हाम्रा धर्म परम्पराभित्रका वैज्ञानिक रहस्य

हरेक धर्म, संस्कृति एवं परम्पराभित्र तिनका पहिचान खुल्ने मौलिक तत्व रहेका हुन्छन् । ती तत्वहरू धर्मकै अंगका रूपमा परम्परा बनेर सदियौंदेखि समाजमा चलिआएका हुन्छन् । ती परम्परालाई हामी कारण नबुझीकनै अनुसरण गरिरहेका हुन्छौँ भने कतिपयलाई त्याग्दै वा बेवास्ता गर्दै गइरहेका पनि छौँ । यसो हुनु निश्चय पनि उचित होइन । त्यसकारण ती परम्पराभित्रका वैज्ञानिकता थाहा पाइराख्नु राम्रो हुन्छ ।

प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चारण गरिन्छ ? कलश किन स्थापना गरिन्छ ? सिउँदोमा सिन्दुर किन लगाइन्छ ? चरणस्पर्श किन गरिन्छ ? भन्नेजस्ता धेरै कुरामा अहिलेका पुस्ताले रुढिवादी परम्परा मात्रै देखेको छ । तर यस्तो देख्नु एकांगी दृष्टिकोण हो ।

हामीले गर्नुपर्ने कुरा के हो भने किन हाम्रा पुर्खाहरूले यस्ता प्रचलन सुरु गरे, त्यसको सोधिखोजी गर्नुपर्छ तर हामी सोधीखोजी गर्दैनौं । आँखा चिम्लेर हामी पितापूर्खाले गरेको काम अनुसरण गर्छौं वा तिनलाई त्याग्छौँ वा तिरस्कार गर्छौँ । जब कि पुर्खाहरूका ती संस्कारभित्र विशेष अर्थ र कारण छन् । के छन् त त्यस्ता कारण ? हेरौँ,

सिन्दूर

विवाहित हिन्दू महिलाहरू सिउँदोमा सिन्दूर लगाउँछन् । धर्म परम्परामा सिन्दूरलाई सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यसलाई पतिको साहचर्यसँग पनि जोडेर हेरिन्छ, त्यसकारण एकल महिलाहरूले सिन्दूर लगाउँदैनन् । त्यस्तै सिन्दूरलाई मंगलदायक मानिन्छ । सामान्यतया रातो सिम्रिक रंगको सिन्दूर लगाइन्छ । विवाहको दिनमा भने फुस्रो सिन्दूर सिउँदोमा भर्ने प्रचलन छ । सिन्दूर लगाउँदा महिलाको यसले रूपलावण्यमा निखारसमेत आउँछ । यो महिला विवाहित भएको निशानी पनि हो ।

शरीर रचना विज्ञान अनुसार सौभाग्यवती नारीको सिउँदोमा जुन स्थानमा सिन्दुर लगाइन्छ, त्यस स्थान ब्रह्मरन्ध्र र अहिम नामक मर्मस्थलभन्दा ठीक मास्तिर हुन्छ । महिलाको यो मर्मस्थल अत्यन्त कोमल हुन्छ । यही कोमल मर्मस्थलको सुरक्षाका निम्ति त्यहाँ सिन्दूर लगाइन्छ ।

यसैगरी सिउँदोमा सिन्दूर भर्नाले अरूको कुदृष्टि आफूमाथि पर्दैन भन्ने विश्वास समेत पाइन्छ । यसलाई धारण गर्नाले महिलाको तेज, आँट, उत्साह एवं साहस वृद्धि हुने विश्वास समेत पाइन्छ ।

प्रसाद

कुनै पनि पूजाआजामा प्रसाद चढाइन्छ, त्यसको भोग लगाइन्छ र पूजापछि त्यसलाई ग्रहण गरिन्छ । कुनै पनि पूजाआजा गरिरहँदा प्रसाद अनिवार्य रूपमा बनाइन्छ । सामान्यतया प्रसादका रूपमा फलफूल वा सात्विक परिकारको प्रयोग हुन्छ ।

प्रसाद लिनु वा प्रसाद ग्रहण गर्नु भनेको एक हिसाबले कृतज्ञता प्रकट गर्नु पनि हो । प्रसाद भोग लगाउँदा धेरै पढिने मन्त्र यस्ता छन्–

–ब्रह्मार्पणम् ब्रह्महविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् । ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।

–त्वदीयं वस्तु गोविन्दम् तुभ्यमेव समर्पितम् । गृहाण सुमुखो भुत्वा प्रसीद परमेश्वर ।।

