मन्त्रालयबाट निजी गाडीमा निस्किएका रविको प्रतिक्रियाः अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?

मन्त्रालयबाट निजी गाडीमा निस्किएका रविको प्रतिक्रियाः अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?


उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी गाडीमा चढेर गृह मन्त्रालयबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरिदिएसँगै लामिछाने निजी गाडी चढेर मन्त्रालयबाट बाहिरिएका हुन् ।

सो क्रममा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले अदालतभन्दा ठूलो केही नभएको र फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् । साथै उनले आफू अब अनागरिक भइसकेको पनि बताए। ‘अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’ उनले भने । 

लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले जारी गरेकाे फैसलामा भनिएको छ, “लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन । निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा ९२०, ९३० तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।” 

Logo