पुस्तक अंश: सिड्नी सपना
  • सानु घिमिरे ज्योत्सना-

एक्लोपनको साथी बनेर एक्कासी आदि आइपुगेको थियो । दिनमा करिव १८ घन्टासम्म पटकपटक गरी सृष्टिलाई मेसेज पठाइरहन्थ्यो । गुड मर्निङ, गुड नाइट, खाना खायौ ? अहिले के गर्दै ? ल यो गाना सुन तिम्रो लागि, यस्तै यस्तै । आदिको मेसेजको रिप्लार्ई गर्नु भनेको हरक्षण ऊसँगै रहनुजस्तै जस्तै थियो । आदिसँगको तरङ्ग एकनासले चलिरह्यो । आदिले सृष्टिलाई अरू केही र कसैको बारेमा सोच्नै नदिई व्यस्त बनाइरह्यो ।

सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो । मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलार्ई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै भोकाएको मृगजस्तै गइहाल्न उसलार्ई उसको संस्कार र सोचले छेक्थ्यो । तर, रातको अलिकति अँध्यारोमा ऊ आदिको कोठामा पुगिहाल्थी ।

बिस्तारै सृष्टिलाई आफूभन्दा उमेरमा निकै जेठो, भद्दा शरीर भएको, कालो कालो बाक्लो ओठ, जर्रो छाला भएको अनुहार, भ्यात्त परेको भुँडीवाल आदि मन पर्नथाल्यो । सबैभन्दा मनपर्ने कुरा त आदिले व्यक्त गर्ने प्रेम थियो । सृष्टिको बारेमा प्रशंसा गरेर आदि कहिल्यै थाक्दैन थियो । उसका आँखामा हरेक पल कृतज्ञताको भाव छल्किरहेको हुन्थ्यो । सृष्टिका दुवै हात समातेर ऊ आफ्नो टाउको अड्याउदै भन्थ्यो– थ्याङ्क यु भगवान्् ! यस्ती रूपवती र बुद्धिमती साथीसँग भेट गराइदिएकोमा ।

त्यस्तो बेला सृष्टि अक्कबक्क पर्थी । के बोल्न उपयुक्त हुन्छ भन्ने भेउ पाउँदिन थिई । अनि ऊ चुम्बन गरिदिन्थी ।
एक रात निकै रमाइलोसँग बिताएपछि भोलिपल्ट बिहान आदिले सृष्टिलाई ग्रिन टी ल्याएर बेडमा टक्र्यायो । सृष्टि मुस्काई । ऊसँगै छेउमा रहेको गमलाको पिस लिली पनि मुस्कायो ।

म हरेक बिहान तिमीलार्ई यसैगरी ग्रिन टी खुवाउन चाहन्छु– आदिले भन्यो ।
खुवाएकै छौ त– सृष्टिले उठेर आदिलार्ई अँगालो मारी अनि कानमा बिस्तारै भनी– थ्याङ्क यु ।
मसँग बिहे गर्छ्यौ ?– आदिले पनि सृष्टिको कानमै बिस्तारै भन्यो ।
अँगालो पारेर आदिको घाँटीमा बाधेको हात निकाल्दै सृष्टिले भनी– यति चाँडै ?

तिम्रो पो उमेर अझै बाँकी छ । मेरो त ढल्किदैछ – आदिले अलि गम्भीर अनुहार पारेर भन्यो– उमेरको फरक अलिक देखिए पनि तिमीसँग मेरो मन मिलेको छ । तिमीलार्ई मसँगको सम्बन्धमा खुसी प्राप्त भएको छ भने र मलार्ई स्वीकार्न सक्छौ भने म तिमीसँग बिहे गर्न चाहन्छु ।
सृष्टिले केही नबोली ग्रिन टी सुरूप सुरूप पारिरही ।

