पौराणिक युगका २ युवती जसले पुरुषबाट धोका पाए !

दैत्यराज वृषपर्वापुत्री शर्मिष्ठा अत्यन्त रूपवती थिइन् । उनको रूपलावण्य देखेर मोहित नहुने पुरुष सायदै हुन्थे । किशोर वयकी, सुन्दर अनि मनोहारी सुपुष्ट शरीर, मिलेका अंगप्रत्यंग यस्तो कि देख्नेहरू हेरेका हेर्यै हुन्थे । हावाको झोक्काले सुस्त सुस्त उडाइरहेको कपाल अनि फैलिएको सुगन्धलेजस्तै कामजितपुरुष पनि कामहार बनिदिन्थे उनका सामु । राजपुत्री न परिन्, त्यसैअनुरूपको स्वभाव अनि उमेरजन्य चन्चलता स्वाभाविक नै थियो ।

एक दिन राजकुमारी शर्मिष्ठा आफ्ना सखीहरूसँग बगैचामा घुमिरहेकी थिइन् । उनीसँगै थिइन् गुरुपुत्री देवयानी पनि । शर्मिष्ठाभन्दा एकदुई वर्ष जेठी देवयानी पनि रूपलावण्यले पुष्पित तथा पल्लवित थिइन् । कुनै पनि दृष्टिले उनी राजकुमारीभन्दा कम थिइनन् ।

गर्मीको समय थियो । सूर्यरश्मीको सघनतासँगै सबैमा गर्मी बोध भयो । उनीहरूले जलविहार गर्ने योजना बनाए । नजिकै ठूलो तलाउन थियो । सबै त्यहीँ पसे । मदमस्त जवानीले कामुकताको अलौकिक ऊर्जा दिइरहेको थियो । त्यो जोसले जलविहारको लागि वस्त्रको आवश्यकता नै ठानेन ।

नग्न शरीरलाई शीतल जलको स्पर्शले गर्दा कामुमताले अझ उचाइ छुन्थ्यो । लाग्थ्यो, पानी पनि लजाइरहेको छ नग्न सुन्दरीहरूको स्पर्श पाउँदा । उनीहरू आनन्दको परम क्षणसम्म पुग्नेगरी जलक्रीडाको मजा लिन थाले ।

त्यो मस्ती र आनन्दको क्षणमा कसैले जानकारी दियोे– पार्वतीसहित शंकर त्यही बाटो आउँदै छन् । यो थाहा पाएर झटपट शर्मिष्ठा जल बाहिर आइन् र लाजलाई वस्त्रले ढाकिन् । सबै भटाभट बाहिर आए र आआफ्ना बस्त्र लगाए । देवयानीले देखिन्, शर्मिष्ठाले आफ्नो पहिरन लगाएकी छिन् । उनको पारो तात्यो । देवयानी फलाक्न थालिन्– ‘एक असुरपुत्री भएर म ब्राह्मण पुत्रीको वस्त्र लगाउने साहस कसरी गरिस् ? तँलाई अलिकति पनि लाज छैन । मेरो बराबरी गर्न खोज्छेस् ?’

शर्मिष्ठाले सुरुमा त माफ मागिन् तर देवयानीको रिस शान्त नभएपछि उनी पनि जंगिइन् । उनमा पनि राजपरिवारको अहंकार उब्जियो । यतिन्जेल बाझ्दाबाझ्दै उनीहरू केही पर पुगिसकेका थिए । शर्मिष्ठाले सखीहरूसँग मिलेर देवयानीलाई बाटोनजिकैको एउटा कुवामा खसालिदिइन् र आफ्नो बाटो लागिन् ।

