मदन भण्डारी विश्वविद्यालय कहाँ ? सरकार भन्छ चित्लाङमा, प्राविधिक टोली अध्ययनमै
  • रामजी बलामी- 

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गत असार १२ गते मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरे ।

मन्त्री बास्कोटाले चित्लाङका एक सय ७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका लागि भोगाधिकार प्रदान गर्ने निर्णय भएको पनि जानकारी दिए । चित्लाङको स्वच्छन्द माध्यामिक विद्यालय र त्यस आँसपासका बन तथा पर्ती समेत गरी ७ सय ४० रोपनी जग्गा विश्वविद्यालयका लागि छुट्टयाइएको छ ।

साउन १२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरे । उक्त विधेयकमा पनि यो विश्वविद्यालय चित्लाङमा स्थापना गर्ने उल्लेख छ । विधेयकको परिच्छेद २ को ३ मा विश्वविद्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङमा रहनेछ भन्ने उल्लेख छ । यो विश्वविद्यालयका लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटमा पनि एक अर्ब १० करोडको बजेट छुटट्याएको छ ।

गत असोजको दोश्रो साता चिनियाँ उच्चस्तरीय ९ सदस्यीय प्राविधिक टोलीले मकवानपुरको चित्लाङ पुगेर स्थलगत अध्ययन गरेको थियो । उक्त टोलीले सकारात्मक प्रतिक्रिया दिएको स्थानीय शिक्षासेवी बुद्धरत्न मानन्धर बताउँछन् । चित्लाङमा विश्वविद्यालय बनाउने निर्णयले स्थानीय खुसी रहेको र सकेसम्म सहयोग गर्न तत्पर रहेको मानन्धर बताउँछन् ।

चित्लाङको स्थलगत अध्ययनको क्रममा  चिनियाँ टोली  

 

प्राविधिक टोली अध्ययनमै, डाँछीमा १५६ रोपनी जग्गा छुट्याइयो

चित्लाङको स्थलगत अध्ययन गरी फर्केको चिनियाँ प्राविधिक टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र काभ्रेको विभिन्न ठाउँको स्थलगत अध्ययन गरेका छन् । यसैक्रममा कागेश्वरी मनोहरा नगरपालिका ४ मा रहेको एक सय ५६ रोपनी जग्गा दिने निर्णय भएको छ । यस विषयमा नगरपालिकाले प्रस्तावित मदन भण्डारी प्रोऔधोगिक विश्वविद्यालय अन्तर्गत संचालन हुने शैक्षिक प्रतिष्ठानका लागि लिजमा जग्गा दिने जानकारी गराएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका ४ का वडाध्यक्ष भाइकाजी अधिकारीले पनि स्थानीयले सर्जमिन गरेर जग्गा उपलब्ध गराएको जानकारी दिए । उनले लामो समयदेखि स्थानीयले अवरोध गर्दै आएको भएपनि त्यस क्षेत्रको विकास निर्माणलाई ध्यानमा राख्दै अहिले जग्गा दिने सर्जमिन भएको बताए ।

त्यस्तै वडा नम्वर ३ का वडाध्यक्ष राममणी सुवेदीले स्थानीयले उपलब्ध गराएको जग्गा चिनियाँ टोलीले स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले अत्तरखेलमा सञ्चालित मदन भण्डारी मेमोरियल विद्यालयलाई नयाँ ठाउँमा स्थानान्तरण गर्ने र पछि प्राविधिक विश्वविद्यालय संचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

मदन भण्डारी फाउन्डेसनका प्रदेश ३ का सदस्य रामशरण ढुंगानाले चिनियाँ टोली स्थलगत अध्ययनको क्रममा रहेको जानकारी दिए । ढुंगानाले अहिले सम्म मकवानपुरको चित्लाङ, काठमाडौंको कागेश्वरी र काभ्रेमा स्थलगत अध्ययन गरिसकेको जानकारी दिए ।

यता संसदमा पेश गरिएको विधेयकमा विश्वविद्यालयको प्रधान कार्यालय काठमाडौँ उपत्यका वा उपत्यकाको आसपासका उपयुक्त स्थानमा रहने उल्लेख गरिएको छ ।

सी चिनफिङ आउँदा यसकारण भएन सम्झौता

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा यो विश्वविद्यालय स्थापनाको विषयमा सम्झौता हुने भनिएको थियो । तर यस विषयमा कुनै सम्झौता हुन सकेन । स्रोतका अनुसार चीनले विश्वविद्यालय स्थापनाका लागि मकवानपुरको चित्लाङ अपायक पर्ने बताएपछि यो विषय त्यतिकै तुहिएको हो ।

चीनले विश्वविद्यालय बनाउने ठाउँको टुंगो लागेपछि मात्रै यो विषयमा थप कुरा अघि बढ्ने बताएको स्रोतको दावी छ । यता विश्वविद्यालय पूर्वाधार निर्माण समितिले भने लगानी अनुसार विश्वविद्यालय स्थापना हुने बताउँदै आएको छ ।

नाम प्राविधिक, पढाई सबै

यो विश्वविद्यालयको नाम मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय हुने भएता पनि प्राय सबै संकाययको अध्ययन अध्यापन हुने विधेयकमा उल्लेख छ । विधेयकको दफा ३ (१) मा उल्लेख गरिएको छ, ‘विज्ञान तथा प्रविधि, मनविकी, तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यालगायतका विषय र क्षेत्रमा मुलुकभित्र विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको निकासमा थप योगदान पुर्याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ ।’

मुलुकको लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सृजना गर्ने उद्धेश्यले विधेयक तयार गर्नुको उद्धेश्य रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा उल्लेख गरेका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव जननेता भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । जननेता भण्डारीको सम्मानमा सरकारले सो विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

हाल केन्द्रीय र क्षेत्रीय गरी विभिन्न १४ विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठान् छन् ।

चित्लाङलाई यसअघि पनि धोका

अहिले मदन भण्डारी विश्वविद्यालय स्थापना गर्ने भनिएको ठाउँमा ३ वर्षअघि पनि नेपाल नेशनल इन्स्टिच्यूट अफ टेक्नोलाजी (एनएनआइटी) स्थापना गर्न भन्दै एसियाली विकास बैंक (एडिबी)ले अध्ययन गरेको थियो । त्यसबेला सात अर्ब रुपैयाँको लागतमा एनएनआइटी स्थापना गर्ने प्रक्रिया अघि बढेको थियो ।

संस्था स्थापनासम्बन्धी विधेयकको मस्यौदा समेत तयार भइसकेको थियो । तर एडिवीले संस्था सञ्चालनमा सरकारी प्रतिनिधि सहभागि हुन नहुने प्रस्ताव राखेको थियो भने सरकारले संघीय वा प्रादेशिक सरकारका प्रतिनिधिको कुनै न कुनै रूपमा उपस्थिति हुनुपर्ने मत राखेका थिए । यसै विषयमा मत बाझिएपछि यो योजना तुहिएको बताइन्छ ।

विश्वविद्यालय अन्यन्त्र सर्ने संकेत देखिएसँगै स्थानीय चिन्तित देखिएका छन्।

हेर्नुहोस बिधेयक 

dczjvscbzuenotvo