आमाले बनाएको बटुक र सेलरोटी खान नपाइ अस्ताइन् सिर्जना

आमाले बनाएको बटुक र सेलरोटी खान नपाइ अस्ताइन् सिर्जना


आइतवार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन् । २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइँनभ्याइँ थियो ।

सोमवार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन् । ७ वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमवार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा थिइन् ।

सिर्जनाको आइतवार २ वटा हवाइ उडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यती एयरलाइन्सको एटीआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतवारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिवार फोनमा आमा खिमिसरालाई बताएकी थिइन् ।

माघे संक्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यती एयरकै जहाज खसेको थाहा पाएपछि उनलाई पत्याउन कर लाग्यो र  सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवाबासी शुरू भयो । सिर्जनाका छिमेकी जम्मा हुन थाले सिंगो गाउँ नै शोकमा परिणत भयो । 

एक दिन अगाडि फोनमा छोरीसँग घण्टौं कुरा गरेकी खिमिसरालाई त्यो घटना शुरूमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । घटनापछि उनको घरमा छिमेकी जम्मा भए ।

‘हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो,’ खिमिसराले भक्कानिँदै भनिन् । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ । 

भारतीय सेनाबाट अवकाश प्राप्त बुवा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै ३ छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका  आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिए ।

प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरेकी थिइन् । आइतवार बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।  

Logo