दार्चुलाका ऐतिहासिक जात्रा : पर्यटकीयसँगै धार्मिक महत्व
  • कृष्णसिंह धामी – 

दार्चुला । दार्चुला धार्मिक तथा पर्यकीय दृष्टिकोणले निकै महत्वपूर्ण जिल्ला मानिन्छ । एकातिर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ भने अर्कोतिर धार्मिक स्थलहरूले धनी छ । दार्चुलामा प्रत्येक वर्ष लाग्ने जात्राले त्यहाँको रौनक बढाएको हुन्छ । नेपालीहरूले दसैँलाई राष्ट्रिय पर्व मान्दछन् । तर दार्चुलावासी जात्राहरूलाई आफ्नो ठूलो पर्व मान्छन् । उनीहरूका लागि दशैं, तिहारजस्ता चाडपर्व भन्दा पनि जात्रा बढी महत्वपूर्ण पर्व हो ।

दसैँ, तिहारका बेला दार्चुलाबासी खेतीपाती भित्र्याउनमा व्यस्त हुन्छन् । उनीहरूको उद्देश्य जात्राको बेलासम्म सबै काम गरेर सक्ने भन्ने हुन्छ । त्यसैले उनीहरू रातदिन नभनी काम सक्नतिर लाग्छन् ।

तिहारको बेलादेखि दार्चुलामा जात्राको रौनक सुरु हुन्छ । तिहारको भाइटीकाको दिन पहिलो चौडमा जात्रा हुन्छ । त्यो बेलादेखि कार्तिक शुक्ल चतुर्दशीको दिन माल्लिकार्जुन मन्दिरमा जात्रा भएसँगै जात्राको यात्रा सकिन्छ ।

त्यस अवधिमा दार्चुलाका विभिन्न शक्तिपीठहरूमा जात्रा हुन्छ । चौड, भगवती, हुनैथान, शंकरपुरको पौडी, मानौं, बन्तोली लटिनाथ मन्दिर, रिठाचौपाताको जयपुर लटिनाथ मन्दिर, पाती, भगवती, आगर, जगन्नाथ कैलपाल, बालीचन्न मन्दिर मार्मा, गुल्जरको भगवती मन्दिर, ब्रम्हदेव मन्दिर, मष्ठमाडौं मन्दिर, देवथली मन्दिर लगायतका धार्मिक स्थलहरूमा विभिन्न मितिमा जात्रा लाग्ने गर्दछ ।

जात्राको ऐतिहासिक महत्व

जात्रा परापूर्व कालदेखि मनाइँदै आएको पर्व हो । मानव सभ्यताको विकास भएसँगै यात्राको सुरुवात भएको धार्मिक विश्वास छ । जात्रालाई धार्मिक पुजनसँगै आफन्तबीच भेटघाटको चौतारीको रूपमा पनि लिइन्छ । माल्लिकार्जुन विकास समिति मड दार्चुलाका सचिव जनकसिंह धामीका अनुसार दार्चुलामा जात्रालाई निकै महत्व दिइन्छ ।

जात्राको सुरुवात कसरी भयो ?

परापूर्व कालमा भारतमा हिन्दू र मुस्लिमहरूबीच धार्मिक द्वन्द्व सुरु भएको थियो । उनीहरूबीच धार्मिक दंगा नै सुरु भयो । तत्कालीन भारतीय बादशाह अकबरको पालामा नै त्यो दंगा सुरु भएको थियो । अहिलेका हाम्रा पूर्वज भारतको आन्ध्र प्रदेशबाट धर्मको रक्षा गर्दै अगाडि बढे । भारतका विभिन्न ठाउँमा मुस्लिम समुदायले हिन्दूहरूलाई लखेटिरह्यो । लखेटिने क्रममा हिन्दुहरू भारतको उत्तराञ्चल प्रदेशमा पर्ने कत्युरसम्म पुगे । त्यहाँ केही समय कुटी बनाएर माल्लिकार्जुन देवतालाई राखेर बसे । त्यहाँ पनि पूजापाठको कार्य गरिरहे । तर मुसलमानहरूले त्यहाँ बसेको थाहा पाएर फेरि लखेटे । हिन्दुहरूमाथि आक्रमण भएपछि काली नदी (अहिले महाकाली नदी) तरेर नेपालतिर आए ।

