पुस्तक परिचय : सम्पदा जोगाउने अभियान
  • ज्ञानमणि नेपाल कालोटोपी

नेपाल प्राकृतिक दृष्य र सुन्दरताले त धनी नै छ । मानव निर्मित साँस्कृतिक सम्पदामा पनि निकै नै अग्रस्थानमा छ । हामीले अहिले देख्ने गरेका मठमन्दिरहरु कहिले र कसले बनाए होलान् भनेर कमैलाई मात्र थाहा छ । कतिपयले यसको खोज र अध्ययन पनि गरेका छन् । गरिरहेका छन् अझैपनि । तर ती कति अपुरा होलान् , कति छुटेका होलान् । कतिपय ठाउँमा त यस्ता सम्पदाहरु मानव अतिक्रमित भएका छन् । जोगाउन पहल गर्नेहरु कम र अतिक्रमण गर्नेहरु धेरै भएका समाजमा सम्पदाहरुले आफ्नो अस्तित्व खोजीरहेका छन् ।

सम्पदाहरु हाम्रा इतिहास हुन् । हामी रानीपोखरीका कुरा गर्छौं, काष्ठ मण्डपका कुरा पनि गर्छौं । पशुपतिनाथ, स्वयम्भु, चाँगुनारायण, चारुमति जस जसका कुरा गर्छौं , ती सबैका आफ्नै महत्व छन् र तीनीहरुले इतिहास पनि बोकेका छन् । हामीले अहिले देखेका यी साँस्कृतिक सम्पदाहरु युगौंदेखि उभिएका छन् , जिउँदो तर बोल्न नसक्ने स्तम्भ बनेर । यी सम्पदा हेर्दै हाम्रा थुप्रै पुस्ताहरु बिलाइसके यहि धर्तीमा , यहि माटोमा । हाम्रा बा, हजुरबाले भन्दै आउनु भएका कथाहरु पनि यी सम्पदाहरुसँग जोडिएर आएका छन् । सबैजसो साँस्कृतिक धरोहरहरुका आफ्नै किवंदन्तीहरु पनि छन् ।

तर युगौंदेखि आफ्नो अस्तित्व बचाएर ठडिइरहेका यी सम्पदाहरुलाई बेला बेलामा आउने गरेका भूकम्प लगायतका प्राकृतिक विपत्तीहरुले सधैं समस्या बनाइरहे । वि.सं. १९९० सालको विनासकारी भूकम्प होस् वा ०४५ सालको नै किन नहोस् , अझै ०७२ सालको महाविनासकारी भूकम्पले ढालेका सम्पदाहरु त अझैपनि उठ्न बाँकी नै छन् । केहि उठेका छन् तर ती पनि आधुनिक शैलीमा मात्र । पुरानो अवस्थाका आकृति नाशिएका छन् । यी विविध कुराहरु आफ्नो ठाउँमा छन् । अस्तित्व हराउने अवस्थामा पुगेका यी सम्पदा जोगाउन धेरै लडाईंहरु पनि भएका छन् ।

हाम्रा साँस्कृतिक सम्पदाहरु जोगाउन कहाँ कस्ता समस्याहरु आए त ? अथवा अझै कहाँ के भइरहेका छन् , भन्ने विषयमा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार एवं पत्रकार दामोदर न्यौपानेले यी सम्पदाहरु जोगाउने अभियान चलाएका छन् । उनको अभियान खोज र अनुसन्धानमा पनि केन्द्रीत छ । यसका साथै उनले त्यहाँ आएका समस्याहरु र हरेकजसो सम्पदाका महत्वहरुलाई दर्शाउँदै पुस्तकको रुपमा पनि उतारेका छन् । आगामी शनिबार (भदौ २१ गते) सो पुस्तकको सार्वजनिक गरिंदैछ । यो पुस्तक कसरी तयार गरियो, किन तयार गरियो लगायतका कुराहरु लेखककै शब्दमा यहाँ प्रस्तुत गरिएको छ :-

सम्पदाले भरिएको राजधानी सहर । सम्पदा, संस्कृति र सभ्यताको धनी ठाउँ । महानगरबाटै छिरेर ‘सम्पदा बिट’ मा कलम चलाउन थालेपछि क्षेत्र अझ विस्तार भयो । अनेकौं विषय छन् यसमा, लेख्न भ्याइ नभ्याइ भयो मलाई । अब मेरो मुख्य उद्देश्य नै ‘संरक्षणका लागि लेख्ने’ बन्यो ।

