आज ३०१ औँ पृथ्वी जन्मजयन्ती, सार्वजनिक बिदा

आज ३०१ औँ पृथ्वी जन्मजयन्ती, सार्वजनिक बिदा


आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । विक्रम सम्वत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । (वि.सं.१७७९–१८३१) शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उनको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्ति पश्चात नेपालमा आएको प्रजातन्त्र पश्चात योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरु गरेका थिए । पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए ।  पृथ्वीनारायण शाहले शुरू गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भएको थियो ।

Logo