त्यसै बेला संयोगवश नहुषपुत्र ययाति शिकार खेल्दै त्यहीँ आइपुगे । तिर्खाएका राजा जब कुवा निकट पुगे त्यहाँ वस्त्रहीन देवयानीलाई देखे । तत्कालै राजा ययातिले आफ्नो वस्त्र शरीर ढाक्नलाई दिए । तर नग्न शरीर प्रदर्शित भइसकेको हुनाले देवयानी लाजले भुतुक्कै भइन् । तर लाजभन्दा प्राण जाने भयले उनी ययातिको सहयोग स्वीकार्न बाध्य थिइन् । युवा उमेरका राजा ययाति पनि जवान र सुन्दर स्त्री शरीर देखेर मोहित भइसकेका थिए ।

सम्हालिएर राजा ययातिले तिमी को हौ भनेर प्रश्न गरे ।

देवयानीले आफ्नो परिचय दिदै प्रणय निवेदन गरिन् । ययातिले तिमी ब्राह्मण पुत्री हौ, कसरी विवाह गर्ने र भन्दा देवयानीले कचको श्रापका कारणले आफ्नो विवाह ब्राह्मणसँग नहुने बताइन् । उनले जसले हात समाउँछ त्यही पति हुने भएकाले म तिमीसँगै विवाह गर्छु भनेर अड्डी लिइन् । ययाति पनि उनको सुपुष्ट शरीरमा लोभिइसकेका हुनाले त्यो आग्रह खुसीसाथ स्वीकार गरे ।

नवविवाहित दम्पति शुक्रचार्यसँग आशीर्वाद लिन आश्रममा पुगे । देवयानी आफ्नो विवाहको खुसीमा भन्दा शर्मिष्ठाले गरेको अपमानबाट जलिरहेकी थिइन् । उनले आफ्ना बाबु शुक्राचार्यलाई आफू शर्मिष्ठाबाट अपमानित हुनुपरेको र शर्मिष्ठासँग बदला नलिई आफूलाई चैन नहुने बताइन् । छोरीको खुसीका लागि शुक्राचार्य दैत्यराज वृषपर्वाकहाँ गए ।

शुक्राचार्यले वृषपर्वालाई भने, ‘दैत्यराज ! मैले भनेका मानेनौ भने आजैका मितिबाट म तिम्रो पौरोहित्याइँ र तिम्रो राज्य त्याग गरिदिन्छु । या त तिमीले देवयानीको माग पूरा गर या त मलाई विदा देऊ ।’

दैत्यराज वृषपर्वलाई शुक्रचार्यको ठूलो भर थियो । उनी सञ्जीवनी विद्याका ज्ञाता तथा दैत्यका हितैषी थिए । उनकै आडभरोसामा दैत्यहरूको उन्नतिप्रगति फैलन्थ्यो । तसर्थ वृषपर्वाका लागि अर्को विकल्प अर्को विकल्प नै थिएन । उनले देवयानीलाई खुसी बनाउनको लागि जे मागे पनि पूरा गरिदिने वाचा गरे । देवयानीले शर्मिष्ठालाई दासी बनाउन माग गरिन् । सत्तामोहमा फसेका वृर्षपर्वाले पनि पुत्रीको दाउ स्वीकारे । उनले पर्याप्त दाइजो तथा दासदासी सहित छोरी शर्मिष्ठालाई पनि देवयानीको दासी बनाएर पठाइदिए ।

समय बित्दै गयो । देवयानी पुत्रवती भइन् । देवयानी सुत्केरी भएका बखत ययातिले शर्मिष्ठालाई फकाए । नतिजा के भयो भने देवयानीले दुई छोरा यदु र तुर्वसु जन्माउँदा शर्मिष्ठाले गोप्य रूपमा तीन छोरा द्रुह्यु, अनु र पुरु जन्माइन् । ययातिपछि पुरु राजा भए भने अन्य छोराहरूबाट पनि प्रभावशाली वंश विस्तार भयो ।

देवयानी शर्मिष्ठाबाट ययातिको सन्तान जन्मिएको थाहा पाएपछि रिसले आगो भइन् । उनले यो कुरा आफ्ना पिता शुक्राचार्यलाई भनिन् । शुक्राचार्यले ययातिलाई बूढो हुने श्राप दिए ।

प्रस्तुति : नारायण उपाध्याय