–ठिकै छ, समय लिएर जवाफ देऊ । तर, नबिर्स म तिमीलार्ई माया गर्छु । अनि तिमीलार्ई सामाजिक विवाह गर्न अलि हतार नगरौँझैँ लाग्छ भने कोर्ट म्यारिज भए पनि गरौँ । तिमीलार्ई पनि पीआरको समस्या हँुदैन । पछि तिमी मानसिक रूपमा तयार भएपछि हामी नेपाल गएर विवाह गरौँला ।

सल्लाह गर्न सृष्टिको साथीबाहेक आफन्तहरू सिड्नीमा कोही थिएन । अतः उसले हार्बरब्रिजपारि बस्ने साथी सुनीतालाई फोन गरी ।
सुनीताले भनी– सिड्नीमा पीआर नहुन्जेल सार्है गाह्रो हुँदोरहेछ । हाम्रो हेर त कस्तो छ ? बुढाबुढी मरी मरी काम गर्यो, सबै पैसा कलेजको फी तिर्दै सकिन्छ । उमेर ढल्किन लागिसक्यो । बच्चा पाउनेसमेत फुर्सद छैन । यतिका महिनासम्म रिलेसनसिपमा बसेर उसलार्ई चिनेपछि, उसको माया लाग्छ भने उमेरले के गर्छ त ! बिहे गर, ढुक्क हुन्छ । एक वर्षमा पीआर आइहाल्छ अनि पढ्नू । यो कलेजको फी तिर्ने चक्करबाट त छुटकारा पाउँछेस् । एज रियल्ली डज नट म्याटर ।

निकितालार्ई पनि सृष्टिले फोन गरी– आदि बिहे गरौँ भन्छ । के गरौँ ?
निकिताले तीन पल्ट सोधी– तँलार्ई उसको माया लाग्छ ?
सृष्टिले जवाफ दिन सकिन ।
सँगै सुत्दा कस्तो लाग्छ ?

–खोइ ! हेर्दा बुढो भए पनि बेडमा त फायर छ । मज्जाले स्याटिस्फ्याक्सन दिन्छ । तर, बिहे नै गर्न चाहिँ के गरूँ कसो गरूँ भा’की छु । बुवा, मम्मीलार्ई कसरी भन्ने भइरा’ छ ? कोर्ट म्यारिज गरेर फस्छु कि जस्तो लाग्छ ?

निकिताले भनी– मुख्य कुरा माया हो । माया छ भने मात्र एजले म्याटर गर्दैन, नत्र गर्छ ।
सृष्टिले शरीरको भोक मेटाउँदै थिई कि माया साट्दै थिई, छुट्टयाउन सकिरहेकी थिइन । माया कस्तो हुन्छ ? यही त थियो गाह्रो प्रश्न । माया गर्छु भन्नेहरूको मायाले सधैँ उसलार्ई रुवाएको थियो । के रुवाउने नै हुन्छ त माया ? सुरुमा निक्कै चेपारो घस्ने अनि पछि वास्ता नगर्ने चिसो बैगुनी चिज नै हो त माया ? मान्छेहरूले साँचो मायाको कुरा गर्छन्् ? कस्तो हुन्छ साँचो माया ?

कति सोच्दा पनि, कसैगरी सोच्दा पनि सृष्टिले साँचो मायाको ठ्याक्कै परिभाषा भेटिन ।
–आ होस्, कोर्ट म्यारिज गर्छु । अनि पीआर भएपछि मन लागेको विषय पढ्छु । मन लागे जसरी जिउँछु ।
कोर्ट म्यारिज गर्न सिड्नीमा सिभिल सेलिब्रेन्ट पाइँदोरहेछ । सिभिल सेलिब्रेन्टले ठिक्क पारेको पेपरमा साइन गरेर ६५० डलर बुझाएपछि बिहे हुँदोरहेछ । सृष्टि र आदि कोर्ट म्यारिज गरेर वैधानिक श्रीमान् श्रीमती भए ।

