महरालाई निद्रा नलाग्ने समस्या देखियो, अझै केही दिन अस्पतालमै

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई निद्रा नलाग्ने समस्या देखिएको छ । असोज २३ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका महरामा निद्रा नलाग्ने समस्या देखिएको हो ।

जसले गर्दा उनलाई अझै केहिदिन अस्पतालमै राख्नुपर्ने भएको छ । प्रहरी हिरासतमा रहेका महरालाई श्वासप्रश्वास र ब्लडप्रेसर सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको रगतमा सुगर देखिएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार औषधिबाट रक्तचाप केही ठीक भए पनि अनिद्रा र तनाव (स्ट्रेस) को समस्या देखिएको छ ।

पहिल्यैदेखि श्वासप्रश्वासको समस्याबाट पीडित महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो । बलात्कार प्रयास घटना असोज १२ गते राति भएपनि ढिलागरी प्रहरीमा उजुरी परेको थियो ।

शाहीले महरामाथि बलात्कारको प्रयास र हिंसा गरेको आरोप लगाएकी छन् । सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो । दसैँ विदाका कारण अदालत बन्द छ । असोज २८ गते अदालत खुलेपछि मात्र महराको बयान हुनेछ ।

असोज १२ गते राति रक्सीसहित आफ्नो निवास पुगेमा महराले बलात्कार गरेको आरोप शाहीले लगाएकी थिइन् । आरोप लगाएको केही समयपछि आफु डिप्रेशनको औषधि सेवन गरिरहेको र महराबाट कुनै प्रकारको दुव्यर्वहार नभएको भन्दै बयान दिएको भिडियो सार्वजनिक भएको थियो ।

पटक पटक आफ्नो बयान फेर्दै आएकी रोशनीले महराबाट आफुमाथि कुनै प्रकारको हिंसा नभएको भन्दै प्रहरीमा उजुरी समेत दिएकी थिइन् । त्यसपछि असोज १७ गते महराबाट बलात्कार प्रयास र हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् ।

पछिल्लो समय पनि शाहीको नाममा एक प्रेस विज्ञप्ती जारी गरिएको छ । जसमा आफुले प्रहरीको दवावमा आएर महराविरुद्ध उजुरी दिएको उल्लेख गरेकी छन् । तर उक्त प्रेस विज्ञप्तीको आधिकारिता पुष्टि भने हुन सकेको छैन् ।

आरोप लागेसँगै असोज १३ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराको सांसद पद समेत खोसिएको छ । पक्राउ परेसँगै उनी संसदबाट निलम्बनमा परेका हुन् ।

महरालाई निद्रा नलाग्ने समस्या देखियो, अझै केही दिन अस्पतालमै