नेपाली सिनेमा प्रश्न गर्न डराउँछ !
  • मनोज पण्डित, चलचित्र निर्देशक-

नेपालमा कस्ता सिनेमा बन्छन् ? किन बन्छन् ? कसले बनाउँछ ? यी प्रश्नहरूमा म बारम्बार घोत्लिएको छु । र, निष्कर्ष पनि निकालेको छु ।

वास्तवमा नेपाली सिनेमाले मलाई तान्नै सकेको छैन ।

खासगरी हलिउड सिनेमाले मलाई मज्जासँग तानेका छन्, र तान्छन् । किनभने उनीहरूसँग सिनेमा संस्कार छ । इमान्दारिता छ । यी सब कुरासँगै उनीहरू गहिरो अनुसन्धान पनि गर्छन् । बौद्धिकता उनीहरूको अर्को सकारात्मक पक्ष हो । छोटकरीमा भन्दा उनीहरूसँग प्रश्न छ । र, त्यसको प्रामाणिक जवाफ पनि ।

मैले चन्द्रमा बुझेँ, आतंक र आतंककारी बुझेँ, प्रेम र घृणा बुझेँ । यी महत्वपूर्ण विषय र ‘इस्यू’हरू सबै हलिउड सिनेमाबाट बुझेँ । बुझ्ने र बुझाउने कुरामा उनीहरू सचेत छन् । त्यही कारण हलिउड, हलिउड हुन सकेको हो ।

सिनेमाको बाटो के हो ? हलिउडको कुरा गर्नुहुन्छ भने ‘माइन्ड टु माइन्ड’ को बाटो हो । हाम्रो के हो त ? यस हिसाववाट हेर्दा सुडानतिर कुपोषण लागेको बच्चाजस्तो लाग्छ, हाम्रो सिनेमा । बुझिने भाषामा भन्नुपर्दा नेपाली सिनेमा बामे सर्न लागेको हो कि जस्तो लाग्छ ।

हाम्रो समाजको मूल्यांकन गर्दा तीन रंगका छौं हामी । पहिलो, जर्बजस्ती ढंगले आफूलाई परिवर्तनशील देखाउने । दोस्रो, परिवर्तन सुनेको तर ज्ञान नभएको समूह र तेस्रो भएको परिवर्तनको अनुभूति नै गर्न नसकेको समूह । नेपाली सिनेमाका मेकरहरूको अवस्था पनि यही तीन किसिमका हुन् । अर्थात हामी मेकरहरू अचेतन अवस्थामा छौँ । वास्तविकताभन्दा धेरै टाढा ।

अहिलेको आवश्यकता के हो ? मान्छेको आवश्यकता के हो ? पहिला यो पत्ता लगाउनुपर्यो, मेकरले । तर यही कुरा पत्ता लगाउने फिल्म मेकरहरूको अत्यन्तै कमी छ, हामीकहाँ । यही कारण धेरै वर्षदेखि त्यही एक–दुई कथामा सिनेमा बनेका बन्यै छन् ।

पछिल्ला १० वर्षमा चलेका सिनेमा हेर्ने हो भने ६ वटा एउटैको छ । तीनधारे नेपाली समाज रहुन्जेलसम्म यस्तै अवस्था रहिरहन्छ । एउटा केटालाई एउटी केटी मन पर्छ । उनीहरूलाई अर्कोले दुःख दिन्छ । यो कथा समाजको ‘रिफ्लेक्सन’ होइन, मात्र ‘कन्फ्यूजन’ हो ।

१० वर्षयता बनेका नेपाली सिनेमाहरूको कथानक हेर्नुभयो भने सबैजसो हिंसा र यौनका विषयमा छन् । यसलाई विषयको गम्भीरता होइन, कलात्मकता होइन, मात्रै ‘फेन्टासी’को रूपमा प्रस्तुत गरिएको छ । हिंसावाट ‘इन्जोय’ गराउने दुस्साहस गरिँदै आइएको छ । हामी चुकिरहेको ठाउँ यही नै हो ।

जीवनमा समस्या छ । जीवनमा चाहना छ । र, जीवनमा संघर्ष नै संघर्ष छ । तर हाम्रो सिनेमामा यी तीनै कुरा छैनन् । युवाहरू ‘फ्रिडम’ खोजिरहेका छन् भने खोइ सिनेमाको कथा बनेको ? हामी फिल्ममा समस्या देखाउन सक्दैनौं । समस्यावाट भागेर फिल्म बनाइरहेका छौं । त्यसकारण फिल्मले दर्शक तान्न सकेको छैन । दर्शक अल्मल्याउन सकेको छैन । एकथरीलाई त नेपाली सिनेमाको एलर्जी छ ।

मूल पक्ष हामी प्रश्नदेखि डराउँछौँ । सिनेमामा प्रश्न गर्न डराइरहेका छौं । सिनेमा भनेको प्रश्न हो । र, प्रामाणित जवाफ खोज्न सक्नु मेकरको गोल हो । एउटा राम्रो फिल्म ‘क्वेसन’बाट सुरु हुन्छ । ‘क्वेसन’गर्न नसक्ने मेकरले कसरी राम्रो फिल्म बनाउन सक्छन् ? मूल कुरा यही नै हो ।

अब के गर्ने त ? यी तीन आर्य सत्यलाई उजागर गर्ने– ‘समस्या देख्ने । समस्यावाट मुक्त हुने चाहना राख्ने । र, त्यसका लागि संघर्ष गर्ने ।’ यी आधारभूत पक्ष आत्मसात् गर्न नसकुन्जेलसम्म हामी सुरु नै हुन सक्दैनौँ ।

मेरो निष्कर्ष के हो भने जबसम्म हामी सिनेमामा सही प्रश्न गर्न सक्दैनौं र त्यसको जवाफ खोज्दैनौं, तबसम्म जहाँको त्यहीँ रहिरहन्छौं । हलिउड र बलिउडले यही पक्षमा आफूलाई खरो उतारेका छन् । र त, उनीहरूको डंका बजिरहेको छ ।

(‘दासढुंगा’, ‘बधशाला’ जस्ता चर्चित सिनेमा तथा ‘ग्रेटर नेपाल’ नामक डकुमेन्ट्रीका निर्देशक मनोज पण्डितसँग केन्द्रबिन्दुले गरेको कुराकानीमा आधारित । उनले निर्देशन गरेको चलचित्र ‘एक’ निर्माण क्रममा छ ।)