सृष्टिलार्ई जिन्दगीमा कहिल्यै मेरो श्रीमान्् यस्तै हुनुपर्छ भन्ने लागेको थिएन । एउटा असल मान्छे हुनु त्यति नै मापदण्ड थियो । अतः कल्पनाको राजकुमारसँग तुलना गर्नै परेन । आदिले माया गर्थ्यो । माया देखाएको थियो । त्यसैको विश्वासमा आगामी दिनमा पनि माया गर्छ भन्ने भरोसा गर्न सकिन्थ्यो ।

कोर्ट म्यारिज गरेको पहिलो रात आदिले सृष्टिलार्ई कोठामा लग्यो । सृष्टि रातो ड्रेस लगाएर अदालत पुगेकी थिई । कोठामा पुगेपछि आदिले अङ्कमाल गर्दै भन्यो– श्रीमतीजी ! भित्र गएर बेडमा राखेको लुगा लगाएर आऊ ।

प्रश्नसूचक आँखाले सृष्टिले आदिलार्ई हेरी अनि नबोली भित्र गई । बेडमा र्याप गरेको निकै ठूलै गिफ्टको प्याकेट थियो । सृष्टि छक्क पर्दै ¥यापर च्यात्दै बक्स खोल्न थाली । बक्सबाट निस्कियो, रातो बनारसी सारी, ब्लाउज पेटिकोट र बेहुलीले लगाउने घुम्टो । आदिको सोच देखेर सृष्टि अलिकति लजाई । अलिकति डराई ।

ढोकामा टाँसेको ऐना हेर्दै सृष्टिले ब्लाउज लगाई । शरीरमा टम्म मिलेको ब्लाउज थियो । आदिले उसको लुगाको नाप कहिल्यै मागेको थिएन । कसरी थाहा पायो होला उसको शरीरको नाप ? के केटाहरूमा केटीको शरीर छोएरै, सुँघेरै नाप थाहा पाउन सक्ने सामर्थ्य हुन्छ ? नयाँ डिजाइनको बुटिक ब्लाउज कसले छानिदियो होला ? आफैले छान्यो कि कसैलार्ई छान्न लगायो होला ? यस्तै सोच्दै उसले ब्लाउज अनि पेटिकोट लगाई, रातो बनारसी सारी जाने जति मिलाएर लगाई ।

मैले यसैगरी बुवा, आमा, आफन्तहरूका माझ बेहुली वस्त्र लगाउने दिन कहिले आउँछ कि आउदैन होला ? आमाबुवाले दिनभरि पानी नखाई कन्यादान गर्न बस्ने दिन आउँछ कि आउँदैन होला ? साथीसँगी, इष्ट मित्रहरू वरिपरी बसेर हँसीमजाक गर्ने बिहेको दिन आउँछ कि आउँदैन होला ? मेहन्दी खोइ ? मेहन्दी नाइट हुन्छ कि हुदैन होला ? अनेकौं कुरा सोच्दै सृष्टिले नेपाली बेहुलीले लगाउने पहिरन लगाइसकेपछि बाहिर आई । आदिले उसलार्ई अनुहार देखिनेगरी घुम्टो ओढाइदियो अनि कोठाको भित्तामा राखेको शिव भगवान्को पोस्टरअगाडि लगेर सिन्दुर लगाइदियो । खल्तीबाट झिकेर सुनको औँठी र तिलहरी लगाइदियो । कहिले र कहाँ बनायो होला यो औँठी र तिलहरी ? हे भगवान् !
‘अब मैले के गर्ने ? तिमीलार्ई ढोग्नुपर्छ होइन ?’ सृष्टि निहुरिन खोजी । आदिले उसलार्ई उठाउँदै छातीमा टाँसेर भन्यो– बुढी ! तिम्रो ठाउँ त यहाँ हो ।

बुढी भन्ने सम्बोधन कति अचम्मको थियो सृष्टिका लागि । अनौठो, सारै अनौठो । कसले प्रतिपादन गर्यो होला बुढा र बुढी भन्ने सम्बोधन ?
मेरो जिन्दगीमा सहयात्री भएर आएकोमा म तिमीप्रति कृतज्ञ छु । आजको दिन र रातबाट हाम्रो नयाँ सम्बन्धको पालुवा पलाएको छ । आई लभ यु बुढी – सके जति कलात्मक पारामा आदिले आफ्नो भावना व्यक्त गर्दै दाहिने हात अगाडि बढायो ।

