कोरोना भाइरसको खोप बनाएको रुसको दाबीदेखि स्वास्थ्य मन्त्रीको शुभकामनासम्म (भिडियोसहित)

कोरोना भाइरसको खोप बनाएको रुसको दाबीदेखि स्वास्थ्य मन्त्रीको शुभकामनासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोरोना भाइरसको पहिलो भ्याक्सिन् बनाएको रुसले दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोना भाइरसको पहिलो र सफल भ्याक्सिन बनाएको दाबी गरेका हुन् । पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए । आफ्नी छोरीलाई कोरोना भाइरसको संक्रमण भएको र यो भ्याक्सिन दिएपछि ठीक भएको पुटिनले दाबी गरेका छन् ।

त्यस्तै कोरोना कहरका बीच बजारमा उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढेको छ । करिब ४ महिना लामो लकडाउन र फेरि अर्काे लकडाउनको त्रासका बीच बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा, मासु, लत्ताकपडा, विद्युतीय सामाग्री लगायतका वस्तुको कृत्रिम मूल्य बढेको हो ।

नेपाल बक्सिङ संघ आन्तरिक विवादमा रुमलिएको छ । दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप हुँदा संघ विवादमा रुमलिएको हो । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी रहेका छन् ।

त्यस्तैगरी ठूलो परिमाणको शेयर कारोबारलाई सहज बनाउन धितोपत्र व्यापारी (स्टक डिलर) को कार्यविधी तयार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्टक डिलर कार्य सञ्चालन कार्यविधि २०७७ तयार गरेको हो । सो कार्यविधी आगामी भदौ १ गतेदेखि लागू हुने नेप्सेले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले त्यस्तो शुभकामना दिएका हुन् । मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई कृष्णअष्टमीको दिनले शक्ति प्रदान गर्ने मन्त्री ढकालको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo