असोज १२ : नेपालमा विमान दुर्घटनाको कालोदिन

  • ज्ञानमणि नेपाल कालोटोपी ,

काठमाडौं,

नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना आजभन्दा २७ वर्ष अगाडि वि.सं. २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको निधन भएको थियो ।

संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा असोज १२ को दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ । वि.सं. २०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।

नेपालमा हाल सम्म ९४ वटा विमान दुर्घटना भएका छन् । यद्यपी मानवीय क्षती भएका हवाई दुर्घटना ५२ वटा छन् । नेपालमा हवाईयात्राको शुरुवात वि.सं. २००६ देखि अहिले सम्म ८ सय ५८ जना भन्दा वढीले विमान दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भएपनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधीक कारण लगायतबाट एकपछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै वि.सं. २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको निधन भएको थियो ।

विगत १० वर्ष यता नेपाली आकाशमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसैगरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंशिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु प¥यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । त्यतिबेला बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको थियो । यसपछि पनि पटक–पटक विमान दुर्घटनाका श्रृंखला दोहोरिइरहे । यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरुको निधन भएको थियो । यी त केहि मुख्य दुर्घटनाहरु भए । साना–तिना दुर्घटनाहरु त कति भए कति , लेखाजोखा नै छैन ।

दुर्घटनाको यो कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । यसरी विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाईयात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन । यसले एकातिर हाम्रो आर्थिक र मानवीय क्षतीलाई वढाइरहेको छ भने अर्कातिर विश्वमा नेपालको असुरक्षित हवाईयात्राको गलत सन्देश प्रवाह भइरहेको छ । यसरी वढ्दै गईरहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै पहल गरेकै देखिदैंन । यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भईसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउदै गएपछि समितीले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना वढाएको छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदन पछि त्यसतर्फ सर्तकता अपनाउने र आगामी दिनहरुमा दुर्घटना रोक्न सक्ने रणनिती तय गर्ने हो भनेपनि धेरै हद सम्म यस्ता विनाशकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् ।

हुन त अन्र्तराष्ट्रिय निकायबाट नेपालको एक मात्र ठूलो र बाह्य देशसँगको सम्पर्क वढाउने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातीका चराहरुका कारण असुरक्षित भएको निश्कर्ष निकालिसकिएको छ । नेपालको भौगोलिक अवस्था र मौसम खरावी तथा पुराना इञ्जिन भएका जहाज जस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आईसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिंदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास वढाएको छ ।

यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिनेछ । यसो गर्न सकियो भने विमान दुर्घटनाकै कारण अर्बौं रुपैयाँ बराबरको धनजनको नोक्सानी कम गर्न सकिनेमा दुईमत छैन । यसरी चूनौतीपूर्ण रुपमा दुर्घटनाहरु वढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

 

असोज १२ : नेपालमा विमान दुर्घटनाको कालोदिन