सृष्टिले आफ्नो दाहिने हात उसको हातमाथि राखिदिई ।

त्यसपछि आदिले सोफामा बस्दै कामसूत्रको एउटा डीभीडी प्ले गर्यो । यौनका अनेक आसनहरूको वर्णन गर्दै उसले भन्यो– प्रेम र विवाह दुवैमा कामसूत्रको ठूलो महत्व छ । जसरी हामी खाना खान्छौं, दिसा गर्छौं, सुत्छौँ, त्यस्तै सेक्स पनि हाम्रो जीवनमा नभई नहुने कुरा हो । आसनले सेक्समा कलात्मकता भरिदिन्छ । म चाहन्छु, तिमी मेरो यो प्रयोग र परीक्षणको सहगामिनी बनिदेऊ ।

सृष्टिलाई टाउको ठाडो पारेर हेर्न गाह्रो भयो । उसलाई कताकता अप्राकृतिक जस्तो पनि लाग्यो । आदिले सृष्टिलाई अँगालोमा च्यापेर भन्यो – कुनै धक नमानीकन हेर, हामीले सिक्नुपर्छ अनि मात्र जिन्दगी रङ्गीन हुन्छ । अब त हामी वैधानिक श्रीमान्–श्रीमती भइसक्यौँ । केको लाज ?
केही बेर भिडियो प्ले गरेपछि आदिको शरीरका अङ्गहरू कडा हुँदै गए । सृष्टि स्विमिङ पुलमा पसेजस्तै भिज्दै गई । त्यसपछि उनीहरूले विभिन्न प्रयोगहरू गरे ।

कस्तो लाग्यो त ?– काम तमाम भएपछि आदिले सोध्यो ।
–रमाइलै भयो । घरीघरी पीडा पनि भयो । बेस्सरी थाकेँ ।
–पानी पिउछौ?
–अँ पिउने । भोक पनि लाग्यो ।

त्यति नै बेला कलबेल बज्यो । आदिले सृष्टिलाई हेर्दै एउटा उटपटाङ खालको लुक्स दियो । हतारहतार हाफपेन्ट र टिसर्ट लगाएर ढोकातिर गयो ।

सृष्टि बिस्तारै उठी । सारी र गहनाहरू यतैउतै छरिएको थियो । आदिको एउटा टिसर्ट हातमा पर्यो । त्यही लगाएर ऊ बेडमै बसी ।
टेक अवे लिएर आदि आयो । भन्यो– तातै छ ।

खानामा भन्दा पनि सृष्टिलाई आदिले कति बेला खाना अर्डर गर्यो होला भन्ने लागिरह्यो ।
–सँगै थियौ । कति बेला अर्डर गर्न भ्यायौ ?

–आँप भेटेपछि आँप खानू । आँपको बोटसँग सरोकार नराख्नू, बुझ्यौ ?

पास्ता–चिकेन खाएर सृष्टि र आदि सुते । मध्यरातमा पेटको खाना पच्दै गएपछि आदि फेरि भोकायो । सृष्टिको शरीर बिस्तारै खोतल्न थाल्यो ।
–यो हाम्रो सुहागरात हो । एक खेप त अधुरै हुन्छ । आदिले सृष्टिको कान टोक्यो ।

नबोलीकनै सृष्टिले साथ दिइरही ।

बिहान सृष्टि उठ्दा आदि मस्तसँग घुरिरहेको थियो । सृष्टि उठी र नुहाउन गई । सावरमा उसले अघिल्लो रात आदिले लगाइदिएको सिन्दुर स्याम्पु र कन्डिसनरले घोटी घोटी धुन खोजी । जति गरे पनि जाँदै गएन ।

सृष्टिले बुझी, अद्वितीय थापाले उसको जिन्दगीमा जति धोए पनि नजाने रङ पोतिसकेको छ ।