नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महाधिवेशन जेठ दोस्रो साता हुने

नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महाधिवेशन जेठ दोस्रो साता हुने


नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) को सातौं राष्ट्रिय महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ । एनटियुसीको गत पुस २९ र ३० गते बसेको राष्ट्रिय समितिको बैठकले २०८० साल जेठ १२ देखि १४ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवा र महिलाहरुलाई नेतृत्वमा ल्याई नेपालको मजदुर आन्दोलनलाई अझै सशक्त बनाउने गरी महाधिवेशनमा जाने निर्णय गरिएको एनटियुसीका अध्यक्ष पुष्कर आचार्यले बताए । 

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष आचार्यको नेतृत्वमा एनटियुसी राष्ट्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्षहरु, युवा तथा महिला समितिका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु समेत रहने गरी महाधिवेशनको मूल तयारी समिति समेत गठन गरिएको छ । 

सो क्रममा अध्यक्ष आचार्यले राष्ट्रिय महाधिवेशनमा श्रमिकका धेरै मुद्दाहरुको बारेमा छलफल गर्ने बताएका छन् । ‘नयाँ विधान बनाएका छौं । सो अनुसार महिला तथा युवाहरुको सहभागितालाई बढि भन्दा बढि सुनिश्चित गर्ने र नेपालको ट्रेड युनियन आन्दोलनमा महिलाहरुको नेतृत्व वा युवाहरुको नेतृत्वलाई अझ बढि वैधानिक व्यवस्था अनुसार व्यवस्थापन गर्न हामीले कोसिस गरिरहेका छौं । जसले ट्रेड युनियनलाई आन्दोलनलाई अझ सशक्त र मजबुत बनाउँछ भन्ने नेपाल ट्रेड युनियन काँग्रेसको मान्यता रहेको छ । त्यस दिशामा अहिलेको हाम्रो निर्णयले धेरै महिला, धेरै युवाहरुलाई नेपालको ट्रेड युनियन आन्दोलनमा समेट्दछ ।’ उनले भने ।  

त्यसैगरी महासचिव योगेन्द्रकुमार कुँवरको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि, सदस्यता तथा शुल्क छानवीन समिति समेत गठन गरिएको छ । महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता वितरण तथा नविकरणको काम फागुन मसान्त भित्र सम्पन्न गर्ने, चैत्र मसान्त भित्र जिल्ला, प्रदेशको अधिवेशन सम्पन्न गर्ने र २०८० साल बैशाख २१ गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि विवरणलगायतका सम्पूर्ण विवरण अध्यावधिक गरिनेछ ।

Logo