अर्थमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग

स्वतन्त्र शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको माग गरेका छन् । उल्टो नीति र ब्यवहार प्रदर्शन गरि गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनीहरुले अर्थमन्त्री खतिवडाको राजीनामा मागेका हुन् ।

५० जना भन्दा बढी स्वतन्त्र शेयरकर्ताहरुले ३५ खर्बको पूँजीबजार क्षति भएर १४ खर्बमा झरि अर्थतन्त्र नै संकटमा परेको जनाउँदै यसबेला समेत अर्थमन्त्री खतिवडाले उल्टो नीति र ब्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् । उनीहरुले मुद्रा तथा पूँजीबजारको सम्बन्धमा अध्ययन गर्न गठीत कार्यदलले दिएको ५८ बुँदै सुझाब २०७६ असार मसान्त भित्रै कार्यावन्यन गर्न माग गरेका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

यता नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् । डेंगु नियन्त्रण गर्न नसकेको भन्दै गौतमले भने, ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुकदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ ।’

सांसद गौतमले मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगु प्रभावित हुँदा पनि स्वास्थ्यमन्त्री चुप बसेको आरोप लगाए ।