नेपाल भ्रमणमा नामिबिया जितविहीन

नेपाल भ्रमणमा नामिबिया जितविहीन


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया जितविहीन भएको छ । सोमबार सिरिजमा आफ्नो चौथो तथा अन्तिम खेलमा नामिबिया स्कटल्यान्डसँग ४४ रनले पराजित भएको हो । 

स्कटल्यान्डले जितका लागि दिएको २२२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा अलआउट हुँदै १७८ रनमै समेटिएको हो । नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । साथै कप्तान ग्रेहार्ड इरास्मसले ४३ तथा जेन ग्रिनले २५ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ४ विकेट लिए । साथै माईकल लिस्कले ३ विकेट लिए भने ब्राण्डन म्याकमुलानले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने  टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले ५ विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । त्यस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक/एक विकेट झारे । 

पहिलो खेलमै नेपालसँग हारबाट सुरुवात गरेको नामिबियाले दोस्रो खेलमा स्कटल्यान्डसँग र तेस्रो खेलमा पुनः नेपालसँग नै स्तब्ध भएको थियो । लिग टु अन्तर्गत स्कटल्याण्ड ३५ खेलमा ५० अंकसहित शिर्ष स्थानमा रहेको छ र २०२३ को विश्वकप क्वालिफायरका लागि छनौट भइसकेको छ। त्यस्तै, नामिबिया ३४ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नेपालले अब सिरिजको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्ने छ। यस सिरिजमा आयोजक रहेको नेपालले आफ्ना शुरुका तिनै खेलमा जित हासिल गरेर अपराजित गरेको छ। 

Logo