काली नदी तरेर उनीहरू लेकम गाउँपालिकाको रिठाचौपाताको जाइझिल भन्ने ठाउँमा आएर बसोबास गर्न थाले । नेपालतिर आउने क्रममा पाँचजनाको टोली आएको भन्ने किम्बदन्ती छ । त्यो समय अभयराज पाण्डे, भीमराज भट्ट, निमनाथ योगी, धिराधारा र सुरदास औजी जाइझिल आएर बसे ।

त्यहाँको बसाइको क्रममा जैपुरमाथि डिङे राजा थिए । उनी पशुबली दिन्थे । त्यसको प्रसाद आफू पनि खाने र प्रजाहरूलाई पनि दिने गर्थे । नखानेहरूलाई बाध्य पारेर खान लगाउँथे । राजाको त्यो प्रवृत्ति माल्लिकार्जुनलाई ठिक लागेन । पशुबलिको विरोधी माल्लिकार्जुन त्यहाँबाट बाहिरिए । माल्लिकार्जुनको लिंग त्यहाँबाट उडेर सुरक्षित बासस्थानमा गयो । माल्लिकार्जुन कहाँ गए ती पाँचजनाले पत्ता लगाउन सकेनन् । माल्लिकार्जुन त्यहाँबाट उडेर दुहू गाउँपालिकाको शिखर धुरामा बसेका थिए । त्यहाँ पनि माल्लिकार्जुनलाई उचित वातावरण भएन । छिप्लोकेदार देवाताको प्रभावका कारण उनी त्यो ठाउँमा लामो समय बस्न सकेनन् । त्यसपछि अहिले अवस्थित मल्लिकार्जुन शिखर धुरा पुगे ।

उता माल्लिकार्जुनलाई भारतबाट लिएर आएका पाँचैजना उनको खोजीमा थिए । लामो समय खोजी गर्दा पनि फेला पार्न सकेनन् । खोजी गर्ने क्रममा उनीहरू निराहार व्रत बसे, देवतालाई पुकार्न थाले, भगवानको स्तुति गाउन थाले । त्यही क्रममा एक रात अभयराज पाण्डेलाई सपना भयो । सपनामा माल्लिकार्जुन देवता आएर आफ्नो स्थान बताएको भन्ने स्थानीय किम्बदन्ती छ ।

सपनामा माल्लिकार्जुनले भने, ‘म शिखर धुरामा छु । यहाँ आउन साह्रो गाह्रो छ । त्यतिबेलाको घनघोर जंगल, डरलाग्दा जंगली जनावरको डर हुन्छ । तिमी यताको बाटो पत्ता लगाउने सक्ने हैनौ । म तिमिलाई बाघ पठाउँछु । त्यो बाघ त्यही तिमी बसेको दैलोमै आइपुग्छ । त्यसको खुट्टामा बाँसको छेस्को गाडिएको होला । त्यो छेस्को निकालेर बाघ फर्किने बाटैबाटो आउनु म भेटिन्छु ।’

दोस्रो दिन बिहान उठेर हेर्दा सपनामा भनेअनुसार बाघ दैलोमै आइपुग्यो । बाघसँगै उनीहरू शिखर धुरा पुगे । त्यहाँ पुगेर हेर्दा उनीहरूले भारतबाट बोकेर ल्याएको ज्योतिर्लिंगको आकृति भेटियो । भेटिएपछि फेरि त्यही दिनदेखि पूजापाठको सुरुवात गरे । तर जान आउन निकै कठिन भयो । त्यसपछि मडमा माल्लिकार्जुनको मन्दिर स्थापना गरियो । त्यसपछि त्यहाँ माल्लिकार्जुनको नाममा मठहरू बन्न थाले । त्यही शब्द अपभ्रंश भई त्यो गाउँको नाम अहिले मड रहन पुगेको हो ।