सम्पदा राष्ट्रको चिनारी हो । सम्पदा विगत अभिलेख हो, वर्तमानको यथार्थ हो र भविष्यको सन्मार्ग पनि हो । सम्पदा सभ्यताको सूचक हो । तत्कालीन मूल्य मान्यता र जीवन पद्धति देखाउने ऐना हो सम्पदा । समुन्नतिका प्रतीक हाम्रा सम्पदा राष्ट्रिय परिचयका संवाहक पनि हुन्, जसले विभिन्न कालखण्डका वैभव देखाउँछन् । विविध कालखण्डका अनेक व्याख्या गर्छन् । यस अर्थमा सम्पदा भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन् । यिनले सामूहिक आस्था, विश्वास र मूल्यमान्यताको निर्माण गर्छन् ।

विगतको समृद्धि देखाउने सम्पदा भविष्यको समृद्धिका आधार पनि हुन्— पुर्खाका देन हुन्, विगतका यथार्थ तस्बिर हुन्, समाजका अभिलेख हुन् । सम्पदा जीवित इतिहास हुन् । इतिहासले सभ्यता र संस्कृतिको पहिचान दिन्छ, गौरव बोक्छ । छोटकरीमा भन्नुपर्दा राष्ट्र चिनाउँछन् सम्पदाले तर उपेक्षित छन् हाम्रा सम्पदा । यिनको संरक्षण भए मात्र ‘सभ्यताको पहिचान’— “पुर्खाको नासो’— “समाजको गौरव’ भनेर गर्व गरिरहन पाइन्छ ।

सम्पदा जोगाए हाम्रो समृद्धिको आधार बन्न सक्छ । समृद्धि पर्यटनको माध्यमबाट हुन सक्छ । सम्पदा जोगिए स्वदेशी/विदेशी पर्यटक आउँछन् । प्राकृतिक/सांस्कृतिक विविधता, सामाजिक रहनसहन, वास्तुकला आदिका दृष्टिकोणबाट नेपाल विश्वसामु चिनिएको छ । यही विविधताले गर्दा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाललाई घुम्नै पर्ने मुलुकको सूचीमा समेत राख्ने गरेका छन् । सन् २०१५ मा बेलायतको ट्राभल्स म्यागजिनले समेत नेपाललाई घुम्नै पर्ने देशको सूचीमा राखेको थियो । त्यही वर्ष विश्वका पर्यटकले रूचाएको सहरको सूचीमा नेपाल तेस्रो नम्बरमा परेको थियो ।

‘काठमाडौं सम्पदै सम्पदाले भरिएको सहर’ भनेर संयुक्त राष्ट्र सङ्घीय निकाय ‘युनेस्को’ ले पनि स्विकारेको छ । काठमाडौं उपत्यका सात सांस्कृतिक र उपत्यकाबाहिर एक सांस्कृतिक एवं दुई प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । त्यति मात्र होइन, युनेस्कोले म्याप अप वल्र्ड हेरिटेजमा राखेका नौ मध्ये एउटा फोटो भक्तपुर दरबार क्षेत्रको छ ।

यस्ता महत्वपूर्ण सम्पदा २०७२ सालको शक्तिशाली भुइँचालोले क्षतिग्रस्त बनायो । भुइँचालोले क्षति पु¥याउनु अघि पनि मानवीय गतिविधिकै कारण हाम्रा सम्पदा खतरामा पर्दै आएका थिए । युनेस्कोले कोही बेला खतराको सूचीमा राख्यो भने कोही बेला सूचीमा राख्ने चेतावनी दियो । विश्व सम्पदा सूचीमा राख्दा हाम्रा सम्पदाका जे गुण थिए, जे लक्षण देखिन्थे, त्यसमा बिस्तारै ह्रास आउँदै गयो भने युनेस्कोले खतराको सूचीमा राख्छ । खतराको सूचीमा राखेर र पनि केही समय सच्चिने समय दिन्छ । त्यो समयमा पनि प्रगति भएन भने सूचीबाटै हटाइदिन्छ— ‘न रहे बाँस, न बजे बाँसुरी ।’

