प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो


राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा मधेस प्रदेश र वागमती प्रदेशबीचको खेल टाई हुँदा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो । यससँगै जारी प्रतियोगितामा दोस्रो खेल टाई भएको छ । 

यसअघि एपिएफ र गण्डकी प्रदेशबीच खेल पनि टाई भएको थियो । 

मधेसले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा वागमतीका पृथु बास्कोटले सर्वाधिक ४० रनको पारी खेल्दा ओपनरद्वय रित गौतम र इसान पाण्डेले क्रमश ३२ र ३१ रनको पारी खेलेका थिए । यस्तै सूर्य तामाङले २८ रनको व्यक्तिगत स्कोर गर्दा विवेक मगरले २५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट निकाल्दा रुपेश सिंहले २ तथा हरिशंकर शाहले १ विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो । मधेसका लागि रोहन विकले अर्धशतकीय पारी खेले । ९४ बलको सामना गरेका रोहनले ६ चौका र २ छक्काको सहयोगमा ६३ रनको व्यक्तिगत पारी खेलेका थिए । उनका अलावा ओपनर सन्तोष कार्कीले २३ रनको योगदान गर्दा राजेश यादवले १६, कप्तान हरिशंकर शाहले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । 

बलिङतर्फ वागमती प्रदेशका नन्दन यादव र सूर्य तामाङले समान ३/३ विकेट हात पार्दा प्रतिश जिसी र रामनरेश गिरिले समान २/२ विकेट आफ्नो नाममा लेखाए । खेलमा मधेस प्रदेशका राजेश यादव प्लेयर्स अफ दि म्याच घोषित भए ।

सोमवार नै भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५ विकेटको जित निकालेको हो । यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । 

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रश्तुत गरेको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा मात्र ५ विकेटको क्षतीमा भेट्टायो । सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोराले ४१ र टेक रावलले १८ रन जोडे । गजेन्द्रले ५१ बला ५ चौका र १ छक्का प्रहार गर्दा टेकले ३० बलमा ३ चौका प्रहार गरे । गजेन्द्र र टेकले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । त्यस्तै शेर मल्लले ३३ बलमा ३ चौकामद्दतमा अविजित ३४ रन जोडे भने राजु रिजालले २९ बलमा ४ चौका र १ छक्का मद्दतमा अविजित २४ रन जोडे । 

कर्णालीका रविन्द्र शाहीले ३ तथा दिवान पुनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्का मद्दतमा ७० रन जोडे । त्यस्तै सुवास ऐयरले २२ बलमा ५ चौका मद्दतमा २४ रन जोडे । 

सुदूरपश्चिमका नारायण जोशीले ४, हेमन्त धामीले ३ र गजेन्द्रले २ विकेट लिए । यस सँगै सुदूरपश्चिमले समूह ए मा ४ खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिम चौथो स्थानमा छ । कर्णालीले भने अंक खाता खोल्न सकेको छैन ।

प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मूलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ । 

Logo