श्रीलंकामाथि न्युजिल्यान्डको सानदार जित

श्रीलंकामाथि न्युजिल्यान्डको सानदार जित


न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकामाथि सानदार जित हात पारेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि ६५ रनको जित निकालेको हो । 

जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १०२ रन बनाउँदै अल आउट हुन पुग्यो  । श्रीलंकाका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन तथा  भानुका राजपाक्षेले ३४ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

श्रीलंकालाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टको घातक बलिङ रह्यो । ४ ओभरमा १३ रन मात्रै खर्चेर ४ विकेट लिए । त्यस्तै, ईश सोधी र मिचेल स्टाननरले दुई/दुई विकेट तथा टिम साउथी र लोकी फर्गुसनले एक/एक विकेट लिए । 

\"Image\"

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सानदार शतकीय इनिङ खेले । उनले ६४ बलमा सर्वाधिक १ सय ४ रन जोडे । त्यस्तै,  द्र्याल मिचेलले २२ रन जोड्नुबाहेक न्युजिल्यान्डका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।  

श्रीलंकाका लागि कासुन रजिथाले दुई विकेट लिए भने महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराको नाममा एक/एक विकेट रह्यो । 

यो जितसँगै न्युजिल्यान्डले सेमिफाइनलको यात्रालाई झन् बलियो बनाएको छ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । पराजित श्रीलंका भने २ अंक जोडेर पाँचौं स्थानमा छ ।

Logo