यी मन्त्रहरूले प्रकृतिबाट प्राप्त चिजबिजलाई प्रसाद मानेर तिनलाई ग्रहण गर्नुअघि प्रकृतिप्रति नै कृतज्ञता प्रकट गर्नुपर्ने भाव जाहेर गर्दछन् । यसर्थमा हामीले भोजनका रूपमा ग्रहण गर्ने हरेक भोज्य पदार्थ नै प्रकृतिप्रदत्त प्रसाद हुन् भन्न सकिन्छ ।

मन्त्र 

मन्त्र आफूभित्र आफैं प्रवेश गर्ने माध्यम हो । आफूलाई बुझ्नका लागि अघि बढ्दा प्रवेश गर्ने प्रथम द्वार नै मन्त्र हो । मन्त्र जप गरिरहँदा त्यसबाट उत्पन्न हुने शब्दशक्ति संकल्प र श्रद्धा बलले द्विगुणित भएर अन्तरिक्षमा व्याप्त ईश्वरीय चेतनासँग सम्पर्क गर्छ । यसबाट अन्तरंग पिण्ड एवं बहिरंग ब्रम्हाण्ड मिलेर एक अद्भुत शक्ति प्रवाह उत्पन्न हुन्छ, जसबाट सिद्धि प्राप्त हुन्छ ।

कविशिरोमणि लेखनाथ पौड्यालले शास्त्रहरू सार उतारेर नैतिक उपदेश दिएका छन्–

नजा नजा दुस्तर भासमा नजा । म भित्र छु बाहिर छैन क्यै मजा ।

यसबाट के बुझिन्छ भने संसारमा जे छ, ती सबै कुरा हामीभित्रै छन्, आफूभित्रै छन् । र आफूभित्र प्रवेश गर्न सघाउने सबैभन्दा ठूलो हतियार मन्त्र हुन् । यसले मनलाई भट्कनबाट जोगाउँछ, चित्त स्थिर राख्न सघाउँछ, तनाव एवं चिन्तारहित हुन ठूलो मद्दत गर्दछ ।

स्वस्तिक

स्वस्तिक चिह्न सनातन धर्मावलम्बीहरूले प्राचीन कालदेखि नै प्रचलनमा ल्याएको विशेष चिह्न हो । गणेश पुराणमा स्वस्तिक चिह्नको बखान पाइन्छ । यसलाई भगवान्कै स्वरूप वा प्रतीक मानिएको छ, यसलाई शुभलाभको प्रतीक पनि मानिएको छ । साथै यो चिह्न श्री, सम्पत्ति, सौभाग्यसूचक पनि हो । यस चिह्नमा सबै विघ्नबाधा र अमंगल हटाउने शक्ति हुन्छ भनिएको छ । आचार्य यास्कले स्वस्तिकलाई अविनाशी ब्रह्मको संज्ञा दिएका छन् ।

कलश

कलशविना सनातनधर्मीका कुनै पनि पूजाआजा सम्पन्न हुँदैनन् । धर्मशास्त्रका अनुसार कलश सुखसमृद्धि, वैभव एवं मंगल कामनाको प्रतीक हो । कलशलाई सृष्टिसँग पनि जोडिएको छ । कलश पूजनको सुरुवातमा यसलाई नारी गर्भसँग जोडेर हेरिएको पाइन्छ ।
पूजाआजामा कलश स्थापना गरिसकेपछि त्यसमा समस्त देवीदेवताको आवाहन गरिन्छ–

–सर्वे समुद्र सरित तीर्थानि जलदा नदा । आयान्तु यजमानस्य दुरित क्षयकारका ।
–कलशस्य मुखे विष्णुः कण्ठे रुद्रः समाश्रितः । मूले तस्य स्थितो ब्रह्मा मध्ये मातृगणाः स्थिताः ।।
कुक्षौ तु सागरः सर्वे सप्तद्वीपा वसुन्धरा । ऋग्वेदोथ यजुर्वेदः सामवेदो अथर्वणः ।।
अङ्गैश्च सहितं सर्वे कलशाम्बु समाश्रिताः ।।

यी मन्त्रहरूले कलशमा समस्त सृष्टिको सार अटाउनसक्ने भाव व्यक्त गरेका छन् ।

वास्तवमा मानव शरीरको कल्पना पनि माटोको घडा वा कलशसँग गरिएको छ । यस शरीररुपी कलशमा प्राणरूपी जल विद्यमान छ । तसर्थ प्राणविहिन शरीर अशुभ मानिन्छ भने रित्तो कलश पनि अशुभ नै हुन्छ । यसैले कलशमा पानी, औषधी आदि भरेर पूजा गरिन्छ ।