प्रदेश नं. ३ : ४ हजार डेंगुका बिरामी, १३ वटै जिल्ला प्रभावित

हेटौंडा,

प्रदेश–३ मा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखापरेको छ । प्रदेशका १३ वटै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । १३ जिल्लामध्ये सबभन्दा बढी चितवनमा १ हजार ४६० बिरामी फेला परेका छन् । मकवानपुरमा ७ सय २८ जना र काठमाडौंमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

मन्त्री दुलालले डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाइएको बताउनु भएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रत्येक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तह र जिल्लास्तरमा अभियान चलाइने बताउनुभयो ।

‘सबै जागौं, सबै लागौं–वरिपरि जमेको पानी हटाई डेंगु भगाऔं’ विषयक पत्रकार सम्मेलनमा उहाँले अभियानमा सबै क्षेत्र एकैपटक जुट्न आग्रह गर्नुभयो । प्रदेश तहका अस्पतालमा डेंगु परीक्षण किटको अभाव नभएको मन्त्री दुलालले दाबी गर्नुभयो । प्रदेश तहका ६ जिल्ला अस्पतालमा डेंगुका बिरामीका लागि संघीय सरकारको सहयोगमा ३ सय वटा झुल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको मुख्यालयसमेत रहेको हेटौंडामा फैलँदो क्रममा देखिएको डेंगु नियन्त्रणमा प्रदेशको सहयोग नपाएर एक्लै अगाडि बढ्नु परेको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको गुनासोपछि प्रदेश सरकार अगाडि बढेको हो ।

प्रदेश र नगरपालिकाबीच समन्वय अभावका कारण डेंगु नियन्त्रणको प्रयास सफल हुन नसकेको हो । स्थानीय स्वास्थ्यकर्मी नै भन्छन् प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।
नेपाल समाचारपत्रबाट