एक यस्ता युवक जो हरेक दिन नयाँ मानिससँग मित्रता गाँस्छन्

मानिसको सोख पनि अचम्म अचम्मको हुन्छ । अमेरिकाको फिलाडेल्फियामा बस्ने २८ वर्षीय रब ललेसको पनि अचम्मको सोख छ । उनी हरेक दिन कम्तीमा पनि एकजना अपरिचितसँग कुराकानी गर्छन् । ललेसले सन् २०१५ देखि यस्तो गरिरहेका छन् । अहिलेसम्म ललेसले २८०० अपरिचितसँग भेटघाट गरिसकेका छन् । उनी हरेक दिन कम्तीमा ४–५ जना नयाँ मान्छेसँग भेट गर्ने र ऊसित कुराकानी गर्ने कोसिसमा हुन्छन् ।

ललेस किन यसो गरिरहेका छन् त ? जवाफ यस्तो दिन्छन् उनी– ‘फरक फरक मान्छेसँग सम्पर्क र कुराकानी गर्नु समय बिताउने सबैभन्दा मूल्यवान् तरिका हो । हामी जति जति सोसल मिडियामा अभ्यस्त भइरहेका छौँ, त्यति त्यति हाम्रो मानवीय सम्पर्क घटिरहेको छ ।’
कलेजको अध्ययन पूरा गरेपछि ललेसले एउटा प्रतिष्ठित कम्पनीमा जागिर पाएका थिए । काम गर्ने क्रममा उनलाई महसुस भयो कि मानिसहरूका साथ जुन तरिकाले जानपहिचान गर्ने, कुराकानी गर्ने उनको बानी थियो, त्यो हराउँदै छ । उनी कर्पोरेट वातावरमा अभ्यस्त थिएनन् । उनी मानिसहरूसँग पहिचान बढाउनका लागि व्यग्र हुन थाले । अनि २०१५ मा उनले १० हजारजना नयाँ मानिससँग मित्रता गाँस्ने लक्ष्य राखेर यो प्रोजेक्ट सुरु गरे । त्यसका लागि उनले जागिर छाडे र पूर्णकालीन रूपमा नयाँ मानिसहरूसँग मित्रता गाँस्ने अभियानमा होमिए ।

ललेसले फाइनान्समा  डिग्री लिएका छन् । उनी हरेक दिन जिम जान्छन् । त्यसपछि उनी चारजना मान्छेसँग भेटघाट गर्छन् । हरेकजनासँगको भेट करिब १ घण्टाजति हुने गर्छ । यस्तो भेट जतासुकै पनि हुनसक्छ । कहिले कफी सप त कहिले समुद्री किनार । ललेस भन्छन्–‘एक घण्टा कुराकानी गर्दा उक्त व्यक्तिका बारेमा धेरै कुरा जान्न सकिन्छ ।’ जब कि कतिपय अवस्थामा भेट निकै नै निराशाजनक समेत हुने गर्छ । उनी भन्छन्–म मानिसहरूसँग सामान्य कुराकानी गर्छु र सम्बन्ध अघि बढाउने ढोका सदैव खुला राख्छु ।’
ललेस भन्छन्–‘मेरो इच्छा कुनै पनि व्यक्तिको जीवनको गहिराइसम्म पुग्ने हुँदैन, तर कसैले मलाई त्यहाँसम्म लैजान चाह्यो भने म उसलाई ध्यानपूर्वक सुन्दछु । सदैव मेरो कुराकानीमा यस्तो प्रयत्न हुने गर्छ कि दुई पुराना साथी छन्, जसको भेट आजभन्दा अघि कहिल्यै भएको छैन । हरेक उमेरका मानिससँग भेट गरेपछि मैले एउटा कुरा थाहा पाएँ कि मानिसहरूलाई यो थाहा छैन कि आखिर उनीहरू कहाँ गइरहेका छन् ।’ एजेन्सी

एक यस्ता युवक जो हरेक दिन नयाँ मानिससँग मित्रता गाँस्छन्