यस्ताे छ छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

यस्ताे छ छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले आफ्ना प्रतिष्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन्।

मतदानमा कूल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरी कांग्रेस संसदीय दलको नेता बनेका हुन्।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए।  यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।

सभापति देउवा योसँगै छैठौं पटक पार्टीको संसदीय दलको नेता बनेका हुन्। यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए।

कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । उनी पार्टीको १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बस्दै आएका छन्।

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौं पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री बनेका थिए।

सोही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि  राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भू-भाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) लगायतको अवधारणा ल्याएर जनताको विश्वास जितेका छन्। उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को  सभापति बनेका थिए। पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए।  त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ सभापतिमा निर्वाचित भए।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलो पटक सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल भए।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन्। त्यसयता उनी नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । 

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेशनलका उपाध्यक्ष समेत रहेका देउवा सन् २०१३ देखि पछिल्लो कार्यकालसम्म उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक पटक १० वर्ष कारागार जीवन बिताएका छन्। रासस

Logo