नवलपरासी- १ मा विनोद चौधरी किन ?

नवलपरासी- १ मा विनोद चौधरी किन ?


विनोद कुमार चौधरी अर्थात विनोद चौधरी एउटा नाम मात्र नभएर नेपाली उद्योग व्यवसाय क्षेत्रका स्थापित ब्रान्ड पनि हुन् । उनी सफल उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीका रुपमा परिचित छन् । उनी हजारौ व्यक्तिलाई काम दिने ‘चौधरी ग्रुप’ का अध्यक्ष तथा कार्यकारी प्रमुख पनि हुन् । 

नेपालमा पहिलो पटक बहुराष्ट्रिय कार कम्पनी जापानको सुजुकी ब्राण्ड नेपाल भित्र्याउने चौधरी सानो उमेरदेखि नै व्यावसायिक सोचका धनी पनि थिए । अमेरिकी पत्रिका फोर्बसको अर्बपतिहरूको सूचीमा रहेका चौधरीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको दायरा बढाउँदै लगेका छन् । 

चौधरी एक सफल उद्योगीसँगै समाजसेवीका रुपमा पनि परिचित छन् । बिसं २०७२ सालको महाभूकम्पपछि उनले नेपालका १२ जिल्लाका भूकम्प पीडितहरूलाई उल्लेख्य सहयोग गरेका थिए । उनले पीडितहरुको घाउमा मलम लगाउन आवश्यक स्वास्थ्य सेवाकर्मीहरूको व्यवस्था पनि गरेका थिए । यसका अतिरिक्त उनले भूकम्पले नष्ट भएका विद्यालय र घरहरू पुनर्निर्माण गर्न २५ करोड रुपैयाँ भन्दा बढी नगद र पचासौ हजार प्याकेट चाउचाउ समेत बाँडेका थिए । चौधरी समूहको समाजसेवा यात्रा यतिमै रोकिएन । 

यो संस्थाले सयौं अपाङ्गता भएकाहरुलाई कृत्रिम हातखुट्टा पनि प्रदान गरिसकेको छ । कोरोना संक्रमणले नेपालीलाई हायलकायल बनाइरहेका बेला ‘चौधरी फाउन्डेसन’ले सरकारलाई १ हजार थान कोरोना परीक्षण सामग्रीसमेत प्रदान गरेको थियो ।

उद्योग व्यवसाय र समाजसेवाका अतिरिक्त विनोद चौधरीको राजनीतिक संलग्नता पनि उत्तिकै प्रभावकारी रहँदै आएको छ । 

चौधरी वि. सं. २०६४ मा नेकपा (एमाले) का तर्फबाट संविधान सभाको सदस्य बनेका थिए । पछि २०७४ सालमा उनी नेपाली काँग्रेसका तर्फबाट संघीय संसदमा मुलुकका जल्दाबल्दा समस्याबारे विचार विमर्श गरेका थिए । 

नवलपरासी- १ बाट उम्मेदवार रहेका चौधरी यतिखेर जनताका समस्या बुझ्न गाउँगाउँ पसेका छन् । जनतासँगै बसेर पारिवारिक वातावरणमा उनले जनताका समस्या बारे गहन अध्ययन पनि गरेका छन् । अन्तर्राष्ट्रियस्तरमै ख्याती प्राप्त विनोद चौधरीलाई घर आँगनमै स्वागत गर्न पाउँदा मतदातामा पनि उत्साह बढेको छ । 

हजारौं व्यक्तिलाई रोजगारी दिनसक्ने चौधरीले निर्वाचनपछि उद्योग स्थापनामार्फत धेरैलाई काम दिन सकिने विश्वास पनि दिलाएका छन् ।

 

Logo