नवीनतम शैली, विचार एवं विषयवस्तु भएका पुस्तक पठनीय हुन्छन्

कृष्ण बजगाईं बेलायतमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लागेका साहित्यकार हुन् । समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष बजगाईं समकालीन साहित्य डट कमका प्रकाशक एवं सम्पादक पनि हुन् । यसबाहेक उनी थुप्रै साहित्यिक गतिविधिमा संलग्न छन् । उनी प्रवासन अन्तर्राष्ट्रिय साहित्यिक जर्नलका प्रधान सम्पादक, लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष (२०१०–१२), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका महासचिव (२००८–१०) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरका संस्थापक अध्यक्ष (२००७–११) पनि हुन् ।

बजगाईंका हालसम्म दाइबुचु (नियात्रासङ्ग्रह, २०१९), कुमारी रात (हाइकुसङ्ग्रह : २०१८), भाया साक्रा (नियात्रासङ्ग्रह : २०१८), युरेसियाको स्पर्श (नियात्रासङ्ग्रह, २०१७), कवच ( लघुकथासङ्ग्रह : २०१६), कमरेड भाउजू (कथासङ्ग्रह : २०१५), रोडम्याप (लघुकथासङ्ग्रह : २०१०), स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वार्तासङ्ग्रह : २०१०), हिउँको तन्ना (हाइकुसङ्ग्रह : २००९) र यन्त्रवत् (लघुकथासङ्ग्रह : २००७) नामक कृति प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयक पाठ्यक्रममा बजगाईंका ३ वटा नियात्रा पढाइ हुन्छन् ।

बजगाईंले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । तीमध्ये सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (२०१६), सुप्रमा साहित्य पुरस्कार, बेलायत (२०१६), वैजयन्ती स्रष्टा सम्मान, नेपाल (२०१६), भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (२०१४), डायस्पोरा नृपध्वज पुरस्कार, अमेरिका (२०११), देवकोटा शताब्दी सम्मान, नेपाल (२००९), नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड, अमेरिका (२००९) आदि मुख्य छन् । उनै बजगाईंसँग केन्द्रविन्दुका लागि दीपक दर्शनले यसपटक पुस्तक पठनका विषयमा ७ प्रश्न राखेका छन् ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

मैले हालै सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यास पढिसकेँ । भर्खर धर्म सापकोटा ‘राजु’को ‘बाटो’ कथासङ्ग्रह पढ्न थालेको छु । आज म ‘सिड्नी सपना’कै विषयमा कुरा गर्नेछु ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

खासगरी नेपाली डायस्पोरिक साहित्यकारका पुस्तक मेरा प्रथम छनौटमा पर्दछन् । म आफैं पनि लामो समयदेखि नेपाल बाहिर बसेर लेखिरहेको सर्जक भएकाले पनि डायस्पोराका पुस्तक पढ्छु । त्यसले मलाई नेपाली डायस्पोराको अवस्था र तिनको लेखनका बारेमा बुझ्न मद्दत गर्दछ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

‘सिड्नी सपना’मा अष्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थीको संघर्षको कथा छ । वयस्क उमेरमा हुने प्रेम, विवाह र यौनका अनुभूति, तिनले निम्त्याउने सामाजिक र मनोवैज्ञानिक समस्या एउटा शिक्षाको रूपमा आएको छ । विदेशमा बाँच्नका लागि हरेक प्रकारको काम गर्नु पर्दछ । कामले मानिस सानो ठूलो हुन्न । इमान्दार, लगनशील र विवेक पुर्‍याएर काम गरे सफलता मिल्छ भन्ने सन्देश छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

उपन्यासकां विद्यार्थी पात्रहरू जस्तै अष्ट्रेलिया, अमेरिका, बेलायत आदि देश पुगेका युवायुवतीले आत्महत्या गरेको खबर मैले पढेको छु । विगतका पीडा बिर्संदै भूलबाट शिक्षा लिएर नयाँ योजनासाथ नयाँ जिन्दगी सुरु गर्ने अठोट लिएकी उपन्यासकी मुख्य पात्र सृष्टिको कुराले मलाई छोयो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

उपन्यासमा कथाको घटनाक्रम एकदम छिटो दौडाएर हतारमा अन्त्य गरिएको छ । विदेशमा रहेका नेपाली विद्यार्थीहरूको लिभिङ टुगेदर र विवाहेतर सम्बन्धका बारेमा उपन्यास मार्फत केही कुरा उठाइएको छ । यो उपन्यासको राम्रो पक्ष हो । तर अनावश्यक रूपमा यौन र सम्भोगको अत्यधिक वर्णन गरिनुचाहिँ पुस्तकको कमजोर पक्ष हो ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

उपन्यासको कथावस्तु राम्रो भए पनि उपन्यास टुङ्याउन सानु घिमिरे हतारिएजस्तो देखिन्छ । मैले यस पुस्तकलाई २० पूर्णांकमा १२ नम्बर दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

नवीनतम शैली, विचार एवं विषयवस्तु भएका पुस्तक पढ्न सल्लाह दिन्छु । पाठकले सबैभन्दा पहिले आफूलाई कुन विधाको पुस्तक पढ्न रुचि छ, सोहीअनुसारको पुस्तक छनौट गर्नु पर्दछ । पत्रपत्रिकामा छापिएको समीक्षालाई पनि छनौटको आधार बनाउन सकिन्छ । ती समीक्षा पढेर आफूले पनि विश्लेषण गर्नु पर्दछ । नत्र धोका हुन्छ । बजारमा आएका पुस्तक पढेका साथीहरूसँग सल्लाह लिनु पनि छनौट गर्ने राम्रो तरिका हो ।