मडमा माल्लिकार्जुनको स्थापना भएसँगै त्यहाँ पनि दैनिक पूजापाठको सुरु भयो । दिनमा पूजा गर्ने अघि आआफ्नो घरतिर जान थाले । त्यसपछि यसरी त भएन कमसे कम रातमा पनि पूजापाठ गर्ने प्रचलनको विकास गर्नुप¥यो भन्ने सोचका साथ पूजासँगै रात्रिकालीन जात्रा पुजनको कार्यक्रम सुरुवात गरियो । त्यसको सुरुवात तत्कालीन पाँचजनाकै सन्तानहरूले गरेका थिए । दिनमा सबैजना आआफ्नो काममा व्यस्त हुने हुँदा रात्रि समय जात्राको हुन थाल्यो । दिनभर व्रत बस्ने, राति आएर मन्दिरमा जम्मा हुने, पूजापाठ गर्ने तथा आफन्तहरूबीच भलाकुसारीको माध्यम पनि बन्न थाल्यो ।

त्यसपछि क्रमिक रूपमा जहाँ जहाँ ज्योतिर्लिंग तथा मन्दिरहरू थिए, त्यहाँ त्यहाँ जात्राको विकास हुन थाल्यो ।

जात्राको महत्व

जात्रालाई धार्मिक आस्थाको केन्द्रमा राखिन्छ । एकातिर पूजापाठ गर्ने माध्यम बनेको जात्रा, अर्कोतिर टाढा रहेका आफन्त, साथीभाइबीच भेटघाटसँगै भलाकुसारीको लागि पनि उपयुक्त हुन थाल्यो । जात्राको बेला टाढा–टाढा रहेका आफन्तहरू पनि घर आउने, वर्षभरि काम गर्नेहरूलाई पनि भेटघाट तथा रमाइलो गर्ने माध्यम बन्यो । धार्मिक आस्थाले गर्दा जात्रा हेर्न भारतको उत्तराञ्चल, यूपी, बिहार, हरियाणा, महाराष्ट्र, आन्ध्र प्रदेश लगायतका क्षेत्रबाट पनि दर्शनार्थीहरू आउने गरेका छन् ।

शिखरको पूजा गर्न एक हप्ता बढी शुद्ध हुनुपर्ने

देवताका पनि देवता भनेर चिनिने शिखर समुद्री सतहभन्दा झण्डै ३ हजार मिटर बढी उचाइमा अव्यवस्थित छ । त्यहाँको पूजा गर्न विवाहित वा व्रतबन्ध गरेको हुनुपर्छ । अविवाहित जान पाउँदैनन् । त्यहाँ जान एक हप्ताभन्दा बढी समयदेखि चोखो भएर बस्नुपर्छ । माछा, मासु, मदिरा, यौन सम्बन्धजस्ता कार्यहरू एक हप्ता बढीको लागि त्याग गर्नुपर्ने हुन्छ ।

शिखरको पूजा गर्नेलाई निकै लाभ हुने धार्मिक विश्वास रहिआएको छ । कहिले बन्न नसकेका काम पनि शिखर जाँदा फत्ते हुने, कुनै काम पनि सफल हुने जनविश्वास छ ।

भगवानको दैलोमा जान जहिले पनि ढोका खुला हुने भए पनि असार शुक्लपक्ष त्रयोदशी तिथि र कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन सबैभन्दा उत्तम हुन्छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा जात्रा हुने र त्यहाँ फर्किएसँगै चतुर्दशीका दिन माल्लिकार्जुन जात्रा हुने गरेको छ ।

(माल्लिकाजुर्न विकास समितिका सचिव जनकसिंह धामीसँग गरिएको कुराकानीमा आधारित)