स्याङ्जा- २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोगसमक्ष कांग्रेसको आग्रह

स्याङ्जा- २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोगसमक्ष कांग्रेसको आग्रह


नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  

मंगलवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर मतगणना शुरु गर्न आग्रह गरेका हुन् । 

त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए  । उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए । 

उनले भने, ‘स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ । त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ । अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन । यसलाई रोकेर अर्को अनाधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो । त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसैगरेर बाजुरामा पनि तुरुन्त मत गणना होस् ।’
 
स्याङ्जा २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए । 

उनले भने– ‘नियम, कानून बमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरु सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि साथीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर, मुचुल्का उठाएर, सहि छाप लगाएर मत पेटिकाहरु मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरु थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा काँग्रेस, एमाले लगायत सबै दलले सहि गरेको अवस्था । त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरुमा कुनै धाँधली नभएको, कुनैपनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मत गणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएको छौँ ।’
 
उनले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास व्यक्त गरे ।

Logo