राजनीतिलाई व्यापारको पेशा बनाउन चौधरी चुनावी मैदानमा उत्रिए -हृदयेश त्रिपाठी

राजनीतिलाई व्यापारको पेशा बनाउन चौधरी चुनावी मैदानमा उत्रिए -हृदयेश त्रिपाठी


पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले उद्योगपति चौधरीकै कारण नेपाली कांग्रेसमा लामो समयसम्म बसेर पार्टीलाई योगदान पु-याएका नेताहरु पछि पर्नु परेको बताएका छन् । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतापपुर गाउँपालिका- ७ सूर्यपुरामा आयोजना भएको विशाल कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष त्रिपाठीले अहिले नेपाली काँग्रेस पार्टीलाई चौधरीले सिजी कम्पनी बनाएको आरोप लगाए । चौधरीले मतदातालाई लोभ्याउन मोबाइल, साइकल, र मेसिनलगायत विभिन्न वस्तुहरु बाँडिरहेको उनले आरोप लगाए । 

अध्यक्ष त्रिपाठीले यो निर्वाचन यस क्षेत्रका जनताको स्वाभिमान, सम्मान र प्रतिष्ठाका लागी भएको भन्दै आफुलाई मतदान गर्न आग्रह गरे । उनले यस क्षेत्रका जनता स्वाभिमान भएको भन्दै स्वाभिमानका लागी कुनै सम्झाैता गर्न नसक्ने दावी गरे । 

अध्यक्ष त्रिपाठीले यस पटकको निर्वाचन बाध्यताले लड्न परेको भन्दै यो निर्वाचन नै आफ्नो अन्तिम निर्वाचन भएको बताए । उनले यस क्षेत्रको स्वाभिमान र प्रतिष्ठाका लागी उद्योगपति चौधरी जस्ता प्रवृतिवादी पात्र स्वीकार नहुने जिकिर गरे । 

राजनीतिलाई व्यापारको पेशा बनाउन चौधरी प्रत्यक्ष रुपमा चुनावी मैदानमा उत्रिएको उनले आरोप लगाए । प्रतिस्पर्धामा रहेको चौधरी मुलुकको सबैभन्दा धनाढ्य व्यक्ति भएपनि कर तिर्नेमा २९ नम्बरमा पर्ने भन्दै उनले प्रश्न गरे । 

अध्यक्ष त्रिपाठीले अर्बपति चौधरीको पैसामा विक्यो वा डरले मैदान छोड्यो भन्ने आरोप जस्ता कलंकबाट जोगिन चौधरीको चुनौती सामना गर्न आफु निर्वाचन लडाँईमा उत्रिएको पनि जिकिर गरे । 

यस निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
 

Logo