नेपालको ह्याट्रिक जितमा ह्याट्रिक अर्धशतक, नामिबिया स्तब्ध

नेपालको ह्याट्रिक जितमा ह्याट्रिक अर्धशतक, नामिबिया स्तब्ध


नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नामिबियामाथि नेपालले ३ विकेटको सानदार जित हात पारेको हो । 

नामिबियाले जितका लागि दिएको २७४ रनको बलियो लक्ष्य नेपालले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर आशिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी शतकीय साझेदारी गरे । दोस्रो विकेटका लागि उनीहरुले १३९ रनको साझेदारी गरेका हुन् । जुन नेपालको ओडिआईमा कुनैपनि विकेटका गरिएको उच्च साझेदारी हो ।

ओपनर शेख ८१ रन जोडे भने मल्ल ६५ रनमा पेभेलियन फर्किए । जारी सिरिजमा उनीहरुको यो पहिलो अर्धशतकीय इनिङ्स हो । 

साथै कुशल मल्लले पनि ६२ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहितकुमार पौडेल ३९ रनमा क्याच आउट भए । यसअघि पहिलो खेलमा नामिबियाविरुद्ध नै शतक प्रहार गरेका ओपननर कुशल भुर्तेल भने एक रनमै आउट भए ।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । नामिबियाका लागि जेन ग्रीनले अर्धशतकिय इनिङ्स खेले । उनी ६३ बलमा ७५ रन बनाएर अविजित रहे । साथै पिक्की या फान्सले ४९ रन तथा लो ह्यान्डरे लरेन्सले ४१ रन जोडे । 

यसअघि नेपालविरुद्ध शतक प्रहार गर्ने नामिबियाका माइकल भान लिंगेन २२ रनमै रन आउट भए । साथै ओपनर कार्ल ब्रिकेनस्टक २२ रन तथा कप्तान जेरार्ड इरास्मस १५ रन बनाए । रुवेन ट्रम्पपेल्मन २४ रनमा अविजित रहे । 

May be an image of 4 people, people playing sports, people standing and textबलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रह्यो । साथै सन्दीपले लिग-२ मा ५० विकेट पूरा गरेका छन् । उनी लिग -२ मा ५० विकेट पूरा गर्ने पहिलो स्पिनरसमेत हुन् । लिगमा सर्वाधिक विकेट लिनेमा भने ओमानमा तीव्र गतिका बलर बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका छन् ।

नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। नामिबिया भने जितविहिन छ । 

लिगमा नेपाल २७ खेलबाट ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ। शीर्ष तीनमा पर्न ३६ खेलमध्ये नेपालले सबै खेल जित्नुपर्ने हुन्छ। यस्तै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ। अब मंगलबार लिग च्याम्पियन स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।  

Logo