चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन


प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी तोकिएको छ र केहीबेरमा सुनुवाइ सुरु हुने छ ।

महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कानुन व्यवसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनको अगुवाइमा आज पनि कानुन व्यवसायीहरु धर्नामा बस्ने तयारीमा छन् । कुनै अप्रिय घटना नहोस् भनेर सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Logo