता पहिलो बनेको जानकारी दिए ।

भीमप्रसाद शर्माको ‘नेपालका रवि’ले दोस्रो र कोपिला कँडेलको ‘मलाई गरिब बन्नु छैन’ कविताले तेस्रो स्थान पाएको थियो । विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र दिइएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा दश जनाले भाग लिएका थिए ।

पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको सो पुस्तकालयले स्थापनाको सुरुदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ । 

विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति नै बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताउनुभयो । “महाकवि देवकोटा जयन्तीलाई विशिष्ट ढङ्गले मनाउँदै आएका छौँ”, उनले भने, “हरेक वर्ष प्रतियोगितात्मक काव्य गोष्ठी हुन्छ, महाकविमाथि परिचर्चा र विमर्श हुन्छ ।”

Logo