शाहरुख खानको जन्मदिनमा ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ पुन–प्रदर्शन गरिने

शाहरुख खानको जन्मदिनमा ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ पुन–प्रदर्शन गरिने


अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ ।

एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे्र)’ को रि–रिलिज गर्ने हो । ‘पठान’का निर्माता आदित्य चोपडाका अनुसार दर्शकलाई शाहरुखको जन्मदिनमा उपहारस्वरूप यी दुई काम गर्न लागिएको हो । डीडीएलजेको निर्माण कम्पनी यशराज फिल्मस् नै हो ।

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ । 

फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँसम्म राखिएको छ । यसका लागि अनलाइनमार्फत एडभान्स बुकिङ खुला गरिसकिएको छ । अहिलेको लागि मुम्बई, दिल्ली एनसीआर, कोलकाता, कानपुर, अहमदाबाद, लखनउ, पुणे र सूरतका थिएटरमा एडभान्स बुकिङ खुलाइएको छ ।

फिल्म ‘पठान’ मा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दीसँगै तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।
 

Logo