यसरी मनाइयाे सरस्वती पूजा [भिडियाेसहित]

यसरी मनाइयाे सरस्वती पूजा [भिडियाेसहित]


प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी देशभर मनाइएको छ । 

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्ने गर्छन् ।

सरस्वतीको हातमा रहेको वीणाबाट जीवन धुन हो, यो मधुर हुनुपर्छ, लयवद्ध हुनुपर्छ- कलाले जीवनलाई संगीतमय बनाउँछ भन्ने बुझिन्छ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको वाहन मयुरलाई पनि सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । त्यसैले विद्यानै मानिसको सौन्दर्य हो । बौद्ध धर्मावलम्बीहरुले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास पनि छ ।
 
श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सातवटाअक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको छ । सरस्वतीको पूजा ज्ञान तथा सीप आर्जनसँग सम्बन्धित रहेपनि पछिल्ला वर्षहरुमा सरस्वतीको सही साधना हुन नसकेको यस क्षेत्रमा जानकारहरु बताउँछन । 
 
विद्या आर्जनसँग अनुशासन र परोपकारका विषयहरु पनि सँगसँगै लैजानु पर्नेमा जोड दिइएको छ । भौतिक समृद्धिसँगै मानसिक र आध्यात्मिक शान्तिसँग पनि सरस्वती पूजालाई जोड्नुपर्ने धेरेको मत रहेको छ ।शिक्षालाई फगत धन आर्जनमा मात्र सिमित राखिनुहुन्न भन्ने मान्यता पनि रहेको छ । तर अचेल यसतर्फ कमैको ध्यान गएको छ । शिक्षा लिने र दिने दुबैमा अनुशासनको कमीरहेको चर्चा पनि हुने गरेको छ । दुबै पक्षबाट ज्ञानको सही प्रयोग हुन सकेमात्र जीवनको सौन्दर्य बढ्ने विश्लेषण गरिएको छ ।औपचारिक ज्ञान र सीप आर्जनका अतिरिक्त सबै क्षेत्रबाट व्यवहारिक ज्ञान लिनसकेमा राम्रो मानव जीवन सार्थक हुनेधेरैको बुझाइ छ । 
 
सरस्वतीको पूजा एउटा परम्परादेखि चलिआएको संस्कार हो । यसले मानिसलाई ज्ञान आर्जनको निम्ति तयार रहन प्रेरित गर्छ । तर ज्ञान र सीप आर्जनका लागि निरन्तरको साधना नै निर्विकल्प कर्म हो । अनुशासित ढंगले गरिने मेहनतबाटै सबै थोक आर्जन गर्न सकिन्छ । यो नै वास्तविक "सरस्वती पूजा"पनि हो ।

Logo