त्रिविद्वारा परीक्षा स्थगन

काठमाडौं,

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबार (आज) देखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।

सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिनुभयो ।

उहाँले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरेको बताउनुभयो । आजदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो ।