जापान बसेर आरुबारी सम्झँदै
  • आलोक चालिसे –

मेरा हजुरबुबा रमेश विकल नहुनुभएको भए आरुबारी काठमाडौंनजिकै भए पनि यो आम काँठ क्षेत्र मात्र हुन पुग्दथ्यो । अहिले आरुबारी र काठमाडौं छुट्याउने कुनै सीमाना बाँकी छैन । तर विकलका साहित्यमा वर्णित आरुबारी एउटा दुर्गम बस्ती थियो भन्ने प्रमाण सुरक्षित राखिदिएका छन् ।

कुनै पनि क्षेत्र समृद्ध हुन त्यस क्षेत्रमा कसले जन्म लियो भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्दो रहेछ । हुनत काठमाडौंका काँठ क्षेत्र विभिन्न कारणले प्रसिद्ध छन् तर साहित्यका कारण भने मूलपानी र आरुबारी पछिसम्म इतिहासमा अंकित हुन्छन् भन्ने विश्वास मलाई छ । मूलपानी प्रसिद्ध साहित्यकार नारायण ढकालका कारण अमर हुनेछ । उनले त्यस क्षेत्रलाई आफ्ना आख्यानहरूमा ‘दुःखपुर‘का रूपमा यसरी उतारेका छन्, पाठकको आँखामा त्यसको गाढा छाप बस्छ, एकपटक भए पनि मूलपानी पुग्ने चाहना बढ्छ । भलै अहिले आएर मूलपानी पनि आरुबारीजस्तै शहरीकरणको चापमा परेको छ । समयले सबै बस्तीलाई परिवर्तन गर्छ, यी बस्तीहरूलाई पनि गर्‍यो । तर साहित्यमा यी  दुई बस्ती सदासर्वदा जीवित रहनेछन् ।

काठमाडौंको उत्तरतर्फ कोल्टे परेको गोकर्ण आरुबारीमा मेरो जन्म हुँदा यो ठाउँ हजुरबाका कारण प्रसिद्ध भइसकेको थियो । घरमा ठूलाठूला साहित्यकारहरूको आवातजावत भइरहन्थ्यो । चार दशकअघि म जन्मँदा त्यो गाउँमा सहरी दुर्गुण छिरिसकेको थिएन । यही कारण मेरो बाल्यकाल अन्य गाउँले बालकझैँ ग्रामीण परिवेशमा बित्यो । म हुर्कंदै जानु र सहरी परिवेश भित्रिँदै जानु उस्तै उस्तै हुन थाल्यो । आज विश्वको शक्तिशाली मुलुक जापानमा बसेर बाल्यकालको दसैं र आजको दसैंको तुलना गर्दा अनौठो तरङ्ग उत्पन्न हुन्छ मनमा । आजको अवस्था र त्यो परिवेश, भूगोल र दसैं विल्कुलै फरक छ । त्यो बेला एक मोहोर पाउन मुस्किल हुँदा दसैंको विषयमा आउने कल्पना र आज थोरै भए पनि आर्थिक अप्ठ्याराहरूबाट पार पाउँदा दसैंको विषयमा आउने कल्पनाहरू निकै फरक लाग्छन् ।
बाल्यकालका पाइतालाका डोब जहाँ पुगे पनि मेटिँदा रहेनछन् । आज एकाबिहानै उठेर जसै बाल्यकालमा पुगेँ, टोकियोका अग्ला भवनका बीचबाट मन भने सीधै नेपालको त्रिभुवन विमानस्थलमा ल्याण्ड नभईकन आरुबारी पुग्यो । जहाँ नौरथाभरि बिहान झिसमिसेमै उठेर साथीहरूसँग मन्दिर जाने गर्दथेँ । दसैं भनेको मीठो खाने र रमाइलो गर्ने दिनहरू थिए । यी दिनहरूमा स्कुल जानु पर्दैनथ्यो । तिहारसम्म छुट्टी हुन्थ्यो । चिसो बढ्दै गएको त्यो शुभ्र मौसममा हामी दिनभर दिनभर घुमिरहन्थ्यौं । बुबाले गाली गर्दा बच्न म हजुरबुबाको काखमा घुस्रन पुग्थेँ । उहाँले सम्झाउनुहुन्थ्यो, ‘जतिसुकै खेल तर समयमा घर आऊ है ।’ यो भनाइ मलाई उन्मुक्त हुने सानो लाइसेन्सजस्तै लाग्दथ्यो ।

हाम्रो टोलमा घरघरै खसी काटिन्थ्यो । जहाँसुकै पसेर पनि मासु खानु मानौं हाम्रो अधिकार थियो । यति हुँदाहुँदै पनि अष्टमीको दिन शाकाहारी रहनुपर्छ भन्ने भनाइ हाम्रो घरमा व्याप्त थियो । त्यो दिन बुबाले नयाँ सडकको मिठाई पसलबाट प्रशस्त मिठाइहरू ल्याउनुहुन्थ्यो । उहाँ गोरखापत्रमा जागीरे हुनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘सबैभन्दा अब्बल ठाउँबाट ल्याएको मिठाई हो ।’ यही कारण ती मिठाईप्रति मेरो आशक्ति थियो । त्यो दिन मिठाई खानकै लागि पनि म शाकाहारी हुन्थेँ । ल्याएका मिठाईहरूमध्ये आधाजसो मेरो र मेरा प्रिय साथीहरूको पेटमा पुगिसक्थ्यो । जतिसुकै लुकाए पनि त्यसलाई कसरी फेला पार्नुपर्छ भन्ने मलाई राम्रैसँग थाहा थियो । जसै साँझसम्ममा त्यो मिठाई सकिन्थ्यो, तुरुन्तै मांसाहारीमा परिणत भइहाल्थेँ ।

मिठाईपछिको आकर्षण दसैंमा ल्याइने लुगाको हुन्थ्यो । नयाँ सडकबाट ल्याएका कपडा सिलाउन हामी जोरपाटीतिर आउँथ्यौं । त्यहाँ केही दमाईहरूको कपडा सिलाउने पसल थिए । हामी केटाकेटी खेल्दै जाँदा तल जोरपाटीसम्म आइपुग्थ्यौं । एकपल्ट भए पनि पसलमा गएर हाम्रा लुगा सिलाएका छन् कि छैनन्, जान्ने हुटहुटी जाग्थ्यो । जसै हाम्रा लुगा सिलाएर आइरन लगाएर राखेको थाहा हुन्थ्यो, म तुरुन्तै घर पुगेर ती पहिरन घरमा ल्याउन दबाब दिन थाल्थेँ । टीका लगाउनुअघि ती पहिरन लगाउन अनुमति थिएन । तर प्रत्येक दिन ती लुगालाई चिहाईचिहाई हेर्दा असीम तृप्ति प्राप्त हुन्थ्यो ।

दसैंको अर्को आकर्षण नयाँ नोट थिए । कसले कति दक्षिणा दिए भन्ने कुरामा भन्दा पनि कसले नयाँ नोट दिए भन्ने कुरामा चासो रहन्थ्यो । केटाकेटीहरूबीच नयाँ नोट देखाउने प्रतिस्पर्धा हुन्थ्यो । नयाँ नोटप्रतिको हाम्रो आशक्तिकै कारण हुनुपर्छ बाले कुनै पनि दसैंमा नयाँ नोट साटेर ल्याउन ढिला गर्नुभएन । म घरमा नयाँ नोट आएको कुरालाई साथीहरूबीच बढाइचढाइ बनाएर कुरा गर्थेँ ।
गाउँको बीचमा लिङ्गे पिङ गाड्ने चलन थियो । एकपल्ट भुइँ नछाडे दसैं नै आउँदैन भन्ने आहानका कारण हरकोही त्यो पिङ खेल्थे । मलाई त्यो पिङ चढ्दा हवाइजहाज चढेको भान हुन्थ्यो । त्यो बेला हवाइजहाज चढ्नु असम्भवजस्तै थियो हाम्रा लागि । यही कारण पिङ चढ्दा हामी हवाइजहाज चढेको कल्पना गर्दथ्यौं ।

ठूलो हुँदै गएपछि हामी आफैँ नयाँसडक पुगेर कपडा किन्न सक्ने भयौं । भुगोल पार्कस्थित गोरखापत्र पसेर बुबासँग पैसा लिएपछि हामीहरूलाई दिइएको बजेटअनुसार आफूलाई मनपर्ने पहिरन किन्दथ्यौं । एकपल्ट यसरी कपडा किन्न दिइएको दुई हजार रुपैयाँ मैले बौद्ध–रत्नपार्कको भीडमा गुमाउन पुगेँ । कुनै बगलीमाराले मेरो त्यो पैसा गोजीबाट उडाइदियो । त्यो पैसा मेरा लागि लुगा किन्ने मात्र होइन, दसैंमा गरिने सबै रमाइलोका लागि बुबाले छुट्याइदिनुभएको बजेट थियो । त्यो हराएको कुरा भन्न सकिन । त्यसले मेरो सम्पूर्ण दसैं नै चौपट भयो । १७ वर्षको छँदा भएको त्यो घटना आज २२ वर्षपछि त्यसैगरी सम्झन्छु र चुक्चुकाउँछु । अहिले पनि त्यो दुई हजारको उस्तै माया लाग्छ र त्यो अनजान पकेटमारप्रति आक्रोशले भरिन्छु ।

सन् २००२ मा विद्यार्थीका रूपमा जापान पसेपछि मैले धेरै वर्ष दसैं मनाउन पाइन । नेपालीहरू निकै कम थिए । अर्काको देशमा भाषा र संस्कृतिका भिन्नताले हामीलाई दसैंको सम्झना गर्नुभन्दा यहाँको संस्कार र भाषा सिक्न नै ठूलो महाभारत हुन्थ्यो । तैपनि दुई चारजना भेला भएर हामी रमाउँथ्यौँ । रमाउनुभन्दा पनि गाउँको सम्झना गर्दथ्यौं ।

२००५ पछि भने जापानमा नेपालीहरूको आगमन राम्रैसँग बढ्यो । विभिन्न किसिमका भेला हुन थाले । टोकियोको सिबुयास्थित हाचिको कुकुरको सालिकअघि नेपालीहरू दसैंको मुखमा भेट हुन्थ्यौं । मुससिकोयामातिर नेपालीहरूको दुई–चारवटा पसलथिए । त्यहाँ नेपाली ध्वजावाहक हवाइजहाजले नेपाली पत्रपत्रिका र पुस्तकहरू बोकेर ल्याउँथे । त्यहाँ बसेर हामी ती पुस्तक र पत्रिका चाटिचुटी पढ्थ्यौँ । दसैंका बेला जहाजमा गुँदपाक, सेल, तिलको छोप र अन्य धेरै सामग्री पनि ल्याइदिन्थ्यो । त्यो पाउन हामीबीच हारालुछ हुन्थ्यो । हामी त्यहाँ यी वस्तुसँगै दसैंको शुभकामना आदानप्रदान गर्दथ्यौं ।

समयसँगै समयले फड्को मार्‍यो । अहिले नेपाली पत्रपत्रिका र साहित्यको स्वाद अनलाइनहरूले दिने गरेका छन् । जापानभरि झण्डै एक लाखको सङ्ख्यामा भएका नेपालीहरूले हरेक विदामा कार्यक्रम गरिरहेका हुन्छन् । कहाँ जाने भ्याइनभ्याइ हुन्छ । त्यसमध्ये दसैंमा त विशेष मेला नै लाग्दछ ।

सम्झेर ल्याउँदा कहाँ आरुवारीको गाउँले दसैं, कहाँ जापानमा एक्लोजस्तै बिताएका क्षण र कहाँ आज भरिभराउ नेपालीहरूको कार्यक्रम । समयले साँच्चै नै परिवर्तन ल्याएको छ । जहाँ बसे पनि हामीले पूर्ण रूपमा दसैं मनाउन पाएका छौं र विदेशमा बसे पनि पूर्ण रूपमा नेपाली हुन पाएका छौं ।