विवाहको तयारी हुँदै थियो, मध्यरातमा भयो बाबुछोराको हत्या

स्याङ्जा । यही भदौ २६ गते हुने विवाहको (माइतीमान्ने) तयारीमा श्रीमान–श्रीमती जोडतोडले जुटिरहेका थिए । मागी विवाह गरेपनि माइतीमा टीकाटालो गर्न नपाएका उनीहरू त्यसैको तयारीमा थिए । स्याङ्जा हरिनास गाउँपालिका–३ ललइका ३० वर्षीय चित्रबहादुर खड्का र श्रीमती अनिता खड्काले माइती पक्षबाट लगाइने टीकाटालोेको तयारीस्वरूप आवश्यक सबै सामान पनि किनिसकेका थिए । चार वर्षीय छोरा रिजन खड्काको मावल जाने खुसीले छुट्टै फुरफुर थियो । केवल २६ गते माइती मान्न जान बाँकी थियो । उनीहरूले गाउँका केही आफन्तलाई त निम्ता समेत दिइसकेका थिए ।

विडम्बना, तयारीमै रहेका उनीहरूका लागि भदौ १७ गते निकै डरलाग्दो दिन बन्यो । दिउँसो गाउँकै दुई चारजनासँग मान्न जाँदा कति जन्ती लाने ? कति खसी काट्ने ? के कसरी अगाडि बढ्ने भनेर सल्लाह भयो । सल्लाह सकिएपछि राति ९ बजेतिर छिमेकीहरू आ–आफ्ना घरतिर लागे ।

दिनभर काम गरेको खड्का परिवार सुत्यो । सपरिवार एउटै कोठामा सुतेपनि बाबुछोरा एउटा बेड र श्रीमती अर्कै बेडमा सुतिन् । बिहान करिब ४ बजेतिर धारिलो हतियारधारी समूहभित्र प्रवेश गरेर बाबु र छोराको हत्या गरेर भाग्यो । मास्क लगाएर आएको हतियारधारी समूहले श्रीमान् र छोरामाथि आक्रमण गर्दा श्रीमती चिच्याइन् ।

त्यतिबेला सम्म श्रीमान र छोरामाथि झण्डै आठ–दश ठाउँमा प्रहार भइसकेको थियो । गहिरो चोटका कारण बाबु छोराले त्यहीँ प्राण त्याग गरे । खड्का दम्पतिको माइतीबाट टीका लगाउने सपना चकनाचुर बन्यो । खड्का वैदेशिक रोजगारबाट फर्किएर परिवारसँगै खुशी साटिरहेका थिए । तर खुशीयाली राम्ररी साट्न नपाउँदै उनको जीवनै समाप्त भयो ।

बिहानको पौने पाँच बजेतिर स्थानीय जनप्रतिनिधिलाई सम्पर्क गरियो । टेलिफोन सम्पर्कमा जनप्रतिनिधिसँग कुरा हुँदा यहाँ बाबुछोरामाथि खुकुरी प्रहार भएको छ । दुवैजना बेहोस अवस्थामा छन् भन्ने जानकारी आएको थियो । त्यसपछि आएका स्थानीय जनप्रतिनिधिले भित्र ढोका खोलेर हेर्दा दुवैको जनाको मृत्यु भइसकेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालयमा सम्पर्क गरिएको थियो ।

त्यो गाउँमै यस्तो खालको यो पहिलो घटना थियो । त्यस राति कालो कपडा लगाएको, झोला बोकेको र मास्क लगाएको एक व्यक्ति आएको थियो । श्रीमती चिच्याएपछि त्यो नकाबधारी भागेको थियो । बाबुछोरा दुवैका शरीरको पछाडि पट्टि घाउमात्र होइन, पूरै क्षतविक्षत थियो । चित्रबहादुरको घाँटीको अगाडि र पछाडि दुवैतर्फ आधाआधा काटिएको थियो ।

घटनापछि प्रहरी कुकुरले बाटो देखायो
घटनापछि प्रहरीले पोखराबाट कुकुर परिचालन गरेको थियो । कुकुरले एउटा बाटो देखाएको छ । तर पनि कुकुर परिचालन गर्नु भन्दा पहिला स्थानीयले शवलाई चलाइसकेका थिए । शवलाई स्थानीयले चलाइसकेका कारण परिचानल गरिएको कुकुरले एउटा बाटो देखाएको स्याङ्जा प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए ।

घटनापछि एसपी लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्या कसले र किन गर्‍यो भन्ने खुल्न नसकेको र अझै अनुसन्धानकै क्रममा रहेको एसपी लम्सालले बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । अहिलेसम्म केही पत्ता लागेको छैन । अनुसन्धानको विषय भएकाले थप बताउन मिल्दैन ।’ एसपी लम्सालले भने ।

घटनास्थलमा दुई घर मात्रै रहेको हरिनास गाउँपालिका–३ का वडाध्यक्ष लेख बहादुर क्षेत्रीले जानकारी दिए । बाबुछोराको शव पोखरामा पोष्टमार्टम गरेर बिहीबार दाहसंस्कार गरिएको छ । खड्काकी श्रीमती बिरामी छिन् ।

एकातिर बिरामी छिन् भने अर्कोतिर उनलाई श्रीमान् र छोरा गुमाएको पीडाले सताइरहेको छ । समाजमा कोहीसँग पनि उनीहरूको रिसइबी नरहेको बताइन्छ । ‘गाउँमा उनीहरूको रिसइबी छैन भन्ने सुनिएको छ । केही कारण नभई त यस्तो घटना घटेन होला । प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसमा हामीले पनि सहयोग गरिरहेका छौं ।’ वडाध्यक्ष क्षेत्रीले भने ।