भुइँचालोले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा धेरै ठाउँमा लापरबाही भएका छन् । बलियो बनाउने नाममा तिनका मौलिकता मासिने गरी जीर्णोद्धार र पुनर्निर्माण भए । अन्धधुन्ध ठेक्कामा दिइयो । ‘ठेकेदारलाई नदिन’ युनेस्कोले चेतावनी दिइरह्यो तर पुरातत्व विभाग टेरेन । महानगर टेरेन । त्यही भएर हामीले खबरदारी गरिरहनुप¥यो ।

सम्पदा जोगाउन लेखेर खबरदारी गर्ने यात्रा मैले रानीपोखरीबाट तय गरेको थिएँ । रानीपोखरीमा पुरातात्विक मापदण्ड विपरीत काम हुँदै थिए । चुना, सुर्की जस्ता परम्परागत सामग्री प्रयोगै भएनन्, आधुनिक सामग्री प्रयोग गरेर निर्माण प्रारम्भ भएको थियो । संरक्षणको सिद्धान्त अनुसार नभएकैले मैले खबरदारी लेखन गर्नुप¥यो ।

भौतिक सम्पदामा सांस्कृतिक र ऐतिहासिक सौन्दर्य झल्कन्छन् । यिनमा तत्कालीन ज्ञान, सिप र अनुभव आदि समाहित भएका हुन्छन् । त्यही भएर ‘पुराना मौलिकता जोगाउनुपर्छ’ भनेर विश्वभर पहल भएका छन् । संरक्षणका अनेक सिद्धान्त प्रतिपादन भएका छन् । सम्पदालाई विश्वसनीय, भरपर्दो बनाउन र संरक्षण कार्यलाई एकरुपता दिन विभिन्न समयमा अन्तर्राष्ट्रिय अधिकारपत्र जारी भएका छन् । तिनीहरुले सम्पदा संरक्षण सम्बन्धी विभिन्न ऐन कानुन, सिद्धान्त र एकरुपताका नियम निर्धारण गरेका छन् । ती अधिकारपत्रलाई विश्वसनीय र भरपर्दो बनाउन युनेस्को, विश्व सम्पदा केन्द्र, इकोमस जस्ता अन्तर्राष्ट्रिय संस्था क्रियाशील छन् । तिनीहरु विभिन्न समयमा पारित संरक्षणका दर्शन र सिद्धान्त आफ्ना सदस्य राष्ट्रलाई कार्यान्वयन गर्न सुझाव दिँदै आएका छन् ।

तत्कालीन वास्तुकला अध्ययनका विविध विषय मात्र होइनन् सम्पदा, देश र जनइतिहासका सक्कली प्रमाण हुन् । राष्ट्रियताका प्रतीक हुन् । यस्ता सम्पदाको स्थायित्वका लागि गरिन्छ जीर्णोद्धार । तर हाम्रा प्रयास कस्ता छन् ? स्थायित्व दिने खालकै छन् ? अहिलेको सन्दर्भमा भन्ने हो भने छैनन् । मौलिकता र पहिचान मासिने गरी भएका छन् जीर्णोद्धार । अघिल्ला पुस्ताले गरेका कामलाई चिरस्थायी गर्ने प्रक्रिया हो जीर्णोद्धार । चिरस्थायी भनेको जस्तो थियो त्यस्तै राख्ने । सिप, प्रविधि र निर्माण सामग्री जस्तो थियो, त्यस्तै हस्तान्तरण गर्नु हो संरक्षण । तर, यहाँ लुकीलुकी आधुनिक निर्माण सामग्री मिसाइयो । छलीछली सम्पदाका मूल्य मान्यता विपरीत गइयो । त्यही भएर हामी लड्नु परेको हो ।

के हो जीर्णोद्धारको मूल्य ?

सम्पदामा ऐतिहासिकता हुन्छन्, पुरातात्विकता र प्राचीनता हुन्छन् । सौन्दर्यपूर्ण र साङ्केतिक हुन्छन् । वास्तुकलाका वैज्ञानिक र प्राविधिक मूल्य हुन्छन् । तिनैलाई सम्पदाको सांस्कृतिक मूल्य भनिन्छ । सम्पदाको अर्को मूल्य हो संवेदनशीलता । त्यसमा निहित परिचय, आश्चर्य, निरन्तरता, अलौकिकता र साङ्केतिकता आदि मूल्य मान्यताका संवेदनशीलता हुन् । तेस्रो मूल्य हो दार्शनिकता । तार्किक, परम्परागत चिन्तन, धार्मिक संवेदनशीलता, वेष्टित धार्मिक व्यापकता जस्ता पक्ष दार्शनिक मूल्य हुन् ।

