व्यक्ति हत्याको सुपारी, पेस्तोलसहित बाराका शम्भु पक्राउ

भक्तपुर । केही दिन अघि तराई मधेशबाट एक जना काठमाडौं छिरे । उनी काठमाडौं छिरेको थाहा पाएलगत्तै बाराको फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका ४१ वर्षका शम्भुप्रसाद शाह पनि काठमाडौं आए । उनी काठमाडौं आउनुको कारण अर्कै थियो ।

काठमाडौं आएका ती व्यक्तिको हत्या गर्न सुपारी लिएर उनी काठमाडौं आएका थिए । तर प्रहरीले हत्या गर्ने योजना विफल पारिदिएको छ । सोमबार राति भक्तपुरको भात्तेढिकुरबाट प्रहरीले शाहलाई एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो ।

शम्भुप्रसाद शाहको साथबाट बरामद गरिएको एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली । तस्बिरः महानगरीय प्रहरी परिसर भक्तपुर

शम्भु पक्राउ परेसँगै ठूलो हत्या सम्भावना टरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । ‘हामीलाई उ कसैको हत्या गर्न काठमाडौं आएको भन्ने सूचना आएको थियो । त्यही सूचनाको आधारमा उनलाई पछ्याउँदै जाँदा उनलाई नियन्त्रणमा लिन सफल भयौं । ठूलो हत्या टरेको छ’ एसपी प्रधानले भने ।

शम्भुले सोमबार साँझ भक्तपुरको होटलमा बसेर अर्को दिन ती व्यक्तिको हत्या गर्ने योजनासहित सुपारी लिएका थिए । तर प्रहरीले उनको योजना असफल पारिदिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुपारी दिनेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

हातहतियार खरखजना अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको एसपी प्रधानको भनाई छ । हतियार कुन प्रयोजनको लागि र किन लिएर आएको भन्नेसम्बन्धमा अनुसन्धान भइरहेको छ ।