भृकुटीमण्डपमा आठौं वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु

भृकुटीमण्डपमा आठौं वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु


काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु भएको छ । 

नेपाल छाला जुत्ता उत्पादक संघद्वारा बुधवारदेखि कला र कौशल हाम्रो,नेपाली ब्राण्ड नै राम्रो भन्ने नारा सहित बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको हो । प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरेकी छन् ।

प्रदर्शनी फागुण ९ गतेसम्म चल्नेछ । 

प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरुलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबात तत्काल उद्योगी व्यवसायीहरु निराश नहुन आग्रह गरिन् । वर्तमान सरकार व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको उनले बताइन् । उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिनु पर्ने बताइन् । 

प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरुले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरु राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उदेश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रुपमा अधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको छ । मेलामा करिव ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको रहेको छ । 

मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता,चप्पल तथा छाला जन्य वस्तुहरु राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरुको प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरुलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । 

Logo