महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक कुमार दाहालको इजलासले प्रहरीलाई यस्तो अनुमति दिएको हो ।

असोज १९ गते पक्राउ परेका महरालाई दशैं विदाका कारण मंगलबार मात्र अदालतमा उपस्थित गराइएको थियो । संसद सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा मंगलबार नै बहस भएको थियो ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले र सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट उमाकान्त पौडेलले महरालाई अझै तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने माग गरेका थिए । उक्त घटनाको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न पत्र काटेको थियो ।

बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो । प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा उपचाररत छन् ।

महरा र आरोप लगाउने महिलाको फरेन्सिक परीक्षण समेत भइरहेको छ । महराले आफूमाथि असोज १२ गते राति बलात्कारको प्रयास गरेको भन्दै महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् । उक्त आरोप अस्वीकार गर्दै महराले अनुसन्धानको लागि भन्दै असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।