प्रयोग मूल्य सम्पदाको चौथो मूल्य हो । यसमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जस्ता पक्ष हुन्छन् । जीर्णोद्धार भनेकै सम्पदाभित्र लुकेका मूल्य एवं मान्यताहरुको संरक्षण र संवद्र्धन गर्नु हो । हामीले ती मूल्य मान्यताको सम्मान गर्नुपर्छ ।

समय परिवर्तनशील छ । कुनै पनि सम्पदाको मूल्य मान्यतामा पनि समय अनुसार परिवर्तन हुँदै जान सक्छ । यसरी परिवर्तन हुँदा तिनका मूल्य मान्यतामा आँच आउन पनि सक्छन् । त्यो अवस्थाप्रति भने सधैं सजग हुनुपर्छ ।

जीर्णोद्धारको सिद्धान्त र प्रक्रिया होसियारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन गर्दा कतै कतै मूल्य मान्यतामा हस्तक्षेप पनि हुन सक्छन् । हस्तक्षेप गर्दा न्यूनतम मात्रै हस्तक्षेप गर्नुपर्छ । प्रत्येक जीर्णोद्धार प्रक्रियाले सम्पदाको महत्वलाई सूक्ष्म रुपमा अध्ययन गरेको हुनुपर्छ ।

जीर्णोद्धार गर्ने छुट्टै प्रक्रिया हुन्छन् । ती प्रक्रिया पूरा गर्न जीर्णोद्धार कार्यविधि तयार गर्नुपर्छ ।
सबैभन्दा पहिला लगत सङ्कलन गर्नुपर्छ । सम्पदाको अवस्थिति, भौगोलिक क्षेत्र, प्रयोग सामग्री, प्राचीनता, जीर्णोद्धारको इतिहास, क्षय हुने कारण जस्ता विवरण समेटेर प्रारम्भिक लगत तयार पार्नुपर्छ ।

पहिलाको लगत अनुसार छ कि छैन ? जीर्णोद्धार गरेपछि यसलाई परीक्षण गरिन्छ ।
दोस्रो कार्यविधि हो प्रारम्भिक निरीक्षण । जीर्णोद्धार गरिने भाग वा सम्पदाको सम्पूर्ण भौतिक अवस्था, आवश्यक पर्ने सामग्रीको पूर्ण विवरण, क्षति पुगेका र पुग्न सक्ने सामग्रीको भौतिक अवस्था अध्ययन गरिन्छ । अनि मात्र संरक्षण वा जीर्णोद्धारको योजना बनाउनुपर्छ ।
तेस्रो कार्यविधि हो अभिलेख । अभिलेखले जीर्णोद्धारलाई सहज बनाउँछ । अभिलेख तयार गर्दा ड्रइङ, फोटोग्राफी तयार गर्नुपर्छ ।

चौथो कार्यविधि हो जीर्णोद्धार प्रक्रियामा अपनाउनु पर्ने सतर्कता । सुरक्षा व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन, जीर्णोद्धारका क्रममा हुने क्षतिको मानवीय वा संरचनागत मूल्याङ्कन र व्यवस्थापन, मौसम सम्बन्धी अध्ययन र आवश्यक सुरक्षा व्यवस्था, सुरक्षा गनुपर्ने कलात्मक एवं पुरातात्विक महत्वका सामग्रीको भण्डारण जस्ता कार्यविधि समावेश हुुनुपर्छ ।

यिनै अन्तर्राष्ट्रिय प्रक्रिया, कार्यविधि र मूल्य मान्यता अनुसार हाम्रा सम्पदा जीर्णोद्धार भए कि भएनन् ? यही ‘वाचडग’ को काम गर्नु थियो मलाई । सो क्रममा सम्पदा सम्बन्धी थुप्रै अनुसन्धान गर्ने मौका मिल्यो । त्यही मौकाको सदुपयोगबाट तयार भयो यो पुस्तक ।

(न्यौपानेको सातौं पुस्तक सम्पदा लडाईं यही भदौ २१ गते शनिवार वसन्तपुरको शिवपार्वती डबलीमा सार्वजनिककरण हुदैछ ।)