गीतामा किन शुक्ल पक्षमा मर्ने व्यक्तिको पुनर्जन्म हुँदैन भनिएको हो ?

चारै वेदको सार उपनिषद हुन् भने उपनिषदहरूको सार गीता हो । गीता नै सनातन हिन्दू धर्मावलम्बीहरूको प्रमुख धर्मग्रन्थ हो । गीतामा भनिएको छ कि शुक्ल पक्षमा मर्ने व्यक्ति पृथ्वीमा फिर्ता आउनु पर्दैन र कृष्ण पक्षमा मर्ने व्यक्ति पृथ्वीमा फर्कनु पर्छ अर्थात् उसको पुनर्जन्म हुन्छ । उल्लेखनीय के छ भने इच्छामृत्युको वरदान प्राप्त महाभारतका प्रमुख पात्र भीष्मले त्यतिबेलासम्म आफ्नो प्राण अड्याएर शरशैयामा सुतिरहे जबसम्म उत्तरायणको शुक्ल पक्ष आएन ।

पृथ्वीमा लाखौं मानिस शुक्ल पक्षमा मर्छन् भने लाखौं मानिस कृष्ण पक्षमा मर्छन् भने के शुक्ल पक्षमा मर्ने सबै व्यक्तिले मुक्ति पाउँछन् त ? के उनीहरू पृथ्वीमा फर्कनु पर्दैन त ? के उनीहरूको पुनर्जन्म हुँदैन त ? खासमा, गीतामा यो कुरा त्यस्ता व्यक्तिका लागि भनिएको हो जो योगी, ध्यानी वा अनन्य भक्त छन् ।

आम मानिसले मरेको केही समयपश्चात नै अर्को जन्म लिन्छन् तर जो पापकर्ममा प्रवृत्त छन् त्यस्तालाई अर्को जन्म लिनमा कठिनाइ हुन्छ । आशय के भने उनीहरू भूत, प्रेत, पिशाच आदि योनिको भोग गरेपछि मात्र अर्को जन्म लिन्छन् । यसमा के हुनसक्छ भने त्यस्ता पापी मानिस मनुष्य योनिमा नभएर नीच योनिमा जन्म लिन पनि सक्छन् । उनीहरूको डिमोसन हुनसक्छ ।

कृष्णका अनुसार शुक्ल पक्ष र कृष्ण पक्षको ज्ञान

गीतामा कृष्णले अर्जुनलाई भनेका छन् :

यत्र काले त्वनावत्तिमावृत्तिं चैव योगिनः ।
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ।।

अर्थात्, जुन कालमा (यहाँ कालको अर्थ मार्ग बुझ्नुपर्छ, किनभने भगवानले यसको नाम सृति, गति पनि भनेका छन्) शरीर त्याग गरेर गएका योगीजन फर्कनु नपर्ने गतिमा र जुन कालमा गएकाहरू फर्कनुपर्ने गतिमा प्राप्त हुन्छन्, ती काल अर्थात् दुवै मार्गका विषयमा म बताउँछु ।

अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ।।

अर्थात् जुन मार्गमा ज्योतिर्मय अग्नि–अभिमानी देवता छन्, दिनका अभिमानी देवता हुन्, शुक्ल पक्षका अभिमानी देवता हुन् र उत्तरायणका ६ महिनाका अभिमानी देवता हुन्, त्यस मार्गमा मरेर गएका ब्रह्मवेत्ता योगीजन उपयुक्त देवताहरूद्वारा क्रमपूर्वक लिएर जाँदा ब्रह्ममा प्राप्त हुन्छन् ।

धूमो रात्रिस्तथा कृष्ण षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ।।

अर्थात्, जुन मागर्गमा धूमाभिमानी देवता छन्, रात्रि अभिमानी देवता हुन् तथा कृष्ण पक्षका अभिमानी देवता हुन् र दक्षिणायनका ६ महिनाका अभिमानी देवता हुन् त्यस मार्गमा मरेर गएका सकाम कर्म गर्ने योगीहरू उपयुक्त देवताहरूद्वारा क्रमपूर्वक लिएर गएका चन्द्रमाको ज्योतिमा प्राप्त भएर स्वर्गमा आफ्नो शुभकर्मको फल भोग गरेर पुनः पृथ्वीमा जन्म लिन्छन् ।

शुक्ल कृष्णे गती ह्येते जगतः शाश्वते मते ।
एकया यात्यनावृत्ति मन्ययावर्तते पुनः ।।

अर्थात्, संसारमा यी दुई प्रकारका मार्ग– शुक्ल र कृष्ण अर्थात् देवयान र पितृयान मार्गलाई सनातन मानिएको छ । यीमध्ये एक मार्गबाट (यसलाई अर्चिमार्ग भनिएको छ) गएकाहरूको पुनर्जन्म हुँदैन, उनीहरू परमगतिमा प्राप्त हुन्छन् भने दोस्रो मार्गबाट (यसलाई धूममार्ग भनिएको छ) गएकाहरूको पुनर्जन्म हुन्छ अर्थात् उनीहरू जन्ममृत्युको चक्करमा फस्छन् ।

के हो शुक्ल पक्ष र कृष्ण पक्ष ?

चान्द्रमान अनुसार एक महिनामा ३० दिन हुन्छन् । ३० दिनलाई चन्द्रमाको घटबढअनुसार १५–१५ तिथिहरूमा बाँडिएको छ । जब चन्द्रमा वृद्धि हुन सुरु गर्छ त्यसलाई शुक्ल पक्ष र जब घट्न थाल्छ त्यसलाई कृष्ण पक्ष भनिन्छ । शुक्ल पक्षको अन्तिम तिथि पूर्णिमा हो भने कृष्ण पक्षको अन्तिम तिथि औंसी हो । शुक्ल पक्षलाई देवताहरूको दिन तथा कृष्ण पक्षलाई पितृहरूको दिन भनिएको छ । यसैप्रकार उत्तरायण (मकर संक्रान्तिदेखि आषाढ मसान्तसम्म)) लाई देवताहरूको काल तथा दक्षिणायन (श्रावण संक्रान्तिदेखि पौष मसान्तसम्म) लाई पितृहरूको काल भनिन्छ ।